संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

आश्विन १०, २०७८

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा संक्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए । 

संक्रमणका कारण मृत्यु हुनेहरूमा खोप लगाएकाको संख्या पनि निकै कम छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार असोज ७ मा संक्रमणका कारण १३ जनाको मृत्यु भएको थियो । जसमध्ये एक जना पनि खोप लगाएका संक्रमित थिएनन् । ‘कोभिडको दोस्रो लहर उत्कर्षमा पुगेका बेला अस्पतालमा भर्ना हुने अधिकांशले खोप नलगाएका थिए,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका डा. अच्युत कार्कीले भने, ‘हाल वीरमा भर्ना हुन आउने संक्रमितमध्ये करिब ६० प्रतिशत खोप नलगाएका र अरू खोप लगाएका होलान् ।’ 

खोप लगाएकामा संक्रमण छिटो निको हुने देखिएको छ । डा. कार्कीले खोप लगाएकाहरू संक्रमण भए अस्पताल भर्ना हुँदा दुई/तीन दिनमै डिस्चार्ज हुने गरेको बताए । त्यस्ता संक्रमितमा मृत्युदर पनि अत्यन्त न्यून छ । ‘खोप लगाएकामा रोगको जटिलता खासै देखिएको छैन,’ ईडीसीडीका निर्देशकसमेत रहेका मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘देशभरका अस्पतालमा बुझ्दा खोप लगाएकाहरूको मृत्यु नगण्य छ ।’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह खोपले संक्रमण हुनबाट जोगाउन नसके पनि ज्यान बचाउने बताउँछन् । ‘नेपाललगायत विश्वभरमा पूर्ण खोप लगाएकाहरूमा गम्भीर अवस्था र मृत्युको खतरा अत्यन्त न्यून देखिएको छ,’ उनले भने । 

कडा लक्षण नदेखिएसम्म परीक्षण गर्न नजाने भएकाले दैनिक संक्रमितमध्ये खोप लगाएका बढी हुनुपर्नेसमेत विज्ञहरू तर्क गर्छन् । ‘खोप लगाएकामा लक्षणरहित कोभिड देखिने गरिएकामा त हामीले चर्चा नै गरेका छैनौं,’ उनले भने, ‘यति हो, खोपले बिरामीको गम्भीरता कम गर्न सक्छ,’ डा. शाहले भने । संक्रमणको जोखिम रहेकाले खोप लगाएकालाई पनि स्वास्थ्य मापदण्ड पालनामा गम्भीर बन्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक रूपमै आग्रह गर्दै आएको छ । खोप लगाएर पनि संक्रमित भएकाहरूको मुख्य समस्या ज्वरो वा अन्य रोग देखिएको छ । मधुमेह, रक्तचाप, टन्सिललगायत कोमर्बिडिटीका कारण खोप लगाएकालाई पनि अस्पताल भर्ना गर्नुपर्ने डा. कार्कीले बताए । 

खोप लगाएकामा समेत संक्रमण देखिनुलाई चिकित्सकहरू ‘ब्रेक थ्रु इन्फेक्सन’ का रूपमा बुझ्नुपर्ने बताउँछन् । उनीहरूको भनाइमा यस्तो संक्रमण खोप लगाएको दुई सातापछि देखिन सक्छ । खोप लगाएकाहरूमा देखिने ‘ब्रेक थ्रु इन्फेक्सन’ को असर कम भए पनि अन्य संक्रमणजस्तै यसको ‘साइड इफेक्ट’ भने हुन सक्ने डा. पौडेलले बताए । ‘खोप लिइसके पनि देखिने संक्रमणका लागि मुख्य जिम्मेवार हाल छ्यापछ्याप्ती देखिएको डेल्टा भेरिएन्ट नै हो,’ उनले भने । 

शनिबारसम्म पहिलो डोज ६५ लाख २८ हजार ३ सय ९२ र पूर्ण खोप ६० लाख १४ हजार ९ सय ४१ जनाले लिएका छन् । मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमाथिका लक्षित जनसंख्यामध्ये ३० प्रतिशतले पहिलो र २७.६ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् । शनिबार मात्र २ लाख १६ हजार ७ सय ३२ जनाले खोप लगाए । हालसम्म नेपालमा कोभिडविरुद्घ अस्ट्राजेनेका, भेरोसेल र जान्सेन खोप प्रयोगमा छ ।

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully