कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमुख दललाई महाधिवेशनको चटारो 

मणि दाहाल

काठमाडौँ — प्रमुख राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो लागेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी, नेकपा (एकीकृत समाजवादी) देखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्म अहिले महाधिवेशनको तयारी गरिरहेका छन् । आगामी फागुनबाट सुरु हुने तीनै तहको चुनावअघि नै प्रमुख राजनीतिक दलहरू पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेका हुन् ।

प्रमुख दललाई महाधिवेशनको चटारो 

पाँच वर्षभित्र महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्ने बाध्यता छ । त्यहीअनुसार सबै दलहरू नीति र नेतृत्व चयनको दिशामा केन्द्रीत भएका हुन् ।

कांग्रेस

पटक पटक मिति सार्दै आएको सत्तारुढ दल कांग्रेसले स्थानीय तहका धमाधम अधिवेशन गरेर नयाँ नेतृत्व छनोट गरिरहेको छ । स्थानीय, जिल्ला हुँदै केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने मिति तोकेको छ । यद्यपी कांग्रेसको महाधिवेशनको तालिका चौथो पटक सरिसकेको छ । विधानअनुसार २०७६ फागुनभित्र १४ औं महाधिवेशन भइसक्नु पर्ने थियो । कांग्रेसले २०७२ सालको फागुन २० देखि २३ गतेसम्म १३ औं महाधिवेशन गरेको थियो । विधानअनुसार चार वर्षभित्र अर्थात् ०७६ फागुनभित्र १४ औं महाधिवेशन भइसक्नुपर्ने थियो । तर, सभापति देउवाले त्यसबेला सामान्य अवस्थामै विधानको विशेष व्यवस्था उपयोग गरेर एक वर्षे कार्यकाल लम्ब्याए । त्यसपछि ०७७ फागुन ७–१० का लागि महाधिवेशनको कार्यतालिका तोकियो । तर, त्यो मितिमा पनि महाधिवेशन हुन सकेन । त्यो बेला महाधिवेशन नहुनुको कारण क्रियाशील सदस्यता नै थियो । त्यसपछि संविधानको ६ महिना थप गर्न सकिने व्यवस्था उपभोग गर्दै कांग्रेसले ०७८ भदौ ७–१० कालागि महाधिवेशन तोक्यो । तर, त्यो मितिमा पनि सदस्यताकै कारण महाधिवेशन भएन । असार पहिलो साता अर्को मिति तोकियो भदौ १६–१९ का लागि । अन्ततः यो मितिमा पनि सदस्यताकै कारण महाधिवेशन भएन । यसपटक २३ भदौमा महाधिवेशनको प्रक्रिया मात्रै थालेपनि वैधानिकता बचाउन सकिने तर्कसहित नेताहरूले मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छन् । यो चौथो कार्यतालिका हो । महाधिवेशनका लागि सभापतिका आकांक्षी नेताहरूले सम्पर्क कार्यालयहरू नै खोलेर गतिविधि गरिरहेका छन् ।

एमाले

प्रमुख विपक्षी दल एमालेलाई पनि महाधिवेशनको चटारोमा छ । एमालेको आउँदो शुक्रबारबाट विधान महाधिवेशन सुरु हुँदैछ । नेतृत्व छनोट र वैचारिक विषयमा निर्णय लिनका लागि छुट्टाछुटै महाधिवेशन पहिलो पटक गर्न लागेको हो । विधान महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको विषयमा फरकमतका साथ केन्द्रीय कमिटीबाट पारित भएको छ । महाधिवेशनमा पाँच हजार प्रतिनिधिको सहभागिता रहने गरी एमालेले मापदण्ड तोकेको छ ।

नेतृत्व छनोटका लागि एमालेले मंसिर १० देखि १३ सम्म १० औं महाधिवेशन गर्ने मिति तोकेको छ । एमालेले नवौं महाधिवेशन २०७१ असारमा गरेको थियो । एमाले र माओवादी एकीकरणको समयलाई सून्य अवधी मानेर एमालेले बैशाखसम्म महाधिवेशन गर्नपर्ने कानुनी वाध्यता रहेको छ ।

माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलनको तयारीमा छ । माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनको कार्यतालिका केही संशोधन गरेको छ । तर राष्ट्रिय सम्मेलनको मुल मिति भने परिवर्तन गरेको छैन ।

बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ । स्थानीयस्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने सोमबारको स्थायी कमिटीले निर्णय गरेको छ । स्थानीयस्तरको भेलाको समय सारेपनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)

एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले चाँडै राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ । तर मिति भने तोकेको छैन । ‘पार्टी दर्ता गर्दाको समयमा दसैंअघि नै राष्ट्रिय सम्मेलन गर्ने छलफल गरेका थियौं,’ नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले भने, ‘दसैं अघि तयारी गर्न समय नपुग्ने देखिन्छ । अब तिहार अघि कि पछि कहिले गर्ने छलफमा छौं ।’ तुलाधर पार्टीका धेरै विषयमा राष्ट्रिय सम्मेनलले निर्धारण गर्ने बताउँछन् ।

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीको भदौ १ र २ गते भएको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको थियो । सो दलले पनि विधान र नेतृत्व चयनको विषयमा छुट्टाछुट्टै महाधिवेशन गर्न निर्णय गरेको छ । महाधिवेशन एक वर्षभित्र हुने निर्णय गरेको छ । यही समयमा पार्टी विभाजन भएकाले मिति भने तय हुन बाँकी छ । पार्टी विभाजनपछि देखिएको तत्कालको समस्या समाधान भएपछि महाधिवेशन गर्ने उक्त पार्टीले जनाएको छ ।

राप्रपा

पटक पटक एकता महाधिवेशनको मिति सारेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कात्तिक २७ देखि ३० सम्मका लागि नयाँ महाधिवेशन मिति तोकेको छ । यसअघि वैशाख त्यसपछि जेठ महिनामा एकता महाधिवेशनको मिति तोकिए पनि कोरोनाको कारण देखाउँदै सारिएको थियो ।

पछिल्लो कार्यतालिकाअनुसार असोज १५ सम्म सातवटै प्रदेशमा महाधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । त्यसैगरी असोज २० गतेसम्म प्रतिनिधि छनोट गर्नुपर्ने थियो । तर पछिल्लो समयमा जिल्ला अधिवेशन असोज २० गतेसम्म गर्ने गरि कार्यतालिका परिमार्जन गरेको केन्द्रीय सदस्य भरत पाठकले बताए ।

प्रकाशित : आश्विन ११, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?