'लिभिङ टुगेदर' दर्ता गरिनुपर्छ : मातृका यादव- समाचार - कान्तिपुर समाचार

'लिभिङ टुगेदर' दर्ता गरिनुपर्छ : मातृका यादव

'मधेसमा विवाह गर्ने उमेर घटाइनुपर्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई दर्ता गर्नुपर्ने बताएका हुन् ।

उनले समितिमा भने, 'लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरी-चोरीकन बस्छन् र अपराध हुन्छ । यी विषयहरूलाई क्लियर गर्नुपर्छ ।'

त्यस्तै सांसद यादवले विवाहको उमेर पनि घटाउनुपर्ने माग गरेका छन् । मुलुकी देवानी संहिता-२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । यादवले समितिमा भने, 'विवाहको उमेर घटाउनै पर्छ । पहाडमा त के हो के हो मधेसमा त उमेर घटाउनै पर्छ । युरोपमा त पढ्छन् र ढिलो विवाह हुन्छ । हाम्रो मधेसमा त गरिबी छ । बढी उमेर भयो भने त गाह्रो हुन्छ । दाइजोलगायतले पनि गाह्रो हुन्छ । पढाउन गाह्रो छ।' यादवको भनाइमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि समर्थन जनाएका थिए ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा यस्तो कानुनी व्यवस्था छ, 'शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिनेः (१) दफा ६९ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ ।'

समितिका सभापति कृष्णभक्त पोखरेलले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ र विवाहका लागि २० वर्ष तोकिएकाले पनि समस्या निम्तिएको बताए । उनले यसमा केही हेरफेर हुनुपर्ने पनि बताए ।

प्रकाशित : आश्विन १८, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको रामेछाप जिल्ला सभापतिमा तामाङ निर्वाचित

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापतिमा पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।

आइतबार भएको निर्वाचनमा प्रतिस्पर्धी तीन जनामध्ये तामाङले सबैभन्दा बढी मत प्राप्त गरेका थिए । कुल सदर मत १ हजार ३ सय ५२ मा तामाङले ६ सय ६८ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी जिल्ला सभापति लवश्री न्यौपानेले ३ सय ५६ र नेता कृष्णबहादुर महतले ३ सय २८ मत पाएका हुन् । न्यौपाने र महत दुवै जना पौडेल समूहका हुन् ।

कांग्रेसको विधानबमोजिम जिल्ला सभापति निर्वाचित हुन सदर मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गर्नुपर्ने भएकाले निर्वाचन समितिले आइतबारको निर्वाचनमा उच्चतम मत प्राप्त गर्ने तामाङ र न्यौपानेबीच सोमबार मतदान गराउने कार्यक्रम सार्वजनिक गरेको थियो । तर न्यौपानेलगायत नेताहरूले मतदानमा नगई ५० प्रतिशतको हाराहारीमा मत पाउने तामाङलाई जिल्ला सभापतिमा सर्वसम्मत बनाउने सहमति गरेका थिए ।

उक्त सहमतिबमोजिम तामाङले मात्र दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकाले जिल्ला निर्वाचन समितिले उनलाई निर्विरोध निर्वाचित गरेको मतदान अधिकृत अर्जुनबहादुर श्रेष्ठले बताए ।


प्रकाशित : आश्विन १८, २०७८ १२:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×