कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवा–सिटौला समीकरण बन्दै !

काभ्रे र दोलखाका पालिका अधिवेशनमा देउवा–सिटौला समीकरण, काठमाडौंमा पनि मिलेर प्रतिस्पर्धा गर्ने सहमति
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको २०७४ फागुन २१ मा सम्पन्न संसदीय दल नेताको निर्वाचनमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र पौडेल समूहबाट प्रकाशमान सिंहबीच प्रतिस्पर्धा भयो । तेस्रो धारका रूपमा रहेको कृष्णप्रसाद सिटौला समूहले सिंहलाई समर्थन गर्ने ‘अनौपचारिक’ निर्णय गरे पनि उनको समूहका सांसद भीमसेनदास प्रधानले देउवालाई मतदान गरेका थिए । त्यसयता सिटौला समूह र देउवाबीच संस्थागत रूपमै सहकार्य हुँदै आएको छ । पछिल्लो पटक पार्टीको पालिकास्तरीय निर्वाचनमा यसले ठोस आकार लिँदै गएको छ ।

देउवा–सिटौला समीकरण बन्दै !

काठमाडौं महानगरपालिकाको शनिबार हुने पालिकास्तरीय र त्यसपछि हुने क्षेत्र तथा काठमाडौं जिल्ला अधिवेशनमा समेत देउवा–सिटौला समूहबीच सहकार्य हुने भएको छ । बैठकमा सहभागी महासमिति सदस्य हरिहर अधिकारीका अनुसार मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभापति देउवासँग सिटौलापक्षीय नेता प्रधानलगायतको बैठक भएको थियो । बैठकमा महानगरपालिकाको अधिवेशनका साथै क्षेत्र तथा काठमाडौं जिल्लाको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति भएको छ । ‘विशेषगरी काठमाडौंमा लामो समय पार्टीमा योगदान दिएका र इमानदार कार्यकर्तालाई लिगेसीको नाममा पेल्ने काम भएको छ,’ अधिकारीले भने, ‘त्यसलाई अन्त्य गर्नका लागि हामी सहकार्य गर्ने निष्कर्षमा पुगेका हौं ।’ सभापति देउवाकै रुचिमा समीकरण बनाई त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको उनले बताए ।

काठमाडौं महानगरको निर्वाचनमा देउवा–सिटौला समूहबाट प्रगतिमान रञ्जित र पौडेल (प्रकाशमान सिंह) समूहबाट नीलकाजी शाक्य चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । काठमाडौंमा पौडेल र देउवाको ‘ग्रास रुट’ मा खासै पकड छैन । सिंह र प्रधानको प्रभाव अधिक छ । देउवानिकट केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जित र तीर्थराम डंगोलले पनि प्रधानलाई साथ दिँदै आएका छन् । ‘लामो समयदेखि जिल्लाको नेतृत्व पकडमा राखेकाले पनि काठमाडौंमा सिंहको प्रभाव बढी हुनु अस्वाभाविक होइन,’ महासमिति सदस्य अधिकारीले भने, ‘तर यस पटक त्यो पकड कायमै रहन्छ भन्न सकिने अवस्था छैन ।’

जिल्ला निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता नरहरि आचार्यका अनुसार काठमाडौं जिल्लाभर करिब २० हजार र महानगरपालिकामा मात्रै झन्डै १४ हजार क्रियाशील सदस्य छन् । क्रियाशील सदस्य संख्याको आधारमा क्षेत्रीय प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि छानिने भएकाले काठमाडौंको निर्वाचनमा केन्द्रीय नेताहरूको ध्यान केन्द्रित हुने गरेको छ ।

काठमाडौंमात्र होइन, अन्य जिल्ला र पालिकामा पनि देउवा–सिटौला समूहबीच समीकरण भएको छ । स्थानीय स्तरमा अनुकूलता हुने गरी केन्द्रको ‘निर्देशन’ मा समीकरण भएको नेताहरूले बताएका छन् । काभ्रेका पालिका अधिवेशन भएका १२ स्थानीय तहमा देउवा–सिटौला समीकरण भएको छ । पार्टी जिल्ला सहसचिव ईश्वरीप्रसाद ओझाका अनुसार स्थानीय स्तरको राजनीतिक समीकरणमा केन्द्रले ‘ग्रिन सिग्नल’ दिएपछि समीकरण सम्भव भएको हो ।

काभ्रेमा देउवापक्षीय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति तीर्थ लामा र सिटौलापक्षीय केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले चुनावी समीकरण गरेका हुन् । पौडेल समूहको नेतृत्व जिल्ला सभापति मधु आचार्यले गर्छन् । उनका अनुसार देउवा–सिटौला समूहबाट १० जना र पौडेल समूहबाट २ जना पालिका सभापति निर्वाचित भएका छन् । त्यहाँ एक पालिकाको अधिवेशन हुन बाँकी छ ।

दोलखाको तामाकोसी नगरपालिकामा देउवा–सिटौला समूहका साझा उम्मेदवार कृष्णप्रसाद फुयालले सभापति जितेका छन् । पौडेल समूहबाट गोपाल तिमिल्सिना चुनाव लडेका थिए । दोलखामा देउवा समूहको नेतृत्व प्रतिनिधिसभा सदस्य तथा पूर्वकेन्द्रीय सदस्य जिपछिरिङ लामा, पौडेल समूहको नेतृत्व पूर्वजिल्ला सभापति तारा कोइराला र सिटौला समूहको नेतृत्व नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले गरिरहेका छन् । शुक्रबार हुने जिल्ला अधिवेशनका लागि तीनवटै समूहले छुट्टाछुट्टै प्रतिस्पर्धाको तयारी गरे पनि देउवा–सिटौलाबीच बन्दै गएको समीकरणले प्रभाव पार्न सक्ने सिटौलापक्षीय एक नेताले बताए ।

सिटौलानिकट केन्द्रीय सदस्य प्रदीप पौडेलले भने केन्द्रको समीकरणभन्दा पनि स्थानीय स्तरको अनुकूलतामा चुनावी समीकरण बनेको बताए । ‘काठमाडौंलगायत केही जिल्लामा संयोगवश (देउवा–सिटौला) समीकरण बनेको मात्र हो,’ उनले भने, ‘यस विषयमा केन्द्रमा कुनै छलफल भएजस्तो लाग्दैन ।’ पौडेलले भनेझैं केही जिल्लामा स्थानीय आवश्यकताअनुसार समीकरण बनेका छन् । सिटौलाको गृहजिल्ला झापामै पनि देउवा समूहका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेल समूहकी नेतृ सरिता प्रसाईंबीच सहकार्य भएको छ । झापाको पालिका अधिवेशनमा शर्मा–प्रसाईं समूह र सिटाला समूहबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

महाधिवेशनलगत्तै साथ

२०७२ फागुनमा भएको १४ औं महाधिवेशनमा सभापतिमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सिटौलाले देउवालाई सहयोग गरेका थिए । त्यसपछि २ सय ५८ मत थप्दै देउवा सभापति निर्वाचित भएका थिए । त्यसयता पार्टी सञ्चालनमा देउवा–सिटौला सहकार्य हुँदै आएको छ । केन्द्रीय कार्यसमिति, पार्टीका विभाग, भ्रातृ संस्था र अन्य निकायमा हुने मनोनयन र नियुक्तिमा देउवाले सिटौलालाई भाग छुट्याउने गरेका छन् । यतिसम्म कि देउवाले पछिल्लो समय सदस्यता विवाद समाधान गर्ने समितिको संयोजकसमेत सिटौलालाई बनाएका छन् । ‘महाधिवेशनपछि हरेक अप्ठेरो समयमा सिटौलाले देउवालाई सहयोग गरेको देखिन्छ,’ सिटौलानिकट एक नेताले भने, ‘यसले दुई नेता (समूह) बीच भविष्यमा सहकार्य हुने सम्भावनालाई संकेत गरेको छ ।’

ती नेताका अनुसार आगामी महाधिवेशनमा सिटौलाको मतले पनि केही हदसम्म प्रभाव पार्न सक्छ । १३ औं महाधिवेशनमा सिटौलाले ३ सय २४ मत र उनको समूहबाट महामन्त्री लडेका गगन थापाले ५ सय ८४ मत ल्याएका थिए । पछिल्लो समय थापाले साथ छोडेका छन् । ‘यस पटक थापाले साथ छोडे पनि टिमका अन्य नेताहरू उहाँसँगै हुनुहुन्छ,’ ती नेताले भने, ‘अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या बढेकाले हाम्रो टिमबाट पनि त्यही अनुपातमा संख्या बढ्ने अपेक्षा गरेका छौं ।’

अहिले सिटौला समूहमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी, प्रदीप पौडेल, शिवप्रसाद हुमागाईं, सुधीरकुमार सिवाकोटी र भीमसेनदास प्रधानलगायत छन् । प्रधान र चौधरी सांसद हुन् ।

प्रकाशित : आश्विन १४, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?