दसैं सुरु, आज घटस्थापना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैं सुरु, आज घटस्थापना

रासस

काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । 

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत ११:४६ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ११:४६ बजे रहेको समितिले जनाएको छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिले जनाएको छ । चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्नुपर्छ । चित्रा र वैधृति योग परेका बेला त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।

नौ दिन नौ दुर्गाको पूजा

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

प्रकाशित : आश्विन २१, २०७८ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मी कांग्रेसमा सर्वसम्मत हुने धेरै

मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व छनोट
कान्तिपुर संवाददाता

गुल्मी — गुल्मी कांग्रेसको गाउँ/नगरमा नयाँ नेतृत्व छनोट भएको छ । जिल्लाका १२ स्थानीय तहमा मंगलबार र बुधबार सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । 

यहाँको मुसिकोट नगरपालिका र कालिगण्डकी गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व छनोट भएको हो । मुसिकोटमा मोहन घिमिरे र कालीगण्डकीमा निमबहादुर श्रीस सभापतिमा चयन भएका छन् । सर्वसम्मत भएका मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, मदानेमा महेन्द्र कुवँर, इस्मामा कृष्ण रिजाल, धुर्कोटमा हरिबहादुर थापा, गुल्मी दरबारमा प्रेम पुन, छत्रकोटमा धातानन्द भुसाल, रुरुक्षेत्रमा देवेन्द्र मल्ल, सत्यवतीमा विष्णु भण्डारी, चन्द्रकोट गाउँपालिका विष्णुप्रसाद भण्डारी र रेसुंगा नगरपालिकामा जयश्वर पन्थी सर्वसम्मत रूपमा सभापति छनोट भएका छन् ।

यस्तै, वैदेशिक रोजगारीमा गएर स्वदेश फर्केका गुल्मीको मालिका गाउँपालिका–४ का ४० वर्षीय उपेन्द्र अर्याल गाउँपालिका सभापति भएका छन् । गाउँपालिकाको छाया सरकारका प्रमुखसमेत रहेका उनले पाँच वर्ष दक्षिण कोरियामा रोजगारीका सिलसिलामा बिताएका थिए । गुल्मी–दक्षिण कोरिया सम्पर्क समाजको सचिवका रूपमा दुई वर्ष काम गरेका उनले २०४८ सालमा अर्खबाङ माध्यमिक विद्यालयमा नेविसंघको उपसभापतिबाट राजनीति सुरु गरेका हुन् । २०५६ सालमा रेसुंगा बहुमुखी क्याम्पसमा नेविसंघको राजनीति गर्दै २०५९ सालमा माओवादी जनयुद्धका कारण गुल्मीबाट विस्थापित भएका थिए । २०६१ सालमा माओवादी पीडित संघका केन्द्रीय सदस्य रहेर काम गरेका अर्याल स्थानीय तहको निवार्चनमा वडाध्यक्षमा पराजित भएका थिए ।

इस्मा गाउँपालिकामा २६ वर्षीया युवती उपसभापतिमा चयन भएकी छन् । इस्मा गाउँपालिका–२ निवासी पार्वता कुँवर सर्वसम्मत रूपमा उपसभापति चयन भएकी हुन् । २०६८ सालदेखि रेसुंगा बहुमुखी क्याम्पसको छात्रासंघको सचिवका रूपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनी सचिव, क्याम्पस एकाइ सदस्य, नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य, जिल्ला सचिव, कांग्रेसको १३ औं अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, नेपाल महिला संघको क्षत्रीय कोषाध्यक्ष हुँदै अहिले उपसभापतिमा चयन भएकी हुन् । कुँवर व्यवस्थापन संकायमा स्नातकोत्तरका साथै अधिवक्तासमेत हुन् । गुल्मीको गाउँ/नगरको नेतृत्वमा कुँवर माथिल्लो पदमा पुग्ने एकमात्र महिला हुन् ।

मुसिकोट नगरपालिकामा कांग्रेस सभापतिमा निर्वाचित मोहन घिमिरे २०६० सालदेखि नेपाली कांग्रेसमा आबद्ध थिए । मुसिकोट नगरपालिका–१ निवासी ३३ वर्षीय घिमिरे कांग्रेस मुसिकोट नगरपालिकाको नगर सचिव, क्षेत्रीय सदस्य हुँदै नगर सभापतिमा निर्वाचित भएका हुन् । घिमिरेले ८७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी झविलाल भण्डारीले ६१ मत प्राप्त गरेका थिए ।

रेसुंगा नगरपालिकाले दुई दिनपछि बल्ल नेतृत्व चयन गरेको छ । मंगलबार र बुधबार साँझसम्मको रस्साकसीपछि पूर्वकर्मचारी जयश्वर पन्थी नगर सभापति चयन भएका हुन् । पूर्वपत्रकार समेत रहेका निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ, भरत भलामी र जयश्वर पन्थीबीच तीव्र प्रतिस्पर्धा रहेकामा पन्थी सभापति निर्वाचित भएका हुन् । कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ र सचिव खिलध्वज पन्थी सदरमकाुम तम्घास निवासी भएका कारण पनि रेसुंगा नगरपालिकामा सभापति चयन गर्न समय लागेको रेशम कुँवरले बताए ।

प्रकाशित : आश्विन २१, २०७८ ११:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×