१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

एमालेलाई भट्टराईले भने: नैतिकता छ भने संसद्‍बाट राजीनामा गरेर जनतामा जाऊ

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्‍बाट राजीनामा गरेर जनतामा जान भनेका छन् । 

एमालेलाई भट्टराईले भने: नैतिकता छ भने संसद्‍बाट राजीनामा गरेर जनतामा जाऊ

प्रतिनिधिसभामा निरन्तर अवरोधका बीच बजेटसँग सम्बन्धित विधेयक पारित भएपछि सोमबार संसद् भवनबाट बाहिरिने क्रममा भट्टराईले एमालेलाई भने, 'मैले दोस्रो संविधानसभामा २०७२ सालमा पार्टी छोडिसकेपछि तुरुन्त राजीनाममा दिएको थिएँ । उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ ।'

सरकारको नेतृत्वमा हुँदा संसद् विघटन गरेको र अहिले संसद् अवरुद्ध गरिरहेको भन्दै भट्टराईले उक्त सुझाव दिएका हुन् । एमालेले संसद्‍मा लगाएका नाराबारे पनिभट्टराईले आपत्ति जनाए । 'जसले संविधान विपरीत गएर संसद् दुई-दुई चोटी विघटन गर्‍यो उसैले संवैधानिक सर्वोच्चता कायम गर भन्ने ? सर्वोच्चको फैसला मान्दिनँ भन्ने अनि संवैधानिक सर्वोच्चता ? जुन संसद् विघटन गरेको छ त्यो संसद्‍मा संसदीय मर्यादा कायम गर भन्ने ?,' उनले प्रश्‍न गरेका थिए ।

त्यस्तै, सरकारले लगानी गर्नका लागि स्रोत नखोज्ने नीतिको विरोधमा पनि एमालेका सांसदहरुले नारावाजी गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले बजेटसँग सम्बन्धित अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने क्रममा लगानी गर्नेको स्रोत नखोज्ने नीति सार्वजनिक गरेका थिए । उक्त नीतिको एमालेले विरोध गरिरहेको छ ।

भट्टराईले भने सरकारको उक्त नीतिको बचाउ गर्दै भने, 'कालो धन वैधानिक त हुनुपर्‍यो नि । कालो धनलाई कालै राख्ने त ? यहाँ त अवैध धन, कालो धन राखेर कालै काम गर्ने प्रवृति छ ।' कालो, सेतो जस्तो धन भए पनि उत्पादनमूलक काममा लगाएर रोजगारी सिर्जना गर्नुपर्ने राम्रो निर्णय भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन ११, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?