कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

जलवायुमैत्री कृषि सम्बन्धी दक्षिण एसियाली तीन विश्वविद्यालयको सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण एसियामा जलवायुमैत्री कृषि प्रविधिको विकासका लागि नेपालसहित दक्षिण एसियाका तीनवटा विश्वविद्यालयले संयुक्त रुपमा अध्ययन गर्ने भएका छन् । मध्यपश्चिम विश्वविद्यालय, भुटानको रोयल नेशनल युनिभर्सिटी र पाकिस्तानको ग्लोबल चेन्ज इम्प्याक्ट स्टडिज सेन्टर(जीसीआईएससी)का प्राध्यापकहरूले संयुक्त रूपमा अध्ययन गर्न लागेका हुन् ।

भौगर्भिक अध्ययन प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा जलवायुमैत्री उत्पादन कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न लागिएको मध्यपश्चिम विश्वविद्यालयका विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायका डिन डा. सुदीप ठकुरीले जानकारी दिए । 'जलवायुमैत्री कृषिका लागि भौगर्भिक अध्ययनलाई कसरी प्रयोग गरिन्छ भन्नेमा अनुसन्धान केन्द्रीत हुनेछ,' उनले भने । अध्ययनले कृषि बाली, उत्पादनमा जलवायु परिवर्तनको असरबारे पनि अनुसन्धान गर्ने बताइएको छ ।

जलवायुमैत्री कृषि उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा नक्सांकन गर्ने र तथ्यांक संकलन सम्बन्धी कार्यहरू पनि अध्ययनमा समेटिनेछन् । यी देशहरूमा अनुभवको आधारमा तालिम अध्ययन विधि निर्माण गरेर स्थानीय सरकारका प्राविधिकहरूको क्षमता अभिवृद्धि तालिम पनि सञ्चालन हुनेछ ।

दुई वर्षमा सम्पन्‍न हुने यस योजनामा ३ देशका १५० जना प्राविधिकहरूलाई भौगर्भिक नक्सांकनबाट जलवायुमैत्री कृषि योजना सञ्चालन सम्बन्धी तालिम दिइनेछ ।

योजनाले कृषि उत्पादनलाई कसरी बढाउने, जलावायु परिवर्तनको सूचना कृषकहरूसम्म पुर्‍याउने र भौगर्भिक सूचना प्रविधिको प्रयोगलाई समेट्नेछ ।

दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा पर्ने गर्छ । हिमाल क्षेत्रबाट हिउँ पग्लने र विभिन्न समय आउने बाढी र प्राकृतिक विपत्तिका कारण वर्षेनी अर्बौं डलर बराबरको क्षति हुने गरेको छ ।

प्रकाशित : आश्विन १९, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?