चरित्रहत्या हुने भिडियो प्रसारण गरेको आरोपमा ४ युट्युबर पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चरित्रहत्या हुने भिडियो प्रसारण गरेको आरोपमा ४ युट्युबर पक्राउ

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ४ युट्यबुरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका-१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवकोटको सुर्यगढी गाउँपालिका-२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी-९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका-४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।

चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतनको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।


प्रकाशित : आश्विन १३, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउ

इकान्तिपुर डेस्क

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेका थिए ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेका थिए । ‘उनले संग्रहालयको श्रीपेच कक्ष(रुपन्देही कक्ष) बाट खुकुरी निकालेर सोकेस फुटाउन खोजेका थिए,’ निर्देशक दाहालले भने, ‘सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् ।’

संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाले घर्तीलाई दरबारमार्ग प्रहरी वृत्तलाई बुझाएका थिए । उक्त कक्षमा खुकुरी र अन्य सामग्रीसहित सोकेसमा नेपालका पूर्वराजाहरूले लगाएको श्रीपेच राखिएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी सिंहले जानकारी दिए ।

प्रकाशित : आश्विन ८, २०७८ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×