२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

हामी नमिले जित्ने देउवाजीले हो : शेखर कोइराला

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा आमकार्यकर्ताको चासो रामचन्द्र, शशांक, प्रकाशमान र शेखरमा को सभापतिको उम्मेदवार बन्ने भन्ने छ । कोइराला जोडिनासाथ विरासतको कुरा आउँछ, त्यसले पनि सभापति उठ्दा फाइदा हुने भन्ने हो  त ? कांग्रेस नेता शेखर कोइरालासँगको कुराकानी :

हामी नमिले जित्ने देउवाजीले हो : शेखर कोइराला

तपाईंको तयारी कसरी अघि बढिरहेको छ ?

नगर, पालिका, क्षेत्र र जिल्लाका अधिवेशन हेरिरहेको छु । देशभरबाट हाम्रो पक्षमा प्रतिनिधि कसरी ल्याउने भन्नेबारेमा प्रयास भइरहेको छ । कति ठाउँमा सफल भइएको छ । कति ठाउँमा हुन सकेको छैन ।

उम्मेदवार को हुने भन्नेमै निश्चित हुन सक्नुभएन नि ?

उम्मेदवारको अन्योल पटक्कै छैन । प्रदेश १, कर्णाली, वाग्मतीलगायत प्रदेशमा म आफूले पनि बुझिरहेको छु । केही अप्ठ्यारो र अन्योल छ कि भनेर सोधिरहेको छु तर हाम्रा साथीहरु सबै रामचन्द्र समूह भनेरै लागेका छन्, हिँडेका छन् । कतैकतै वडाको फरक खालको समीकरण छ । त्यस्तोमा केही फरक भइहाल्छ तर समग्रमा उम्मेदवारको विषयले हामी प्रतिस्पर्धी र कार्यकर्तामा अन्योल छैन ।

महाअधिवेशन नजिकिँदै गर्दा आममान्छेको चासो त तपाईंहरु चार जना ९रामचन्द्र, शशांक, प्रकाशमान र शेखर० मा को हो भन्ने छ नि ?

चासो छ । समय आएपछि हामी मिल्छौं । त्यो समय भनेको महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन सकिएपछि उम्मेदवार घोषणा गर्ने परिस्थिति बन्छ । त्यतिबेला हामी मिल्छौं । ठुक्क भए हुन्छ । हामी सहमतिबाटै उम्मेदवार तय गर्छौं ।

यो पनि पढ्नुहोस् :

महाधिवेशन प्रतिनिधि जसको पक्षमा बढी उभिन्छन्, उही उम्मेदवार बन्ने हो ?

मोटामोटी त्यही सोचे हुन्छ । आ–आफ्नो ‘स्ट्रेन्थ’ हामीहरुले हेर्नुपर्छ ।

तपाईंहरु एउटै उम्मेदवार दिनुहुन्छ कि दुईवटासम्म दिने विचार हो ?

भन्न सकिन्न । संस्थापन पक्षबाट शेरबहादुरजी र बिमलजी दुइटा उम्मेदवार हुने अवस्था छ । हाम्रोतिर पनि दुइटा हुन्छ कि भन्ने लागेको छ । मैले भन्दा त एउटै हुन्छ भन्छु तर, के हुन्छ रु के–के हुन्छ अहिल्यै भन्न सकिन्न ।

कोइराला परिवारबाट दाजुभाइकै बीचमा प्रतिस्पर्धा हुने त होइन ?

हामी दाजुभाइ मिल्छौं । दाजुभाइबीच प्रतिस्पर्धा हुन्न । हामीलाई मिलाउन अरूहरु लागिरहेका छन् । हामी आफैं पनि छलफलमा छौं । हामीकबीच सहमति हुन्छ । दुई जना भिड्दैनौं ।

तपाईं भाइलाई कसरी मनाउनुहुन्छ ?

मैले शशांकसित पटकपटक कुरा गरेको छु । मेरो ‘स्ट्रेन्थ’ र कमजोरी, उसका ‘स्ट्रेन्थ’ र कमजोरीका बिषयमा हामीबीच प्रशस्त छलफल भएको छ । शशांक र म मात्रै होइन । सुजाता पनि बसेकी छन् । हाम्रोबीचमा जुन कुरा भएको छ, त्यसले हामीलाई लाभ हुने त पक्का छ, सँगै कांग्रेसलाई पनि ठूलो फाइदा हुन्छ ।

शशांकलाई अर्कोपटक सहयोग गर्ने वा प्रधानमन्त्री बनाउने कुरा भएको हो ?

राजनीतिक परिस्थिति कसरी अघि बढ्छ । कांग्रेसको स्थिति के हुन्छ रु मानिसहरुले कसरी हेर्छन् रु यी सबै परिस्थितिले यस्ता कुरा निर्धारण गर्छ । अहिले हाम्रो समूहलाई प्रतिकूल परिस्थिति छैन । पार्टीको र सरकारको नेतृत्वमा शेरबहादुरजी हुनुहुन्छ । उहाँलाई हराएर पार्टीको नेतृत्व लिन त्यति सहज छैन । सत्ताको दुरुपयोग गर्ने खतरा पनि त्यत्तिकै देखिरहेको छु । आफ्नै जिल्ला डडेलधुरामा शेरबहादुरजीले पुलिस–प्रशासन लगाएर वडा अधिवेशन गराउनुभयो । क्रियाशील सदस्यतामा गडबड भएको कुरा तपाईंहरुले लेखिरहनुभएको छ । आफ्नै जिल्लामा त्यस्तो अवस्था भयो भने अन्यमा नहोला भन्न सकिन्न । यस्तो अवस्थामा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न हामी एक हुनैपर्छ ।

शेरबहादुर देउवाबाट पार्टी चल्दैन, नेतृत्व लिनका एक हुनुपर्छ भन्ने तपाईंहरुको मान्यता हो ?

हो, हामी दाजुभाइ मात्रै नभई चारै जना प्रतिस्पर्धीमा शेरबहादुरजीबाट अब पार्टी चल्न सक्दैन भन्नेमा समान धारणा छ । त्यसका लागि सहमतिबाटै अघि बढ्नुपर्छ भन्ने छ । सहमति गरेनौं भने शेरबहादुरजीलाई हराउन सक्दैनौं भन्ने पनि छ । हामी मिलेनौं भने त फेरि जित्ने शेरबहादुरजी नै हो । यस्तो प्रतिकूल अवस्थामा देशभरका कार्यकर्ताले पनि एक हुन दबाब दिएका छन् । यसलाई बुझेरै हामी छलफल गरिरहेका छौं ।

अन्य तीन जनाको तुलनामा तपाईंको उम्मेदवारीमा के फरक हुन्छ ?

म एकपटक मात्रै सभापति बन्छु भनेर घोषणा गरेको छु । सभापति भएपछि प्रधानमन्त्री हुन्न । उमेरका हिसाबले पनि १५ औं महाधिवेशनबाट दौडधुपको राजनीति गर्दिनँ । अर्को कुरा, हाम्रो पक्षका नेताहरुले यो त जुनियर हो, योसँग कुनै केन्द्रीय सदस्य छैनन् भनेर पटकपटक भन्नुभयो । एकरदुई दिन होइन, दुई वर्षसम्म भन्नुभयो । सुनिरहँे । घुमिरहें । पछि, सँगै लिएर जिल्लातिर जान थालेपछि उहाँहरु झस्कनुभयो । अनि बल्ल शेखर पनि रहेछ उम्मेदवार भन्न थाल्नुभयो । मसँग युवा नेता छन् । मैले भनेका कुरा उनीहरुले पत्याएका छन् । विश्वास लिएर हिँडेका छन् ।

कांग्रेसमा जो सभापति हुन्छ, त्यही प्रधानमन्त्री हुने चलन छ नि ?

सबैको मोडल आ–आफ्नै हुन्छ । देशमा मात्रै होइन, व्यक्तिमा पनि हुन्छ । भारतमा पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै छैनन् । युरोप, अमेरिकामा जानुभयो भने को पार्टी सभापति भन्ने नै थाहा हुन्न । त्यहाँ राष्ट्रपति कि त प्रधानमन्त्रीलाई चिन्छन् । अहिले त कांग्रेस पार्टी पनि छ कि छैन जस्तो हालतमा छ । कांग्रेसको विधानविपरीत पदाधिकारीको बैठक बस्छ । निर्णय गर्छ । निर्णय फेसबुकमा हालिदिन्छन् । त्यसैलाई स्विकारेर निर्देशनको रूपमा अरुले लिनुपर्ने लाजमर्दो अवस्था छ । हुँदाहुँदै महाधिवेशन प्रतिनिधि पनि बढाइदिए । त्यस्तो निरंकुश शैलीबाट पार्टी चल्छ रु यसलाई सच्याएर म साँच्चिकै पार्टी बनाउन चाहन्छु ।

कोइराला जोडिनसाथ विरासतको कुरा आउँछ, त्यसले पनि सभापति उठ्दा फाइदा हुन्छ भन्ने लागेको हो ?

विरासतको एउटा फ्याक्टर हो । सबै चिज होइन । म पनि विरासतको एउटा पार्ट हो । त्यसको अवश्य लाभ हुन्छ । शशांकलाई ६० प्रतिशत लाभ होला । मलाई ४० प्रतिशत होला । सुजातालाई ५० प्रतिशत हुन्छ । विरासत शशांकलाई भन्दा सुजातालाई कम, सुजातालाई भन्दा मलाई कम हुन्छ । मैले त्यसको क्षतिपूर्ति लिन जिल्लामा जाने, कार्यकर्तामा पुग्ने, गाउँ पुग्ने, बारम्बार भेट्ने गर्नुपर्छ । अरु के उपाय हुन्छ रु बिरासतले मात्रै राजनीति चल्दैन । शशांकलाई महामन्त्री हुँदा बिरासतको लाभ जुन पोजिसनमा थियो, अहिले नहुन सक्छ । मान्छेले कस्तो काम गर्‍यो भन्ने कुरा हेर्छ ।

प्रस्तुति : कुलचन्द्र न्यौपाने

प्रकाशित : आश्विन १८, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?