२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

चाडपर्वमा हुने कालोबजारी रोक्न गृहमन्त्रीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला हुने कालोबजारी रोक्न र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् । उनले दसैं, तिहारजस्ता चाडपर्वका बेला बजारमा कालोबजारी हुने तथा आपराधिक गतिविधि समेत बढ्ने गरेका भन्दै त्यसतर्फ निगरानी गर्न निर्देश दिए । 

चाडपर्वमा हुने कालोबजारी रोक्न गृहमन्त्रीको निर्देशन

मंगलबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखाका प्रमुखहरुसँग छलफलपछि मन्त्री खाँणले यस्तो निर्देशन गरेका हुन् । ‘चाडपर्वमा पनि सुरक्षा व्यवस्था र बजार व्यवस्था सहज हुनुपर्छ । नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउनुभएन,’ मन्त्री खाँणले भने, ‘अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था हुनुपर्‍यो ।’

मन्त्री खाँणले परिवर्तन देखिने गरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन निर्देशन दिए । छलफलमा सुरक्षा प्रमुखहरुले चाडपर्व विशेष योजनाहरु प्रस्तुत गरेका थिए । त्यो सुनेपछि मन्त्री खाँणले भने, ‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन् । योजनामात्रै राम्रा भएर भएन । ती योजना व्यवहारमा कार्यान्वयन गर्नुहोला ।’

मन्त्री खाँणले प्रहरी र कर्मचारीले मुस्कानसहितको सेवालाई व्यवहारमा लागू गर्न निर्देशन गर्नुपर्ने बताए । ‘आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेको नबसौं, जहाँ जसको ध्यान पुगेको छैन, उसलाई खबर गरौं । काम गरौं । नागरिकको सुविधालाई प्राथमिकतामा राखौं,’ मन्त्री खाँणले निर्देशन गर्दै भने, ‘ट्राफिक व्यवस्थापन, सडकमा देखिने खाल्डाखुल्डी पुर्न र असहज अवस्थालाई सहजतामा बदल्न के–के गर्नुपर्छ ? आवश्यक समन्वय गरौं ।’

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, महानगरीय प्रमुख परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह, ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य र भक्तपुर प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापन योजना प्रस्तुत गरेका थिए । त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन गरिरहेका योजना र कार्यक्रमबारे कार्ययोजना प्रस्तुत गरेका थिए ।

त्यसक्रममा गृहसचिव टेकनारायण पाण्डेले आमनागरिकलाई म माथि राज्यको निगरानी छ भन्ने अनुभूति दिलाउन सकेमा मात्रै सुरक्षा व्यवस्था सफल हुने सुझाव राखेका थिए ।


प्रकाशित : आश्विन १२, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?