कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अघिल्लो सरकारका योजनामा कैंची लगाइयो: विष्णु पौडेल

अमृता अनमोल

बुटवल — नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पुराना योजना र कार्यक्रममा वर्तमान सरकारले कैंची चलाउने काम गरेको आरोप लगाएका छन् । साथै एमाले नेतृत्वको सरकारले ल्याएको बजेटमा निजी क्षेत्रको मागलाई वर्तमान सरकारले तोडमोड गरेको उनको भनाइ छ ।

अघिल्लो सरकारका योजनामा कैंची लगाइयो: विष्णु पौडेल

‘यसअघिको बजेटमा निजी क्षेत्रका माग र आवश्यकतालाई वर्तमान सरकारले तोडमोड गर्दा उद्योगीहरु निराश भएका छन् । पुराना योजना र कार्यक्रममा कैंची चलाउने कोसिस भएको छ’ नेता पौडेलले भने ।

रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधारणसभा तथा २२ औं अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । यस क्रममा आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न राज्यले उद्योगीहरुको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले औद्योगिक विकासमा कुनै दलले पूर्वाग्रह राख्न नहुने पनि बताएका छन् । अघिल्लो सरकारले सुरु गरेका औद्योगिक क्षेत्र निर्माण र संरक्षणका काम वर्तमान सरकारले प्राथमिकतामा नराखेको भन्दै उनले देशको आर्थिक तथा औद्योगिक विकासमा कसैले पनि पूर्वाग्रह र नकारात्मक सन्देश दिने काम नगर्न आग्रह गरे ।

यस्तै निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण हुँदा सरकार रमिते भएको नेता पौडेलको आरोप थियो । ‘मोतीपुर औद्योगिक क्षेत्रको काम जुन लक्ष्य र उद्देश्यबाट अगाडि बढाइएको हो त्यसअनुसार नभए त्यसमा उद्योगीहरुले नै पहलकदमी लिनुपर्छ,’ उनले भने ।

प्रकाशित : आश्विन २३, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?