विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण [तस्बिरहरू]


काठमाडौँ — काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटीआर जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।
![विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण [तस्बिरहरू]](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2021/third-party/budda-1-2792021123126-1000x0.jpg&w=1000&h=0)

बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । काठमाडौंको आकाशमा उक्त जहाज २४ मिनेट होल्ड गरिएको थियो ।
तस्बिरहरू : क्याप्टेन विवेक खड्का
यो जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको जानकारी गराएका थिए ।
त्यस्तै काठमाडौंको टावरबाट बुद्ध एयरका क्याप्टेन र इन्जिनियरले दूरबिनबाट जहाजको ल्यान्डिङ गियर खुले/नखुलेको हेरेका थिए । दूरबिनबाट पनि गियर खुलेको देखिएपछि जहाजका चालकलाई अवतरण गर्न सल्लाह दिइएको थियो । आकस्मिक अवतरण गर्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै इन्धन घटाउन जहाजले काठमाडौंमा धेरै पटक फन्को लगाएको थियो ।
साथै आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । तर आकस्मिक अवतरण नभई 'एसुरेन्स ल्यान्डिङ' भएको बुद्ध एयरले जनाएको छ । टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए ।
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ३ शिशु, २ बालबालिकासहित ७३ यात्रु र चालकदलका ४ सदस्य गरि ७७ जना थिए । विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ ।
बुद्ध एयर आजको घटनाको छानबिनका लागि समिति बनाउने भएको छ । समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ । त्यस्तै प्राधिकरणले पनि छुट्टै छानबिन गर्नेछ ।
यसैबीच सोमबार पोखराका लागि उडेको बुद्ध एयरकै अर्को जहाज गोरखाको मनकामनामाथि पुग्दा इन्डिकेटरमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो ।