२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्‍नेमा सचेत छु : सभामुख सापकोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्‍निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद् अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाइ बाहिर आएको हो ।

पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्‍नेमा सचेत छु : सभामुख सापकोटा

संघीय संसद् सचिवालयमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसद्को नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए ।

सापकोटाले संसद्लाई जीवन्त र जनमुखि बनाउने प्रतिबद्धता समेत दोहोर्‍याए । उनले संसद्को कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान गरे ।

उनले भने, ‘हामीले जुन प्रण गरेका छौं–संघीय संसदलाई जीवन्त र जनमुखि बनाउने । त्यो सूत्र वाक्यलाई मैले त सधैंभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । संघीय संसद्को कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔं । हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ । संसद् सचिवालयको तर्फबाट पनि पहल गरिएको छ । अहिले मलाई इतिहासले संघीय संसद्को नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ । म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दाबी गरे ।

प्रकाशित : आश्विन १८, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?