कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्रमन्त्री खड्का 'साइडलाइन' भेटवार्तामा व्यस्त

खड्काद्वारा यूएनको शान्ति सेनातर्फ यूएन मुख्यालय र स्थलगत रुपमा नेपालको उच्च तहमा सहभागिता बढाउन आग्रह
जगदीश्वर पाण्डे

काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री नारायण खड्का साइडलाइन भेटवार्तामा व्यस्त छन् । परराष्ट्रमन्त्री खड्काले शुक्रबार यूएनको ‘पिस अपरेशन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद नासिर अल–मोहमद अलसवाहसँग भेटवार्ता गरे ।

परराष्ट्रमन्त्री खड्का 'साइडलाइन' भेटवार्तामा व्यस्त

मन्त्री खड्काले यूएनको शान्ति सेनातर्फ यूएन मुख्यालय र स्थलगत रुपमा नेपालको उच्च तहमा सहभागिता बढाउन आग्रह गरेका छन् । साइडलाइन भेटवार्ताको क्रममा उनले लाक्वालाई शान्ति मिसनमा नेपाली सुरक्षा संख्यालाई बढाउन पनि आग्रह गरेका थिए ।

न्यूयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार मन्त्री खड्काले उक्त अवसरमा शान्ति सैनिक पठाउने सम्बन्धमा नेपाल र यूएनले सहकार्य गरेर अहिलेको अवस्थाभन्दा अझै बलियो बनाउँदै लानुपर्ने उल्लेख गरे ।

विश्वमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने सूचीमा बंगलादेशपछि दोस्रो नम्बरमा नेपाल छ । नेपालले हरेक वर्ष करिब १० हजार शान्ति सैनिक पठाउँदै आएको छ । शान्ति मिसनमा नेपालले उत्कृष्ट काम गरे पनि बलियो कूटनीतिक लबिङ र पहुँचका कारण उच्च तहका पदहरुमा नेपाली सुरक्षा अधिकारीहरु पुग्न सकेका छैनन् । मन्त्री खड्काले नेपाली सुरक्षा अधिकारीहरुलाई पनि उच्च तहमा स्थान दिन पहल गरेका हुन् ।

अर्को साइडलाइन वार्तामा खड्काले कुवेतका परराष्ट्रमन्त्री अलसवाहसँग कुराकानी गरे । उक्त भेटमा दुबै मन्त्रीहरुले दुई मुलुकका साझा चासोबारे कुराकानी भएको विज्ञप्तिमा उल्लेख छ । वैदेशिक कामदारको सहयोगबाट व्यापार, पर्यटन र लगानीको भूमिका खेल्ने विषयमा पनि कुराकानी भएको थियो । दुबै मन्त्रीहरुले बाँकी रहेका सम्झौतालाई अघि बढाउनुको साथै नजिक रहेर उच्चस्तरीय भ्रमणको आदान–प्रदानसहित सहकार्य र समन्वयन गरेर काम गर्ने विषयमा सहमति भएको छ । मन्त्री खड्काले सोमबार नेपालको तर्फबाट ७६ औं महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : आश्विन ९, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?