आत्महत्या गर्दा पासो लगाएको डोरी करोडौंमा बिक्री हुने अन्धविश्‍वासले हत्या !- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्महत्या गर्दा पासो लगाएको डोरी करोडौंमा बिक्री हुने अन्धविश्‍वासले हत्या !

लिला श्रेष्ठ

काठमाडौँ — पासो लगाएर आत्महत्या गर्दा प्रयोग गरिएको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर ललितपुरमा एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ प्याङचे टोल घर भई ललितपुर महानगर–२८ हरिसिद्धि नयाँबजार बस्ने २३ वर्षीय सविन प्रजा, उनकी पत्नी १८ वर्षीया प्रविना प्रजा र मोरङ पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे घर भई हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर छन् ।

उनीहरुले नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई ललितपुर महानगर–२७ सुनकोठी बस्ने ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरेको अनुसन्धानमा खुलेको छ । महाशाखा प्रमुख एसएसपी चन्द्र कुबेर खापुङका अनुसार भदौ २५ गते बिहान साढे ६ बजे सुनाकोठीस्थित टहरामा कमलाको शव शंकास्पद अवस्थामा फेला परेको थियो ।

प्रहरीले शंकास्पद अवस्थामा शव फेला पारेपछि अनुसन्धान गर्दा पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर उनीहरुले कमलाको हत्या गरेको खुलासा भएको एसएसपी खापुङले बताए । हत्याको आरोपमा प्रहरीले झण्डै एक महिनापछि असोज २१ (बिहीबार) सुमन मगरलाई हरिसिद्धिबाट पक्राउ गरेको हो ।

सुमनलाई पक्राउ गरेपछि यस्तो तथ्य फेला परेको र हत्यामा संलग्न सविन प्रजा र उनकी पत्नी प्रविना प्रजा माझीलाई महाशाखाले शुक्रबार मकवानपुर मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेको हो । हत्या आरोपी तीनै जनालाई महाशाखाले आइतबार सार्वजनिक गरेको छ ।

‘उनीहरूले मान्छे पासो लगाएर मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने कुरा कतैबाट सुनेका रहेछन्,’ एसएसपी खापुङले भने, ‘सुनेकै भरमा एक्लै बसेकी महिलाको हत्या हुन पुग्यो ।’

सविन र सुमनले मानिस पासो लागी मरेको डोरीसँगै राम–लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायत वस्तुहरू करोडौं रुपैयाँमा बिक्री हुने हल्ला सुनेका थिए । ‘सो हल्ला कहाँबाट सुनेको भन्ने चाँहि खुलेको छैन,’ एसएसपी खापुङले भने ।

प्रहरी अनुसन्धान अनुसार भ्रामक योजना बनाएर उनीहरूले डोरीका लागि कमलालाई निशानामा राखेका थिए । एक्लै बस्ने, हिमचिम भएको र सँगै बसेर मदिरासमेत खाने गरेकी कमलालाई सुमन, सविन र प्रविनाले हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमन र कमलाबीच पुरानै चिनजान भएकोसमेत बताइएको छ ।

कमला आफ्ना श्रीमान र छोरासँग छुट्टिएर ज्यामी काम गरेर गुजारा चलाउँदै आएकी थिइन् । भदौ २४ गते साँझ सुमन र सविनले आफूहरू टहरामा बस्न आउने भन्दै कमलालाई फोन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरु रक्सी लिएर साँझ कमलाको टहरामै पुगे र सँगै पिएर राति सँगै सुते ।

महाशाखाका डिएसपी निशान थापाका अनुसार उनीहरुले हत्या गर्ने योजना बनाएर इनारमा प्रयोग हुने ३ फिट लामो डोरी साथमै लिएर गएका थिए । हत्यापछि डोरीसँगै कमलाले कानमा लगाएको गहना, मोबाइलसमेत लिएर भदौ २५ गते बिहानै उनीहरु टहराबाट हिँडेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

घटनापछि पासो लगाइएको डोरी र कमलाले कानमा लगाएका गहनासमेत नक्कली भएको भन्दै फ्याँकेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीले हत्यामा प्रयोग भएको डोरी र गहना भने पत्ता लगाएको छैन । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको छ ।

प्रकाशित : आश्विन २४, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

मौलिक शैलीमा ठडियो शिलु महादेव

गजुर र दुईवटा उड्ने सिंह राख्ने काम बाँकी, ढुंगेधारामा राखिएका सिंह मूर्ति निकाल्न स्थानीयले अवरोध गर्दा विवाद उत्पन्न
लिला श्रेष्ठ

भक्तपुर — भक्तपुर दरबार स्क्वायर परिसरको शिलु महादेव (फसिःदेग) मन्दिर १९९० सालअघिकै स्वरूप शिखर शैलीमा पुनर्निर्माण भएको छ । २०७२ वैशाखको भूकम्पका कारण क्षतिग्रस्त गुम्बज शैलीको शिलु महादेव मन्दिरलाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) ले प्राप्त स्केच, तस्बीर, अभिलेखमा उपलब्ध डिजाइनको आधारमा शिखर शैलीमै पुनर्निर्माण गरेको हो । करिब ४ करोड रुपैयाँ लागतमा बनेको मन्दिर पुनर्निर्माणको कार्य ९६ प्रतिशत सम्पन्न भएको पुरातत्व विभाग भक्तपुर प्रमुख अरुणा नकर्मीले बताइन् । ‘मन्दिरको गजुर र दुईवटा उड्ने सिंह राख्न बाँकी छ,’ उनले भनिन्, ।

शिलु महादेव मन्दिर दरबार स्क्वायर परिसरको पूर्वी चोकको उत्तरमा अवस्थित छ । शिलुलाई नेवारी भाषामा गोसाइँकुण्ड भनिन्छ । इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार गोसाइँकुण्ड जान नसक्ने बालबालिका, जेष्ठ सदस्य र अशक्त भक्तजनका लागि यो मन्दिर सत्रौं शताब्दी तिर बनेको देखिन आउँछ । मन्दिर निर्माणको यकिन मिति भने पत्ता नलागेको इतिहासविद् श्रेष्ठ बताउँछन् ।

१९१० सालमा हेनरी एम्ब्रोस ओल्डफिल्डले कोरेको चित्रमा शिलु महादेवलाई शिखर शैलीको नेपालकै ठूलो मन्दिरका रूपमा चिनाइएको छ । यद्यपि, शिखर शैली नेपालको मौलिक शैली होइन, सत्रौं शताब्दीमा भित्र्याइएको मुगल शैली हो । तर, यही शैलीमा पनि नेपालीपन मिसाइएको छ, मन्दिरको चारै दिशामा वायुपंखी सिंह (उड्ने सिंह) राखिएको चित्रमा देखिन्छ । शिलु मात्र होइन, भक्तपुरकै शिखर शैलीको नृत्यवत्सला मन्दिर र पाटनको कृष्ण मन्दिरमा पनि यस्तै उड्ने सिंह देख्न सकिने उनी बताउँछन् । यसले मन्दिर जमिनमा नभई आकाशमा उडिरहेको सन्देश बुझिने संस्कृतिविद्हरू बताउँछन् । दुर्भाग्य, १९९० सालको भूकम्पले शिलु महादेवलाई तहसनहस बनायो । तर, मन्दिरको पेटी र तलदेखि क्रमशः राखिएका हात्ती, सिंह र साँढेका आकर्षक मूर्तिमा क्षति पुगेन ।

१९९० अगाडिको तस्बिरमा शिलु महादेवको बायाँपट्टि हरिशंकर मन्दिर देखिन्छ । जुन मन्दिर पनि भूकम्पले क्षतिग्रस्त भयो । विडम्बना पुनर्निर्माण गर्न कसैले चासो देखाएनन् । अहिले यो मन्दिरको भौतिक अस्तित्व करिब हराइसकेको छ । हरिशंकर झैं शिलु महादेवलाई बेवास्ता त गरिएन तर शिखर शैलीमा नभई गुम्बज शैलीमा ठड्याइयो । मन्दिरको शैली र बनोट मात्र फेरिएन, इँट्टाले बनेको मन्दिरमा सेतो रङ पोतियो । मन्दिरको स्वरूप फर्सीजस्तै बाटुलो भएकाले नामै बदलियो । १९९० पछि यसले ‘फसि ः देग’ अर्थात् फर्सीजस्तो नामले परिचितसमेत भएको श्रेष्ठ बताउँछन् ।

नगरपालिका, इतिहास तथा संस्कृतिविद्हरूको सल्लाह र प्राप्त स्केच, तस्बिरलगायत अभिलेखको आधारमा शिखर शैलीमा मन्दिर बन्यो । तर, मन्दिरको पुनर्निर्माणसँगै मन्दिरको चारै दिशामा जडान गरिएको अगाडि पञ्जा उठाएको उड्ने सिंह राख्ने विषयमा भने विवाद चल्यो ।

मन्दिर गुम्बज शैलीमा बनेपछि चारैतिरका उड्ने सिंह त्यसै राखिएकोमा २ वटा नगरपालिकाको पुरानो भवन पुनर्निर्माण हुँदा (१९९० सालपछि) ढोकाको दुईतिर राखिएको जानकारहरू बताउँछन् । बाँकी दुईवटा उड्ने सिंह गोलमढीको गहिरो ढुंगेधारा मर्मत गर्दा राखियो । विभागले चारवटै सिंहलाई शिलु महादेव मन्दिरमा पुनर्स्थापना गर्ने योजना बनाएको थियो । त्यसैअनुसार विभागले नगरपालिकाको पुरानो भवनको ढोकाको दुईतिर राखेको उड्ने सिंह निकालेर मन्दिरमा राखिसकेको छ भने तर, गोलमढीको ढुंगेधाराका सिंहलाई स्थानीयको अवरोधका कारण ल्याउन सकिएको छैन ।

वास्तुशास्त्रअनुसार उड्ने सिंह धारामा पानी खस्ने ठाउँमा राखिँदैन । मन्दिरमा राखे पनि मन्दिरको ढोकाका दायाँबायाँ र पेटीको तहमा राखिन्छ । भगवान्को पहरेदारको रूपमा राखिन्छ । त्यसैले त्यतिबेला यो ढुंगेधारामा राखिए पनि मन्दिर बनिसकेपछि मन्दिरमै राख्नुपर्ने सम्पदा र संस्कृतिको संरक्षणमा रुचि राख्ने विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की बताउँछन् । ढुगेंधाराको सिंह लैजान प्रयास नभएको पनि होइन । त्यसका लागि भक्तपुर नगरपालिका, वडा कार्यालयले स्थानीयसँग छलफल गरेर ढुंगेधाराका उड्ने सिंह निकाल्ने निर्णय गरे पनि स्थानीयको आक्रोशपछि त्यत्तिकै फर्किएको पुरातत्त्व विभाग प्रमुख नकर्मीले बताइन् । स्थानीयले ढुंगेधारामा राखिएको सिंह निकाल्न नदिएपछि विभागले उड्ने सिंह राख्ने ठाउँ खाली राखेर मन्दिर निर्माण गरेको छ ।

प्रकाशित : आश्विन १४, २०७८ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×