कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेप्सीकोला–सल्लाघारी सडक : ३१ करोड खर्च, २.५ किमि मात्र कालोपत्र

वासु खड्का प्रमुख रहेको उमा एन्ड कम्पनीले निर्माणको जिम्मा लिएकामा दुई पटक म्याद थप्दा पनि ६५ प्रतिशत मात्रै प्रगति
विमल खतिवडा

काठमाडौँ — पेप्सीकोला–सल्लाघारी सडकखण्डको निकोसेरामा रङ पसल राखेका राजु बुढाथोकी पानी पर्नासाथ आत्तिन्छन् । नआत्तिऊन् पनि किन ! पानी पर्नेबित्तिकै पसलअघिको सडकमा ‘खोलो’ बग्छ । सवारी चालकहरूले पानीमुनि कहाँ खाल्डो छ, मेसो पाउँदैनन् । जसले गर्दा दैनिकजसो दुर्घटना भइरहन्छ । यहाँको दुई सय मिटर सडक सवारी चालक र पैदलयात्रीका लागि धराप बनेको छ ।

पेप्सीकोला–सल्लाघारी सडक : ३१ करोड खर्च, २.५ किमि मात्र कालोपत्र

‘पानी परेपछि साना सवारी दुर्घटनामा नपरेको दिन हुँदैन,’ बुढाथोकीले भने, ‘पसल अगाडि दुर्दशा छ, कोही खाल्डोमा परे उद्धार त गर्नुपर्‍यो नि ।’ कार्यालय, कलेज वा कामका लागि निस्कनेहरू सडकबाट मात्रै होइन सवारीले उछिट्याउने हिलोले थप समस्यामा छन् । यही सडक भएर दुवाकोट, सरस्वतीखेल, झौखेल, सल्लाघारीलगायत स्थानीय काठमाडौंतर्फ जान्छन् । मुख्य सडकबाट जाँदा धेरै ट्राफिक जाम पर्ने हुँदा धेरैको रोजाइको सडक यही हो । ‘यो खण्ड त दुर्घटनाको पासो जस्तै बनेको छ,’ बुढाथोकीले भने, ‘सुरुमा स्थानीयले काम गर्न दिएनन्, अहिले निर्माण व्यवसायीले नै काममा चासो दिएका छैनन् ।’

जेठमा थुपारेको ग्राभेल मंगलबारबाट राख्न थालिएको छ । ग्राभेलले गर्दा सडक झन् हिलाम्य देखिन्छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले यो खण्डको ठेक्का कान्छाराम–पीआर–उमा एन्ड जेभीलाई दिएको छ । २०७६ पुस २९ गते सक्ने गरी २०७४ असार ३० मा ठेक्का सम्झौता भएको थियो तर दुई पटक म्याद थपेर तेस्रो पटक पनि थप्ने तयारी छ । भौतिक प्रगति भने ६५ प्रतिशत मात्रै छ । ४.५ किलोमिटरमध्ये अहिलेसम्म २.५ किमि कालोपत्र भएको छ । ४९ करोड ९७ लाख ७५ हजार रुपैयाँमा ठेक्का लगाइएकामा ३१ करोड १८ लाख ५८ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । आयोजनाले म्याद थपको कारण खुलाई सडक विभागमा पठाउँछ । म्याद थप गर्ने/नगर्ने निर्णय विभागको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर बसन्तकुमार गाँईका अनुसार सुरुमा निकोसेरामा सडक फराकिलो बनाउन खोज्दा स्थानीयले विरोध गरेका थिए । जसले गर्दा निर्माणको काम अघि बढ्न सकेन । ‘सुरुमा बाधा अवरोध भयो,’ उनले भने, ‘अहिले उपलब्ध चौडाइमा काम सुरु गरिएको छ ।’ उक्त खण्डमा पानीको व्यवस्थापन हुन नसकेपछि बढी समस्या आएको उनको भनाइ छ । ‘सबैतिरबाट बगेर आएको पानी त्यहीं जम्मा हुन्छ,’ उनले भने, ‘गत असारमै कालोपत्रे हुने थियो, पानीको निकास नहुँदा गर्न सकिएन ।’

सडक विस्तारमा पर्ने बाहाखा बजारको दुवैतिर घरैघर छन् । करिब ८ सय मिटर खण्डमा यो समस्या छ । इन्जिनियर गाँईका अनुसार दुई सयभन्दा बढी घर सडक विस्तारका लागि भत्काउनुपर्ने हो । ‘अहिलेसम्म घर भत्किएका छैनन्, भत्काउन खोजे अवरोध हुन्छ,’ उनले भने, ‘यो खण्डमा ओभरले (पिचमाथि पिच) को काम हुनेछ ।’ अर्को समस्या खस्याङखुसुङ पुल खण्डमा छ । फागुनसम्म सबै काम सक्ने लक्ष्य रहेको उनले बताए ।

मध्यपुर थिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी चक्रधर स्थानीयले अवरोध गर्दा निर्माणमा ढिलाइ भएको बताउँछन् । ‘बढी समस्या भएको निकोसेरामा ग्राभेल राखेर सवारी चल्ने बनाइएको छ,’ उनले भने, ‘सुरुमा निर्माण व्यवसायीले काम गर्छौं भन्दै आए, स्थानीयले विरोध गरेर रोके, अब दसैंअघि कालोपत्र हुने देखिँदैन ।’ ज्वाइन्ट भेन्चरमा ठेक्का भए पनि निर्माणको जिम्मा उमा एन्ड कम्पनीले लिएको हो । कम्पनीका प्रमुख वासु खड्काले काम ढिलाइ हुनुमा स्थानीयको दोष रहेको आरोप लगाए । ‘ठेक्का सम्झौताअनुसार ३० महिनाको म्याद दिइएको थियो,’ उनले भने, ‘सुरुमा स्थानीयले दायाँबायाँ घर भत्काउन दिएनन् । काम गरेको सडकमा मेयरले डोजर नै ल्याएर भत्काइदिए, केही समय मुद्दामामिला पनि चल्यो ।’ पानी जम्ने खण्डमा कालोपत्र गरेर काम नहुने भएकाले आरसीसी ढलान गर्न आयोजना कार्यालयसँग माग गरिएको खड्काले बताए । ‘ठेकेदारले काम गरेनन् भन्छन्,’ उनले भने, ‘तर, स्थानीयले काम गर्न दिँदैनन्, कसरी समयमै सकिन्छ ?’

प्रकाशित : आश्विन ११, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?