कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनपछि आत्महत्या गर्ने कि लड्ने विकल्प मात्र थिए : दाहाल

'जसलाई धेरै पटक मन्त्री बनाए ती पार्टीबाट पतन भए'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको २०७७ पुस ५ को विघटनपछि आफ्नो अगाडि तत्कालीन प्रधानमन्त्री र नेकपाका अध्यक्ष केपी शर्मा ओली अगाडि आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प मात्र थिए भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । 

प्रतिनिधिसभा विघटनपछि आत्महत्या गर्ने कि लड्ने विकल्प मात्र थिए : दाहाल

अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूले लड्ने विकल्प रोजेको बताए । सत्ताबाट सडकमा पुग्दा कार्यकर्ताले सहयोग गर्ने हो कि होइन भन्ने अवस्थामा आफूहरू पुसको चिसोमा पनि सडकमा आएको उनको भनाइ थियो ।

'आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमनको काम भयो । संविधानका उपलब्धि उल्ट्याउने कुरा भयो । क्रान्तिकारी एजेन्डा, माओवादी आन्दोलन सिध्याउने, घेराबन्दीमा राख्ने र सखाप पार्ने काम भएको थियो । प्रतिनिधिसभा विघटन गर्नु मात्रै थिएन त्यसको लक्ष्य संविधानका उपलब्धि उल्ट्याउनु थियो । माओवादी आन्दोलनको विरासत उल्ट्याउने षड्यन्त्र थियो,' दाहालले भने, 'अब फेरि लडाइँ गर्ने कि आत्मसमर्पण गर्ने भन्ने विकल्प थिए । आत्मसमर्पण त मैले गर्न सक्दैन । हजारौं सहिदहरूको ऋण मेरो टाउकोमा छ । या त मैले सुसाइड (आत्महत्या) गर्नुपर्ने थियो या त लड्नपर्ने । अब लड्ने कि मर्ने ! मुक्ति वा मृत्युको ठाउँमा पुगेको देखेँ ।'

त्यसपछि आफ्नो टीमा नेताहरूले मिलेर लड्ने निर्णय लिएको दाहालले बताए । उनले भने, 'पार्टीका टीमका साथीहरूको सहयोगबाट फेरि लड्ने, क्रान्तिकारी ढंगले लड्ने, जोखिम उठाएर लड्ने निर्णय भयो । जेल जान पर्ने भएपनि जेल जाने, मारिनुपर्ने भए पनि मर्ने संकल्प हामीबाट भयो ।'

पछिल्लो समय माओवादी नेताहरू बिग्रिन लागेको भन्ने अभिव्यक्ति पनि दाहालले दिएका छन् । 'हामी बिस्तारै-बिस्तारै, थाहै नपाइकन गएको १०-१५ वर्षयता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ,' उनले भने ।

पार्टीको नेतृत्वमा पुगेकाहरू अवसरवादी बन्न पुगेको पनि उनको भनाइ थियो । पद, प्रतिष्ठा, पैसा, कमिसनको निम्ती दलाल पुँजीपतिका हितहरूप्रति बढी संवेदनशील भएका र आफ्नै वर्ग यो परिवर्तनको निम्ती त्याग गरेकालाई बिस्मृतिमा पारिएको पनि उनले बताए ।

'जो जतिमाथि नेतृत्वमा पुग्यो, त्यो त्यति अवसरवादी । जो जति धेरै मन्त्री भयो, त्यो त्यति धेरै अवसरवादी,' उनले थपे, 'जसलाई धेरै पटकमन्त्री बनाए ती पार्टीबाट पतन भए । जो जतिमाथि आयो त्यो त्यति पतन भयो ।'

प्रकाशित : आश्विन १४, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?