कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृत्यु भइसकेका व्यक्तिको नामबाट भत्ता लिएको आरोपमा पाँच सचिवविरूद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरूपयोग अनुसन्धान अयाोगले उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन पाँच जना कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिको नामबाट भत्ता लिएको आरोपमा पाँच सचिवविरूद्ध भ्रष्टाचार मुद्दा

प्रवक्ता नारायणप्रसाद रिसालले रामपुर ठोक्सिला गाविसका कर्मचारीहरूले ८–१० वर्ष पहिल्यै मृत्यु भइसकेका व्यक्तिको नामबाट सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा पाँच जना कर्मचारीविरुद्ध मुद्दा चलाइएको बताए ।

अख्तियारले बुधबार विशेष अदालतमा केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध मुद्दा चलाएको हो । उक्त गाउँ विकास समितिका कर्मचारीहरूले आर्थिक वर्ष २०६३/०६४ देखि २०७१/७२ सम्म सामाजिक सुरक्षा भत्ताबापत १६ लाख ४० हजार ५०० रूपैयाँ दुरूपयोग गरेको अख्तियारको अभियोग रहेको छ । उक्त अवधिमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूको मृत्यु भएपश्चात घटना दर्ता गरेर लगत कट्टा गर्नुपर्नेमा त्यसो नगरी मृतकको नाममा भरपाई बनाएर आफैंले दुरूपयोग गरेका थिए ।

अख्तियारले उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्य (हाल मालपोत कार्यालय उदयरपुरका नायब सुब्बा)विरुद्ध ९ लाख ९० हजार पाँच सय दुरूपयोग गरेको अभियोग लगाएको छ ।

त्यस्तै, तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की (हाल रौतामाई गाउँपालिका–७ का वडा सचिव) विरद्ध ७८ हजार, तत्कालीन गाविस सचिव विशाल सुन्दास (हाल तथ्यांक कार्यालय उदपुरका खरिदार) विरुद्ध ८२ हजार दुरूपयोग गरेको अख्तियारको दाबी रहेको छ । त्यसैगरी तत्कालीन गाविस सचिव माधवप्रसाद खतिवडा (हाल रौतामाई गाउँपालिकाका अधिकृत छैटौं) विरुद्ध तीन लाख १४ हजार र हाल अवकाश पाइसकेका तत्कालीन गाविस सचिव पुष्पराज सिग्देलविरुद्ध एक लाख ७६ हजार रूपैयाँ दुरूपयोग गरेको भन्दै त्यति नै बिगो कायम गरेर अख्तियारले मुद्दा चलाएको छ ।

प्रकाशित : आश्विन १३, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?