चामल पर्खंदै दुर्गम- समाचार - कान्तिपुर समाचार

चामल पर्खंदै दुर्गम

६० हजार परिवारले भदौदेखि पाएनन्
राजु चौधरी

काठमाडौँ — आगामी साता दसैं सुरु हुँदै छ । चाडबाड नजिकिँदा सुगममा उत्साह छ, दुर्गमका विपन्न परिवारमा खाद्य संकटको जोखिम बढेको छ । सरकारी डिपो नै रित्तिएपछि मुगुका गाउँमा स्थानीय बासिन्दा भोकै पर्ने अवस्था आएको छ । न खाद्यका डिपोमा चामल छ, न त गाडी चल्छ । स्थानीय उत्पादनले तीन महिनाभन्दा बढी नधान्ने बस्तीमा खाद्य संकट गहिरिने संकेत देखिएको छ । 

दुर्गम जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न ढुवानी गर्दै आएको छ । कम्पनीले समयमै ढुवानी नगरिदिँदा बर्सेनि अभाव भएको हो । ‘गाउँमा गाडी आइपुग्दैन, खेतबारी उब्जाउ छैन,’ मुगुको मुगुम कर्मारोङ गाउँपालिका प्रवक्ता कर्मा तामाङले भने, ‘खाद्यले वर्षमा एक पटक चामल बाँड्छ, त्यो पनि ठूलो परिवारलाई एक/दुई महिना मात्रै पुग्छ ।’ खाद्यले दुर्गमका डिपोमा पुर्‍याउने चामल सहुलियत मूल्यमा बेच्छ । उनका अनुसार गत वर्ष एक परिवारलाई ६० किलोको दरले बिक्री गरिएको थियो । चालु आर्थिक वर्ष भने चामल पठाइएकै छैन ।

पुलु गाउँपालिकामा डिपो भए पनि कर्मचारी बस्दैनन् । त्यस क्षेत्रमा ठेकेदारहरूले चामल ल्याउँछन्, मनलाग्दी मूल्यमा बेच्ने गरेको तामाङले बताए । उनका अनुसार स्थानीयले चामल माग गर्दा खाद्यका कर्मचारीहरूले टेर्दैनन्, आफू अनुकूलकालाई ठेक्का दिन्छन् । ठेकेदारले आफ्नो पायक पर्ने समयमा चामल ल्याउँछन्, त्यो समयमा खरिद नगरे चामल नै पाइँदैन । मुगुकै छायानाथ रारा नगरपालिका सञ्चार प्रविधि अधिकृत तीर्थराज शाहीले पनि सरकारी डिपोमा चामल नहुँदा चाडबाडको मुखमा सर्वसाधारणलाई समस्या रहेको बताए ।

स्थानीय उत्पादनले छाक टारिरहेका धेरै परिवारले दसैंमा भात खानै नपाउने अवस्था छ । ‘जिल्लाकै डिपोमा चामल छैन । डिपोमा चामल नहुँदा स्वतः समस्या भइहाल्छ,’ उनले भने ।’ खाद्य कम्पनीको बिक्रीवितरण विवरण हेर्दा गत आर्थिक वर्ष मुगु जिल्लामा कम ढुवानी भएको देखिन्छ । मुगुका लागि १९ हजार ५ सय क्विन्टल ढुवानी गर्ने लक्ष्य राखेकामा १७ हजार ४४ क्विन्टल मात्रै ढुवानी भएको छ । कम्पनीका मुगु डिपो शाखा सहायक पुष्कर भामले मौज्दात कम हुँदा वितरणमा समस्या भएको प्रतिक्रिया दिए । थप खाद्यान्न ढुवानीकै प्रक्रियामा रहेको उनले सुनाए ।

मुगुजस्तै बाजुरावासीलाई पनि चाडबाडमा चामलकै समस्या हुन्छ । बाजुराका विभिन्न नगरपालिकामा गत भदौदेखि नै खाद्यले चामल बिक्री गरेको छैन । ‘बाजुराको कोल्टी क्षेत्रमा धेरै समस्या भएको छ । कोल्टीमा रहेका सबै भोकै त छैनन् तर सर्वसाधारणले जुन हिसाबले चामल पाउनुपर्थ्यो, त्यो भएन,’ बूढी नगरपालिका प्रमुख पदमकुमार गिरीले भने, ‘समयमै ढुवानी नहुँदा कोल्टी र हिमाली गाउँपालिकामा धेरै समस्या देखियो ।’ तत्काल समस्या समधान गर्न हवाईमार्गबाट ढुवानीको माग गरेको उनले बताए ।

खाद्यका कोल्टी डिपो प्रमुख नवीनप्रसाद आचार्य बाटो बिग्रिएर ढुवानीमा समस्या भएको बताउँछन् । डिपोमा चामल मौज्दात न्यून भएपछि गत भदौ १० देखि बिक्रीवितरण बन्द गरिएको उनले बताए । ‘कोल्टीमा खाद्यको स्थायी डिपो छ । उक्त डिपोमा ४५ क्विन्टल चामल मौज्दात छ । मृत्यु संस्कारलगायत अत्यावश्यक बेला चाहिन्छ, त्यही भएर बिक्री गरेका छैनौं,’ उनले भने । बाजुरामै कवाडी डिपो (अस्थायी) छ तर उक्त डिपोमा चामल असारमै सकिएको थियो । थप ढुवानी भएर गएन । ‘यस क्षेत्रबाट ४ स्थानीय तह, मुगु र हुम्ला गरेर ६० हजार परिवारका लागि खाद्यान्न वितरण हुन्छ,’ आचार्यले भने, ‘यस क्षेत्रका लागि गत वर्ष १० हजार क्विन्टल स्वीकृतमध्ये सबै ढुवानी भएन, जसले गर्दा अहिले वितरण गर्नलाई चामल छैन । तत्काल चामल नआए दसैंलाई समस्या हुन्छ ।’

बाजुराका खाद्य शाखा प्रमुख मेखराज ओझाले पनि ठेकेदारहरूले समयमै ढुवानी नगरिदिँदा आफ्नो जिल्लामा खाद्यान्न अभाव देखिएको बताए । ‘गत वर्ष कोल्टीका लागि १० हजार क्विन्टलमध्ये सुर्खेतबाट २ हजार क्विन्टल ढुवानी भएन । मार्तडी (कवाडी) का लागि ६ हजार क्विन्टल स्वीकृत भएकामा धनगढीबाट ४ हजार क्विन्टल मात्रै ढुवानी भयो,’ उनले भने, ‘गत वर्ष ठेकेदारले ४ हजार क्विन्टल ढुवानी नगरिदिँदा जिल्लामा समस्या देखियो ।’ ओझाका अनुसार ती क्षेत्रका ढुवानीकर्ता लोकेन्द्रबहादुर रावल हुन् । ढुवानीमा रावलले ढिलासुस्ती गर्दासमेत केन्द्रबाट कुनै कारबाही गरिएको छैन । ‘हामीले ठेकेदारलाई भन्दा टेर्दैनन्, केन्द्रमा गुनासो गर्दा सुनुवाइ हँॅदैन । समयमै ढुवानी गर्न नसक्नेलाई स्पष्टीकरण पनि सोधिएन,’ ओझाले गुनासो गरे, ‘समस्या ढुवानीकै हो । ठेकेदारलाई कारबाही नहुने समस्या छ । दुर्गमका जनतालाई साह्रै दुःख भयो ।’ दसैं अगाडि ल्याउने कोसिस जारी रहे पनि चामल आउन गाह्रो रहेको उनले बताए ।

यता, केन्द्रको ढुवानीको विवरणमा भने स्वीकृत कोटाभन्दा बढी ढुवानी भएको उल्लेख छ । गत वर्ष १३ हजार क्विन्टल स्वीकृत भएकामा १८ हजार ८ सय ५३ क्विन्टल ढुवानी भएको केन्द्रको विवरणमा छ । तर, सोही जिल्लाका सर्वसाधारणले भने चामल पाएका छैनन् । बझाङ पनि उस्तै समस्या छ । केन्द्रको विवरणअनुसार गत वर्ष ४ हजार क्विन्टल कोटामध्ये ५ हजार ६ सय ५३ क्विन्टल ढुवानी भइसकेको छ । तर, साइपाल गाउँपालिकामा भने खाद्यान्न पर्याप्त छैन । गाउँपालिका उपाध्यक्ष कल्पनादेवी बोहराका अनुसार कतिपय घरपरिवारमा चामल नै छैन । उनीहरूले पैंचो गरेर घर चलाइरहेका छन् ।

बझाङमा अस्थायी डिपो छ । उक्त डिपोबाट धनगढीबाट चामल ढुवानी गरिन्छ । वर्षामा बाटो बिग्रिने भएकाले हिउँदमा चामल आउँछ । चैत–वैशाखदेखि असोजसम्मलाई पुग्ने चामल एकै पटकमा ढुवानी गरिन्छ । तर, खाद्यले पर्याप्त परिमाणमा चामल पठाउँदैन । ‘वर्षात्ले बाटो बन्द छ । थुप्रै घरमा चामल छैन,’ उनले भनिन्, ‘अब चामलका लागि फेरि आन्दोलन गर्न काठमाडौं आउँछौं ।’

सुदूरपश्चिम प्रदेशको साइपाल गाउँपालिकामा झन्डै ६ सय १० घरपरिवार गत वर्ष भोकमरीको चपेटामा परेका थिए । त्यसपछि गाउँपालिका उपाध्यक्षसहित ४ वडाध्यक्ष करिब ७ दिनको यात्रा गरेर खाद्यान्न माग गर्दै काठमाडौं आएका थिए । अहिले फेरि त्यही नियति दोहोरिएकाले आन्दोलन गर्न काठमाडौं नपुगी नहुने देखिएको उपाध्यक्ष बोहराले बताइन् ।

सरकारले २३ जिल्लालाई दुर्गम तोकेको छ । यी जिल्लामा जनसंख्या ३४ लाख ९२ हजार २ सय ९१ छ । ६ लाख ७० हजार घरधुरी छन् । तर, वार्षिक खाद्यान्नको कोटा १ लाख ६६ हजार ९ सय क्विन्टल मात्रै छ । उक्त कोटाअनुसारकै समयमै ढुवानी नहुँदा थप समस्या भएको हो । खाद्य कम्पनीका बिक्रीवितरण विभागीय प्रमुख भीम थापाले मुगुमा अभाव नभएको र कोल्टीको हकमा जिल्ला प्रशासन कार्यालयबाट ५ सय क्विन्टल माग आएको बताए । ‘मुगुको गोदाममा मौज्दात छ । पुग्दैन भन्ने चिन्ता हो, कोल्टीमा राजापुरबाट पठाउने तयारी छ,’ उनले भने, ‘केही ठाउँमा पठाउँदा पठाउँदै ढिलाइ भएको हो ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कोल्टीमा धनगढी र राजापुरबाट ४ सय क्विन्टल पठाइने बताए । ‘मंगलबारदेखि लोड सुरु भएको छ । मुगुमा पनि १ सय ७० क्विन्टल गएको छ,’ उनले भने, ‘सकभर दसैं अगाडि खाद्यान्न अभाव नहोस् भन्ने प्रयास गरिरहेका छौं ।’

प्रकाशित : आश्विन १४, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

चाडमा महँगी अचाक्ली

खाने तेलको मूल्य छोइनसक्नु,  तरकारी र फलफूलमा शतप्रतिशतसम्म वृद्धि
गेडागुडी, चामल, चिउरालगायतको भाउ पनि अत्यधिक
राजु चौधरी

काठमाडौँ — दसैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् ।

खाने तेलको मूल्य एक वर्षमै प्रतिलिटर एक सय रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली छ । २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले लिटरमै ३४० देखि ३६० रुपैयाँ पुगेको छ । काँचो तोरीको तेल पनि प्रतिलिटर १८०–२८० बाट बढेर ३६० रुपैयाँसम्म पुगेको छ । भटमास तेलको मूल्य प्रतिलिटर १५५ बाट बढेर २४० पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर १६५–१८० बाट बढेर २५० र डाल्डा घिउ १४५ बाट २३० रुपैयाँ पुगेको छ ।

‘पछिल्लो समय समग्र मूल्यवृद्धि ५ देखि १० प्रतिशत छ,’ संघका महासचिव अमुलकाजी तुलाधरले भने, ‘खाने तेलको मूल्य भने एक सय रुपैयाँ बढेको छ ।’ गेडागुडीमा पनि आयातकै भर पर्नुपरेको छ । ‘कृषिप्रधान मुलुक भनिए पनि सबै आयात हुन्छ, यहाँ ५/७ जनाको कार्टेलिङ चल्छ,’ उनले भने, ‘तर मूल्य बढ्नुको कारण सरकारले अझै पत्ता लगाउन सकेको छैन ।’

चामलमा पनि नयाँ धान नआउन्जेल मूल्य बढ्ने उनको भनाइ छ । संघको तथ्यांकलाई राष्ट्र बैंकको विवरणले पनि पुष्टि गर्छ । चालु आर्थिक वर्षको साउनमा तेल र घिउको मूल्य २९.०७ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष तेल र घिउको मूल्यवृद्धि ६.४८ प्रतिशत मात्रै थियो । साउनमा मात्रै समग्र मूल्यवृद्धि ४.३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि ३.४९ प्रतिशत थियो ।

नेपाल वनस्पति घिउ–तेल उत्पादक संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले भने पूर्णतः परनिर्भर हुनुपरेको र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा यहाँ पनि त्यसको प्रभाव पर्ने गरेको प्रतिक्रिया दिए । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य दोब्बर पुगेकाले सोहीअनुसार यहाँ मूल्य बढेको उनको भनाइ छ । भाडा वृद्धि, तेलको सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा समेत मूल्यवृद्धि भएको उनले बताए ।

हाल घिउ–तेल उत्पादक संघमा २० उद्योग आबद्ध छन् । ती उद्योगलाई चाहिने कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीका दाना ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ ।

संघको दाबीमा उपभोक्ता अधिकारकर्मी भने सहमत छैनन् । ‘कच्चा पदार्थको मूल्य बढेर तेलको मूल्य वृद्धि गर्‍यौं भन्नु बहाना मात्र हो, अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपात र यहाँ भएको मूल्यवृद्धिको विश्लेषण भएको छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘चाडबाडमा उपभोक्तालाई सहुलियत उपलब्ध गराउनुपर्नेमा मूल्य बढाएर ठगी गरिएको छ । यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ ।’ मूल्य अकासिएकाले सरकारले तत्काल प्रभावकारी अनुगमन गर्नुपर्ने उनको सुझाव छ ।

चिनीको मूल्य पनि बढेर प्रतिकिलो ९५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघको तथ्यांक छ । एक वर्षमा हरियो केराउमा प्रतिकिलो २० रुपैयाँ बढेर किलोको १४० पुगेको छ । सानो केराउ १६०, राजमा, रहर दाल, मुसुरो दाललगायतको मूल्य पनि किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ । पछिल्लो लकडाउन र अहिलेकै बजार तुलना गर्दा ५ देखि १० प्रतिशत मूल्यवृद्धि भएको उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । चामलको मूल्य बोरामा ५०/६० रुपैयाँ बढेको छ । ‘चाडपर्व नजिकिएपछि माग बढ्दो छ तर सहज तरिकाले आपूर्ति गर्न सकिएको छैन, ढुवानीको समय नमिल्दा पनि महँगो भएको छ,’ नेपाल वितरक संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘खाद्यान्न बोकेका सवारी बिहान ११ देखि दिउँसो ३ बजेसम्म मात्रै चल्न पाउँछन् । यसले गर्दा पनि ढुवानी भाडा पनि बढेको हो ।’

बजार सुधार्ने काममा आधा दर्जन नियामक छन् तर उपभोक्ताले सुधारको अनुभूति गर्न सकेका छैनन् । खाद्यवस्तुको गुणस्तरसम्बन्धी नियमन गर्ने दायित्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । मूल्यसूची अनुगमन र म्याद नाघेको विषय हेर्ने काम वाणिज्य विभागले गर्छ । नापतौल तथा ढक तराजुको विषय गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्छ । संघीय सरचनासँगै पालिकालाई बजार अनुगमनको अधिकार छ तर पालिकाहरूले प्रभावकारी अनुगमन गर्ने गरेका छैनन् । यी विविध कारणले पनि बजारमा सुधार नदेखिएको सरोकारवालाको भनाइ छ ।

व्यवसायीका अनुसार पछिल्लो समय ड्राइफुड, काजु, पेस्तालगायतको मूल्य दोब्बर पुगेको छ । सीमित आयातकर्ताले मौज्दात राख्दा एक वर्षअघिको तुलनामा मूल्य दोब्बर भएको हो । ‘ड्राइफुडको मूल्य दोब्बर पुगेको छ, करिब ५ सय आयातकर्ताले अफगानिस्तानबाट ड्राइफुड ल्याउँछन्,’ वितरक संघका निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘मूल्य बढाउनकै लागि मौज्दात गर्ने गरिएको छ ।’ खुद्रा व्यापार संघका महासचिव तुलाधरले पनि आयातकर्ताको बदमासी/ सिन्डिकेटले काजु, किसमिसलगायतको मूल्य बढेको दाबी गरे ।

पछिल्लो १० दिनमा हरियो तरकारी र फलफूलको मूल्य छोइनसक्नुभएको छ । होलसेल बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । असोज १ मा होलसेल मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको ठूलो गोलभेडा १० मा ६५, प्रतिकिलो २७ रहेको रातो आलु ३१ रुपैयाँ र ४० रहेको सुकेको प्याज ५४ रुपैयाँ पुगेको समितिले बताएको छ । तनेबोडी ७० रुपैयाँबाट १३०, घिरौंला ४५ बाट ७५ र भिन्डी प्रतिकिलो ५६ बाट ७५ रुपैयाँ पुगेको समितिको तथ्यांक छ । फलफूलको मूल्य २२ प्रतिशतसम्म बढेको छ । असोज १ मा प्रतिकिलो १९६ रहेको फुजी स्याउ २३५, ३२५ रहेको अनार ३७५, ४५ रहेको तरबुजा ५५, १२५ रहेको मौसम १३५ र ८६ रहेको मेवाको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

सरकारले भने बजारमा भइरहेको मूल्यवृद्धिका विषयमा कार्ययोजना बनाएर अनुगमन गरिरहेको दाबी गरेको छ । कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई थप जनशक्ति पठाइएको र टोली बनाएर अनुगमन भइरहेको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए । बिक्रीका सन्दर्भमा बजारमा हुने विभिन्न तह घटाउन सके मूल्य नियन्त्रण सहज हुने विभागका महानिर्देशक प्रकाश पौडेलले जनाए । ‘बजारमा विभिन्न तह हँॅदा उपभोक्तासम्म आइपुग्दा मूल्य अत्यधिक बढेको हो, खाद्य संस्थानले कम्पनीबाट सिधै तेल किनेर सर्वसाधारणलाई बिक्री गर्दा बजारभाउभन्दा सस्तो देखिएको छ,’ उनले भने, ‘बजार नियन्त्रण गर्न तह घटाउनैपर्छ ।’

प्रकाशित : आश्विन १२, २०७८ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×