हराउँदै, कोठीमा बेचिँदै- समाचार - कान्तिपुर समाचार

हराउँदै, कोठीमा बेचिँदै

उनी गाउँ आएपछि मात्रै खुल्यो– माइजूले नोकरीमा लगाएर होइन कोठीमा बेचेर फर्किएकी थिइन्
ज्योति कटुवाल

सुर्खेत — सात वर्षअघि उनी गाउँबाट हराएकी थिइन् । गुर्भाकोट नगरकी १३ वर्षीया ती किशोरी लामो समयसम्म नफिर्दा गाउँ, समाज र आफन्तले कतै घरजम गरेर बसेको हुनुपर्ने लख काट्थे । गत भदौ २३ मा उनी अचानक गाउँ आइपुगिन् । त्यसपछि उनले जे बताइन्, त्यो आफन्तले अनुमानसम्म गरेका थिएनन् ।

२०७१ जेठ १८ मा उनी माइजू नन्दकली कामीसँग भारत लागेकी थिइन् । कामीले भनेकी थिइन्, ‘दिल्लीमा मेरा छोरीहरूसँग किताब कारखानामा नोकरी गर्नू, खुब पैसा हुन्छ । काम गाह्रो छैन, दुःखका दिन दूर हुन्छन् ।’ माइजूले ललाइफकाई उनलाई कोठीमा लगेर छाडेकी रहिछन् । उनलाई जबर्जस्ती देहव्यापारमा लगाइयो । एकै दिन धेरै जना पुरुषले उनको शरीरसँग खेल्थे । ६ महिनापछि उनको पेट केही बढेको जस्तो थियो । अस्पताल पुर्‍याइयो र पाठेघर निकालियो ।

‘बच्चा बसेको रहेछ, मलाई थाहा थिएन । तिम्रो पेट सुन्निएको छ, औषधि खाए हुन्छ भन्दै अस्पताल लगिएको थियो,’ उनले भनिन्, ‘डाक्टरहरूले अप्रेसन गरेपछि पो थाहा भयो, मेरो पेटमा बच्चा थियो भनेर ।’ कोठीमा झन्डै १५ महिना बसेपछि उनलाई फेरि अस्पताल लगियो । अस्पतालबाटै भागेर उनी मुम्बई पुगिन् र त्यहीं काम गर्न लागिन् । ‘कोठीमा पाएको पीडा र परिवारको आर्थिक अवस्था कमजोर हुँदा त्यतिबेला नेपाल फर्कन पाइनन्,’ उनले भनिन्, ‘अहिले कोरोना महामारीका कारण भारतमा पनि काम रोकिएपछि नेपाल फर्किएकी हुँ ।’ उनले उजुरी दिएपछि माइजू नन्दकली कामी र दुई छोरीहरू तारा र ममतालाई भदौ २८ मा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गर्ने तयारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी पदम विष्टले बताए ।

चौकुने गाउँपालिका–४ की दुई १३ वर्षीया बालिकालाई पनि दुई वर्षअघि उनीहरूकै नाता पर्ने दुरा विक र धर्मा विकले भारत पुर्‍याएका थिए । भारतीय कोठीमा बेचिएका उनीहरू त्यहाँ पुगेको पहिलो दिनमै भाग्न सफल भए । उनीहरूको उजुरीका आधारमा पक्राउ परेका दुरा र धर्मा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांकअनुसार १ हजार ९ सय २ जना महिला तथा बालबालिका हराएका छन् । त्यसमध्ये अझै ८ सय ९६ जना नभेटिएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । २०७५/७६ मा ४ सय १३ महिला, १ सय ७३ बालक र २ सय ९५ बालिका हराएका थिए । त्यस्तै २०७६/७७ मा २ सय ५० महिला, १ सय २२ बालक र १ सय ३७ बालिका हराएका छन् । गत वर्ष ४ सय महिला, ८५ बालक र १ सय ४० बालिका हराएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

एसपी विष्टका अनुसार आफन्तकै प्रलाभनमा परी धेरै महिला तथा बालबालिका मानव बेचबिखनको सिकार भएका छन् । बेचबिखन हुने र हराउनेमा १३ देखि ४५ वर्षसम्मका बढी छन् । सबैभन्दा धेरै दलित र जनजाति परिवारका महिला बेचबिखनमा पर्ने गरेको उनले जानकारी दिए । ‘विपन्न परिवारका बढी हराउने गरेका छन्,’ उनले भने, ‘आफन्तद्वारा बेचिएर फर्किएकाले मात्र प्रहरीमा उजुरी दिन्छन् र पीडक पक्राउ पर्छन्, उजुरी नदिएकाहरूको अवस्था भने हामीलाई पनि थाहा हुँदैन ।’

कतिपयलाई भारतीय बाटो हुँदै विदेश पुर्‍याउने बहानामा पनि कोठीमा पुर्‍याइने गरिएको अधिकारकर्मी पवित्रा शाहीले बताइन् ।

प्रकाशित : आश्विन १०, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मतीमा खेलकुदलाई न्यून बजेट

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि खेलकुद क्षेत्रलाई एक प्रतिशत बजेट पनि विनियोजन गरेको छैन । प्रदेश खेलकुद विकास परिषद्को योजनाअनुसार प्रदेश सरकारले विनियोजन गरेको रकम अत्यन्त न्यून भएको टिप्पणी परिषद्को छ । चालु आवका लागि वाग्मती प्रदेश सरकारले ल्याएको ५७ अर्ब ७२ करोड रुपैयाँको बजेटमा खेलकुदले प्राथमिकता पाउन सकेन । बजेट रकम निर्धारणपछि खेलकुदले ससर्त अनुदानसहित प्रदेशको कुलमा बल्लतल्ल १ प्रतिशत बजेट पाएको छ ।

प्रदेशका १३ वटै जिल्लामा खेलकुद पूर्वाधार विकास, विभिन्न खेलकुदका प्रतियोगिता तथा अन्य कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले आर्थिक वर्षका लागि ससर्त अनुदान २ करोड ६ लाखसहित ५९ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रदेशको खेलकुद विकासका लागि उक्त बजेट पर्याप्त नभए पनि सबै क्षेत्रलाई समेट्ने गरी योजना तयार पारिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए । प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका १३ जिल्लामा खेलकुदको विकास गर्न तथा प्रदेशमातहतमा विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गर्न ९० वटा योजनाहरू तयार पारेको छ । जसमा सबैभन्दा ठूला योजनाको रुपमा वहुवर्षीय योजनाअन्तर्गत् २ वटा योजनाहरूलाई ८/८ करोड रुपैयाँ बजेट छुट्याइएको छ । सानोमा १० लाख रुपैयाँसम्मका योजना छन् । ठूला योजनाको रूपमा बहुवर्षीय कार्यक्रमअन्तर्गत हेटौंडाको गौरीटार रंगशाला र सिन्धुपाल्चोकको चौतारा रंगशाला निर्माणका लागि ८–८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

यी दुई ठूला योजनासहित ३५ लाखदेखि ८ करोडसम्मको बजेट रहेका १४ वटा बहुवर्षीय योजनाका लागि कुल ४२ करोड ६८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यसमा मकवानपुरका दुई योजना छन् भने रामेछापमा ३, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली र चितवनमा २–२ तथा धादिङमा एक ठूलो बहुवर्षीय योजना सम्पन्न गर्न बजेट विनियोजन गरिएको भण्डारीले बताए ।

प्रदेशले साढे ४ करोडका खेलकुद कार्यक्रम गर्ने

प्रदेश खेलकुद विकास परिषद् आफैंले खेलकुद कार्यक्रम सञ्चालन गर्न ४ करोड ६६ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ । खेलकुदका तालिमदेखि लिएर प्रदेश खेलकुद प्रतियोगितासम्म छन् । परिषद्ले प्रदेश खेलकुद प्रतियोगिता गर्न २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सहिद स्मृति राष्ट्रिय फुटबल लिग र प्रदेश फुटबल लिग प्रतियोगिताका लागि एन्फासँगको साझेदारी कार्यक्रमअन्तर्गत दुवै प्रतियोगिताका लागि ५०–५० लाख बजेट निर्धारण गरिएको छ । साहसिक तथा पर्यटकीय खेलकुद गर्न ३० लाख रुपैयाँ रकम छुट्याइएको छ । प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गर्न २६ लाख रुपैयाँ बजेट तय गरिएको छ ।

अपांगता भएका खेलाडीको प्रदेशस्तरीय पारा खेलकुद गर्न, उनीहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा तालिममा सहभागिता जनाउन १० लाख रुपैयाँ बजेट निश्चित गरिएको छ । खेलाडी तथा खेलक्षेत्रमा विशेष योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्न तथा अल्ट्रा म्याराथन, क्यानोइङ, रक क्लाइम्बिङलगायतका खेलको सम्भाव्यता अध्ययन गर्न १०–१० लाख बजेट छुट्याइएको परिषद्ले जनाएको छ ।

कुन जिल्लालाई कति बजेट ?

खेलकुदको पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारको खेलकुद बजेटबाट मकवानपुरले १० करोड ४२ लाख र चितवनले ६ करोड ७३ लाख बजेट प्राप्त गर्दा प्रदेशमा सबैभन्दा बढी बजेट सिन्धुपाल्चोकलाई १३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । रामेछापलाई ७ करोड ६ लाख, सिन्धुलीलाई ५ करोड ८९ लाख, नुवाकोटलाई साढे ४ करोड, धादिङलाई ३ करोड ३० लाख, काठमाडौंलाई एक करोड ११ लाख, काभ्रेलाई ४६ लाख, ललितपुरलाई ४४ लाख तथा भक्तपुर, दोलखा, र रसुवालाई ३९–३९ लाख रुपैयाँ विनियोजन गरिएको परिषदले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×