कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एनआरएनएको भविष्य संकटमा’ – महतो

कान्तिपुर संवाददाता

काठमाडौँ — ठूला दलले विदेशमा आफ्ना भ्रातृ संगठनमार्फत गतिविधि बढाउँदै लगेका छन् । पछिल्ला तीन महाधिवेशनयता त्यस्ता संगठन विस्तार भए । उनीहरुले आफ्नो विचार समूहलाई जिताउने गतिविधि गर्दा विवाद र झडप बढ्न थालेका छन् । यसै सन्दर्भमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग कान्तिपुरकर्मी होम कार्कीले गरेको कुराकानी :

‘एनआरएनएको भविष्य संकटमा’ – महतो

गैरआवासीय नेपाली अभियान कसरी सुरु भयो ?

अध्ययन र कामको सिलसिलामा नेपालीहरू प्रवासमा छरिन थाले । तीमध्ये कसले कहाँ के गरिरहेका छन् भन्ने थाहा पाउन जरुरी थियो । अलग–अलग देशमा बसेका नेपालीका समस्या पनि विविध थिए/छन् । उनीहरूको आवाजलाई साझा र बुलन्द पार्नुपर्ने थियो । त्यसका साथै उनीहरूले विदेशमा सिकेको सीप र आर्जन गरेको पुँजीलाई प्रयोग गरी सामूहिक लगानीमार्फत देशलाई समृद्ध बनाउन राजनीतिक विचारधाराबाट अलग रही गैरआवासीय नेपाली अभियान सुरु भएको हो । जसरी सुरुवाती चरणमा सबै दलले यो अभियानलाई राजनीतिक दलको प्रभावबाट हटाएर अघि बढाउने प्रतिबद्धता गरेका थिए, त्यसमा दलहरू इमानदार हुन जरुरी छ ।

त्यसो भए राजनीतिक दलले एनआरएनएलाई भ्रातृ संगठनमार्फत किन प्रभुत्व जमाउन खोजिरहेका छन् त ?

एनआरएनए एउटा पवित्र उद्देश्य बोकेको साझा संस्था हो । राजनीतिक दलहरूले नबुझेर प्रभुत्व जमाउन खोजेको देखिन्छ । यो संस्थामा प्रभुत्व जमाउन खोजे भने भोलि ठूलो दल बनाउन सकिन्छ भन्ने भ्रम पालेको देखिन्छ । चुनावमा आर्थिक सहयोग हुन्छ भन्ने होला । व्यक्तिगत सम्बन्ध उपयोग गरेको जस्तो देखिन्छ । यो कुरा दलहरूले प्रस्ट बुझ्नुपर्छ कि संघले कुनै राजनीतिक दललाई सहयोग गर्न सक्तैन ।

आफ्नो विचारधारालाई जिताउन भन्दै दलले नै भ्रातृ संगठनलाई परिपत्र गर्न थालेको घटनाले के देखाउँछ ?

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन ठूलो आशा राखिएको संस्थामा राजनीतीकरण गर्न पार्टीहरूबीच किन होडबाजी चलिरहेको छ र यसले दलहरूलाई के फाइदा छ भनेर सोच्ने बेला आएको छ । भ्रातृ संगठनमार्फत किन बिथोल्न वा प्रभुत्व जमाउन खोजेका छन् ? महाधिवेशनको समयमा उम्मेदवारलाई मत दिन सबैजना स्वतन्त्र छन् र भ्रातृ संगठनमार्फत ह्वीप जारी गर्दैनौं भनेर हामीले दलका शीर्षस्थ नेतृत्वबाट आश्वासन पाइरहेको हो । यसलाई इमानदारिताका साथ पूरा गर्ने बेला आएको छ । दलहरूले आफ्ना राजनीतिक गतिविधिलाई आफ्ना भ्रातृ संगठनमार्फत अगाडि बढाउन अनुरोध गर्दछु । संघको जे उद्देश्य हो, त्यसैअनुसार चल्न दिनुपर्छ ।

राजनीतिक हस्तक्षेपले प्रवासमा नेपाली समुदाय नै विभाजित हुँदै गएको छ । यसले संघको अभियान संकटमा परेको हो ?

एनआरएनएको महाधिवेशन संसद्को चुनाव जस्तो होइन । स्वच्छ हिसाबले अगाडि बढ्न दिइएन भने एनआरएनए अभियान धेरै अगाडि बढ्न सक्तैन । त्यसकारण सबै मिलेर यसलाई दलको प्रभुत्वबाट बाहिर राख्नुपर्छ । दलहरूले देशलाई समृद्धितर्फ लैजाने हो भने प्रभुत्व कायम गर्न खोज्न बन्द गर्नुपर्छ । देशको समृद्धिका लागि हामी १० अर्ब रुपैयाँको सामूहिक लगानी कोष बनाउने अभियानमा छौं । यसलाई राजनीतिक दलको प्रभुत्व बनाउने फोरम नबनाऔं । त्यसो गरेको खण्डमा यसको भविष्य लामो छैन ।

सम्बन्धित समाचार :

प्रकाशित : आश्विन १४, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?