२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

गोरखाका उत्तरी नाका खोल्न माग

हरिराम उप्रेती

गोरखा — खाद्यान्न अभाव बढेपछि उत्तरी गोरखाको चुम्चेत र छेकम्पारवासीले उत्तरी नाका खुलाउन माग गरेका छन् । कोरोना जोखिम बढेसँगै उत्तरी दुई चिनियाँ नाका दुई वर्षदेखि बन्द छन् । चुमभ्याली हुँदै जाने छेकम्पारको ङुइला भञ्ज्याङ र चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित रुइला नाका खोल्न चुमनुब्रीका स्थानीयले माग गरेका हुन् ।

कोरोना जोखिमअघि दैनिक उपभोग्य सामग्री खरिदका लागि स्थानीय तिब्बतको बजारसम्म पुग्थे । चुम्चेत र छेकम्पार पुग्ने लोक्पामा निरन्तर पहिरो झरेकाले तत्काल बाटो खुलाउन सम्भव नदेखिएपछि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयसमक्ष नाका खोल्न पहल गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । ‘सधैं हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न सम्भव छैन, नाका खुलिदियो भने तत्कालका लागि तिब्बतको बजारबाट खाद्यान्न ल्याउन सहज हुन्थ्यो,’ उनले भने ।

भदौ १ बाट खसेको चुम्चेतको लोक्पास्थित डुयुखोलाको पहिरो नरोकिएकाले सदरमुकामसम्म आउजाउ गर्न सक्ने अवस्था छैन । लोक्पाको पहिरोले झोलुङ्गे पुल पनि चुँडाइदिएको छ । लोक्पा पहिरोबाट एक किलोमिटर माथिको सर्दिभीरस्थित क्यान्टिलिभर पुलमा पनि भदौ पहिलो साताको पहिरोले क्षति पुर्‍याएको छ । ‘वैकल्पिक बाटो खोल्ने ठाउँ छैन,’ अधिकृत श्रेष्ठले भने, ‘पैदलमार्गको पहिरो झन्झन् बढेको छ, पहिरो र ढुंगा निरन्तर खसिरहँदा बाटै ठप्प बन्यो ।’ हाल अत्यावश्यक कामका लागि उत्तरी गोरखाबाट सदरमुकामलगायत सहर झर्नेहरू हेलिकोप्टरमार्फत आउने गरेका छन् ।

खाद्यान्न ढुवानी ठप्प भएपछि दुई वडाका ६ सय घरमा समस्या भएको र जनजीवन अस्तव्यस्त वनेको गाउँपालिकाले प्रशासनलाई लेखेको पत्रमा छ । लोक्पाको गोरेटो, घोडेटो तत्काल सञ्चालन गर्ने कुनै सम्भावना नरहेकाले आवश्यक खाद्यान्न तथा अन्य सामग्री ढुवानीका लागि दुई नाका सञ्चालनको पहल गर्न गाउँपालिकाले पत्रमा उल्लेख गरेको छ ।

डेढ महिनादेखि खाद्यान्न ढुवानी ठप्प बनेपछि चुम्चेत र छेकम्पारमा ९३.३० क्विन्टल चामल नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी भएको छ । गाउँपालिकाले ६ सय घरका लागि प्रतिपरिवार एक बोरा (३० केजी) पुग्ने गरी थप १८० क्विन्टल चामल ढुवानीका लागि हेलिकोप्टर व्यवस्थापनको माग गरेको छ ।

उत्तरी गोरखाका लागि सहुलियत दरमा चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो गाउँपालिकाको केन्द्र सिर्दिबासमा छ । सिर्दिवास र चुम्चेत छेकम्पारबीचको लोक्पामा निरन्तर पहिरो खस्दा खाद्यको चामलसमेत ढुवानी हुन सकेको छैन ।

प्रकाशित : आश्विन २०, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×