५४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन : निर्वाचन समिति- समाचार - कान्तिपुर समाचार

५४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन : निर्वाचन समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले शनिबार ५४ जिल्लामा पालिका तहको अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेका कारण क्रमशः गर्ने गरी जिल्ला निर्वाचन अधिकृतले नै मिति तोकेका छन् । कतिपय ठाउँमा भने मतदाता नामावली नै तयार नभइसकेका कारण अधिवेशन हुन सकेको छैन । 

केन्द्रीय निर्वाचन समितिले शनिबार ५४ जिल्लामा गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको अधिवेशन सुरु भएको जनाएको छ । समितिका सदस्य एगराज पोखरेलले कतिपय ठाउँमा सहमतिबाटै नेतृत्व चयन भएको र कतिपय ठाउँमा निर्वाचन प्रक्रिया अघि बढेको जानकारी दिए । ‘कहाँ–कहाँ भइसक्यो भन्ने यकिन तथ्यांक तयार भइसकेको छैन । तर, शनिबार ५४ जिल्लामा एकैसाथ पालिका तहको अधिवेशन सुरु भएको छ । आजै नसकिए पनि एक–दुई दिनभित्रै ती ठाउँमा अधिवेशन भइसक्छ,’ पोखरेलले इकान्तिपुरसँग भने ।

शनिबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा भने अधिवेशन हुन सकेन ।

काठमाडौंमा कतिपय वडामा निर्वाचनको अन्तिम परिणाम नै आइनसकेका कारण पालिका तहको अधिवेशन १६ असोजका लागि तोकिएको छ । सिन्धुपाल्चोकमा भने अर्को मिति नतोकिएसम्मका लागि स्थगित छ । केन्द्रीय निर्वाचन समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ । ‘निर्वाचन अधिकृतहरुले परिवेशअनुसार सहमतिबाट मिति तोकेर केन्द्रीय कार्यतालिकामा प्रभाव नपर्ने गरी अधिवेशन गराउँछन् । हामीले यहाँबाट तोकिएको मिति एउटा फ्रेम एरियामात्रै हो,’ निर्वाचन समितिका सदस्य पोखरेलले भने । उनका अनुसार पहाड र तराईका जिल्लामा भने दसैंअघिसम्म पालिका अधिवेशन गराए हुने अवस्था छ । तर, हिमाली जिल्लामा भने १२ गते प्रदेशसभा क्षेत्रस्तरीय अधिवेशन भएकाले त्यो मितिभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्ने दबाब छ । कांग्रेसले हिमाली जिल्लामा दसैं अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने भनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ७५३ वटै स्थानीय तहमा एकैदिन अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेपनि वडा अधिवेशन भइसकेका जिल्लामा समेत अधिवेशन हुन सकेन । अझ १३ जिल्लामा त क्रियाशील सदस्यकै टुंगो लागेको छैन । हिमाली जिल्लामा भने १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ ।

कांग्रेसको आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रकाशित : आश्विन ९, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्

कात्तिकपछि फर्मासिस्ट नियुक्ति प्रक्रिया अघि बढाउँछौं : मन्त्री साह

अवधेशकुमार झा

राजविराज — प्रदेश नम्बर २ का सबै अस्पताल र स्थानीय तहहरुमा आगामी कात्तिक महिनाबाट फर्मासिस्टको नियुक्तिका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाउने भएको छ ।

विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघ सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी कात्तिकदेखि स्वास्थ्य संस्था र स्थानीय तहहरुमा फर्मासिस्ट नियुक्ति प्रक्रिया अघि बढाइने बताएका हुन् । ‘कात्तिकसम्ममा कुन अस्पताल र स्थानीय तहमा फर्मासिस्ट छैन त्यसको विवरण संकलन गरी नभएको स्थानमा नियुक्ति प्रक्रिया अघि बढाइने छ’, मन्त्री साहले भने ।

‘फर्मासिस्टको पढाइ गराउने, डिग्री दिने तर उचित सम्मान र व्यवस्थापन गर्न सकिएको छैन’, मन्त्री साहले भने, 'अब फर्मासिस्टहरुको दरबन्दी रहेका स्थानमा नियुक्ति प्रक्रिया अघि बढाउनुका साथै उचित सम्मानको वातावरणसमेत मिलाइनेछ ।’ तर फर्मासिस्टहरु पनि इमान्दार हुनपर्नेमा मन्त्री साहको जोड छ । ‘बिना चिकित्सकको पुर्जाको औषधि बिक्री वितरण गर्ने कार्य पनि राम्रो होइन त्यसलाई पनि रोक्नुपर्छ ।’

‘जहाँ औषधि कारोबार हुन्छ त्यहाँ फर्मासिस्ट अनिवार्य राखिनुपर्छ’, फार्मेसी संघ सप्तरीका सल्लाहकार तुलानाथ माझीले भने,‘स्थानीय तहमा करारमा कार्यालय सहायकदेखि चालकसम्म राख्न अनिवार्य ठान्छन् तर मानवजीवनसँग जोडिएको औषधिको उचित वितरण र व्यवस्थापनका लागि फर्मासिस्टको नियक्ति आवश्यक ठानिँदैन, यही बिडम्बना छ ।’

‘सरकारले फर्मासिस्टको पढाइमात्र होइन्,अध्ययन पूरा गरेकाहरुलाई रोजगारी पनि दिनुपर्छ’ नेपाल फार्मेसी संघ सप्तरीका अध्यक्ष सुजितकुमार झाले भने,‘एकातिर फर्मासिस्ट पढाइसकेकाहरु बेरोजगार छन् भने अर्कोतर्फ फर्मासिस्टको नियुक्ति हुनुपर्ने स्थानमा दरबन्दी पूर्ति गर्नेतर्फ ध्यान जान सकेको छैन।’ उनले सबै अस्पताल र स्थानीय तहहरुमा फर्मासिस्टहरु नियुक्ति हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : आश्विन ९, २०७८ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×