कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको राष्ट्रियता बलियो हुनुपर्छ : योगी आदित्यनाथ

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र नेपालीको राष्ट्रियता बलियो हुनु भारतको लागि हितकर हुने बताएका छन् । उनले नेपाल भारतको सबैभन्दा नजिकको मित्र रहेको र उसको समृद्धि भारतीय जनताले चाहेको बताए ।

नेपालको राष्ट्रियता बलियो हुनुपर्छ : योगी आदित्यनाथ

‘नेपाल जति समृद्धि र बलियो हुन्छ, त्यो त्यति नै भारतका लागि हितकर हुन्छ,’ उनले भनेका छन् –‘त्यसका लागि भारत सरकार र भारतीय जनताले हरसम्भव सहयोग नेपाललाई गर्ने छन् । ’

लखनउमा शनिबार नेपाली कांग्रेसका नेताहरुसँगको भेटघाटमा मुख्यमन्त्री आदित्यनाथले नेपाली जनता धेरै विश्वसनीय रहेको चर्चा गरेक थिए । उनले समान धर्म र संस्कृति रहेको दुई देशका जनताबीचको सम्बनधलाई थप बलियो बनाउनुपर्नेमा दुवै पक्षका सरकारले जोड दिनुपर्ने उल्लेख गरे । उनले नेपाललाई सहयोग गर्ने कुरालाई भारतले सदैव प्राथमिकतामा राख्नुपर्ने र समस्याहरुको समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

भारतीय जनता पाार्टीको विदेश विभागको निम्तोमा यहाँ आएका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नेताहरु अजयकुमार चौरसिया र उदयशमशेसर राणा तीन दिनदेखि बिजेपीका नेताहरुसँग भेटघाटमा व्यवस्त छन् । महतले भारतीय सहर र सीमा क्षेत्रमा नेपालीले भोग्ने समस्या तर्फ मुख्यमन्त्री योगीको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, बनारसमा रहेको नेपाली पशुपतिनाथ मन्दिरको संरक्षणको कुरा पनि उठाएका थिए । लखनउपछि कांग्रेस नेताहरु उत्तरप्रदेशकै अर्को सहर बनारस पुगेका छन् ।

यसअघि महत नेतृत्वको टोलीले बिजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, विदेशमन्त्री एस जयशंकर र बिजेपी राष्ट्रिय महासचिवहरु तथा विदेश विभागका पदाधिकारीहरुसँग भेटभाट, छलफल गरेको थियो ।

प्रकाशित : आश्विन २३, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?