संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका- समाचार - कान्तिपुर समाचार

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा संक्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए । 

संक्रमणका कारण मृत्यु हुनेहरूमा खोप लगाएकाको संख्या पनि निकै कम छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार असोज ७ मा संक्रमणका कारण १३ जनाको मृत्यु भएको थियो । जसमध्ये एक जना पनि खोप लगाएका संक्रमित थिएनन् । ‘कोभिडको दोस्रो लहर उत्कर्षमा पुगेका बेला अस्पतालमा भर्ना हुने अधिकांशले खोप नलगाएका थिए,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका डा. अच्युत कार्कीले भने, ‘हाल वीरमा भर्ना हुन आउने संक्रमितमध्ये करिब ६० प्रतिशत खोप नलगाएका र अरू खोप लगाएका होलान् ।’

खोप लगाएकामा संक्रमण छिटो निको हुने देखिएको छ । डा. कार्कीले खोप लगाएकाहरू संक्रमण भए अस्पताल भर्ना हुँदा दुई/तीन दिनमै डिस्चार्ज हुने गरेको बताए । त्यस्ता संक्रमितमा मृत्युदर पनि अत्यन्त न्यून छ । ‘खोप लगाएकामा रोगको जटिलता खासै देखिएको छैन,’ ईडीसीडीका निर्देशकसमेत रहेका मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘देशभरका अस्पतालमा बुझ्दा खोप लगाएकाहरूको मृत्यु नगण्य छ ।’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह खोपले संक्रमण हुनबाट जोगाउन नसके पनि ज्यान बचाउने बताउँछन् । ‘नेपाललगायत विश्वभरमा पूर्ण खोप लगाएकाहरूमा गम्भीर अवस्था र मृत्युको खतरा अत्यन्त न्यून देखिएको छ,’ उनले भने ।

कडा लक्षण नदेखिएसम्म परीक्षण गर्न नजाने भएकाले दैनिक संक्रमितमध्ये खोप लगाएका बढी हुनुपर्नेसमेत विज्ञहरू तर्क गर्छन् । ‘खोप लगाएकामा लक्षणरहित कोभिड देखिने गरिएकामा त हामीले चर्चा नै गरेका छैनौं,’ उनले भने, ‘यति हो, खोपले बिरामीको गम्भीरता कम गर्न सक्छ,’ डा. शाहले भने । संक्रमणको जोखिम रहेकाले खोप लगाएकालाई पनि स्वास्थ्य मापदण्ड पालनामा गम्भीर बन्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक रूपमै आग्रह गर्दै आएको छ । खोप लगाएर पनि संक्रमित भएकाहरूको मुख्य समस्या ज्वरो वा अन्य रोग देखिएको छ । मधुमेह, रक्तचाप, टन्सिललगायत कोमर्बिडिटीका कारण खोप लगाएकालाई पनि अस्पताल भर्ना गर्नुपर्ने डा. कार्कीले बताए ।

खोप लगाएकामा समेत संक्रमण देखिनुलाई चिकित्सकहरू ‘ब्रेक थ्रु इन्फेक्सन’ का रूपमा बुझ्नुपर्ने बताउँछन् । उनीहरूको भनाइमा यस्तो संक्रमण खोप लगाएको दुई सातापछि देखिन सक्छ । खोप लगाएकाहरूमा देखिने ‘ब्रेक थ्रु इन्फेक्सन’ को असर कम भए पनि अन्य संक्रमणजस्तै यसको ‘साइड इफेक्ट’ भने हुन सक्ने डा. पौडेलले बताए । ‘खोप लिइसके पनि देखिने संक्रमणका लागि मुख्य जिम्मेवार हाल छ्यापछ्याप्ती देखिएको डेल्टा भेरिएन्ट नै हो,’ उनले भने ।

शनिबारसम्म पहिलो डोज ६५ लाख २८ हजार ३ सय ९२ र पूर्ण खोप ६० लाख १४ हजार ९ सय ४१ जनाले लिएका छन् । मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमाथिका लक्षित जनसंख्यामध्ये ३० प्रतिशतले पहिलो र २७.६ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् । शनिबार मात्र २ लाख १६ हजार ७ सय ३२ जनाले खोप लगाए । हालसम्म नेपालमा कोभिडविरुद्घ अस्ट्राजेनेका, भेरोसेल र जान्सेन खोप प्रयोगमा छ ।

प्रकाशित : आश्विन १०, २०७८ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्

‘मैले पढ्नु छ, किनकि म छोरी हुँ’

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनी ७५ वर्षकी थिइन् । भारतमा मात्रै नभएर नेपालसहित दक्षिण एसियाभर उनी महिला आन्दोलनकी प्रतीक थिइन् ।

भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छन् । ‘हाम्री साथी कमला भासिनको आज (शनिबार) बिहान ३ बजे निधन भएको छ,’ श्रीवास्तवले लेखेकी छन्, ‘उनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ । कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाइन् ।’ राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो ।

महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उनले अभियान चलाएकी थिइन् । त्यस्तै ‘क्यों कि मैं लड्की हूँ, मुझे पढ्ना है (किनकि म छोरी हुँ, मैले पढ्नु छ)’ उनको चर्चित कविता हो । भारतको हरेकजसो आन्दोलनमा घन्किने ‘आजादी’ (स्वतन्त्रता) को नारालाई भासिनले नै चर्चित बनाएकी हुन् ।

सन् १९९१ मा कोलकातास्थित जावेदपुर विश्वविद्यालयमा भासिनसहितको महिला समूहले ड्रम बजाएर पुरुष सत्ताबाट स्वतन्त्रता माग्दै नारा लगाएका थिए । त्यसले धेरैलाई आकर्षित गरेको थियो । त्यसपछि भारतमा हुने समानताको आन्दोलनमा त्यो नारा लाग्न थाल्यो । सन् २०१७ मा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी नेता कन्हैया कुमारले पनि त्यही नारा लगाएका थिए । भासिनले नारा, गीत र आफ्नो अकाट्य तर्कका आधारमा दक्षिण एसियामा नारीवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएकी थिइन् । उनको सरल भाषा र सहज स्वभावले आममानिसलाई आकर्षित गर्ने गरेको थियो । उनले गाउँलेदेखि सहरी महिलालाई एक सूत्रमा बाँध्दै त्यसलाई संगठित गरेकी थिइन् ।

भासिन पुरुष सत्ताको स्थानमा महिला सत्ता नभई उनले दुवै पक्षको समानताको विषयलाई उठाउने गर्थिन्, समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको बताउँथिन् ।

महिलालाई विभिन्न प्रलोभनमा पारेर दमन गरिएको उनको तर्क थियो । ‘मध्यम वर्गीय महिलालाई श्रीमान् या घरपरिवारले सम्पत्ति, पैसा, गहना दिएर चुप लगाएको छ । यदि ती परिवारमा श्रीमान्बाट महिला प्रताडित नै भएकी छन् भने पनि आवाज उठाउन हिच्किचाउँछन्,’ उनी बारम्बार भन्ने गर्थिन्, ‘उनीहरूलाई लाग्छ कि खानलाउन र यत्रो गरगहना पुर्‍याइदिएकै छन्, फेरि आफ्नै मान्छेको विरुद्ध के उजुरबाजुर र कचहरी गर्नु ।’

महिला आन्दोलनकी प्रेरणा बनेकी भासिनले आजादीको नारा महिला मुक्तिका लागि मात्रै लगाइनन् । उनले मजदुर, दलित, आदिवासीसहितका शोषित समाजमा रहेको तह र तप्काको मुक्तिका लागि नारा लगाएकी थिइन् ।

महिला स्वतन्त्र नभएसम्म पुरुष पनि स्वतन्त्र हुन नसक्ने उनको धारणा थियो ।

सामाजिक वैज्ञानिकका रूपमा उनी विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय थिइन् । सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन् ।

सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन (एफएओ) मा उनले काम गरेकी थिइन् । सन् २००२ मा उनले राष्ट्रसंघको जागिर छाडेर ‘संगत’ मार्फत विभिन्न अभियान चलाएकी थिइन् । भारतमा जस्तै पाकिस्तानमा पनि भासिन उत्तिकै चर्चित थिइन् । उनी भारतको नारीवादी आन्दोलनमा करिब आधा शताब्दीदेखि सक्रिय रहेकी थिइन् ।

नेपालमा पनि अधिकारकर्मीहरूको भासिनसँग राम्रो सम्बन्ध रहेको थियो । उनीहरूले भासिनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७८ ०६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×