कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एक पत्रकार, एक अनलाइन !’  नेपालमा कति छन् अनलाइन सञ्चार माध्यम ? 

काठमाडौँ — एक पत्रकार, एक अनलाइन । पछिल्लो दशकमा भएको सञ्चार प्रविधिको विकासले अहिले सञ्चार माध्यमको संख्या यसैगरी थपिएको अवस्था छ । कुन कति विश्वासनीय हुन् ? कति तथ्यपरक सामग्री पस्कन्छन् ? पाठकलाई छुट्याउनै हम्मे पर्छ । सञ्चारमाध्यमको अभिलेखीकरण, अनुगमन र नियमन गर्दै आएको प्रेस काउन्सिलको पछिल्लो प्रतिवेदनले त्यही अवस्था रहेको औंल्याएको छ ।

‘एक पत्रकार, एक अनलाइन !’  नेपालमा कति छन् अनलाइन सञ्चार माध्यम ? 

‘एक जना पत्रकार बराबर एउटा अनलाइन भनेजस्तो अवस्था छ,’ काउन्सिलले आफ्नो ४६ औं वार्षिक प्रतिवेदनमा भनेको छ । नेपालमा अनलाइन सञ्चार माध्यम विकासको त्यति लामो अवधि भने भइसकेको होइन । काउन्सिलले ०७० साल १६ साउनदेखि अनलाइन सञ्चार माध्यम सूचीकरण गर्न थालेको थियो । पछि ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, ०७३’ जारी भएपछि अनलाइन सञ्चार माध्यमहरु सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था गर्‍यो । यो छोटो अवधिमै २ हजार ७ सय ६० वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन् ।

पछिल्लो आर्थिक वर्ष ०७७/७८ मा मात्रै ६२२ वटा अनलाइन सञ्चार माध्यम थपिएका छन् । जसमा प्रदेश नं. १ बाट ४३, प्रदेश नं. २ बाट ३५, वाग्मती प्रदेशमा ३६३, गण्डकी प्रदेशबाट ६४, लुम्बिनी प्रदेशबाट ५७, कर्णाली प्रदेशबाट ३३ र सुदूरपश्चिम प्रदेशबाट २७ वटा अनलाइन दर्ता भएका छन् । त्यसबाहेक दर्ता नै नभई सञ्चालन भएका अनलाइनको तथ्यांक काउन्सिलसँग छैन । काउन्सिलले त्यस्ता सञ्चारमाध्यमहरुको अभिलेखीकरण, सूचीकरण र आचारसंहिता पालना गरे/नगरेको अनुगमन र नियमन गर्दै आएको छ ।

काउन्सिलले सञ्चार माध्यमहरुको विकास भएपनि गुणस्तर खस्किँदै गएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ । ‘संख्यात्मक रूपमा सञ्चार माध्यमहरु तीव्र वृद्धि भए पनि गुणस्तर खस्कँदो छ । राजनीतिक दलका अधिकांश नेता मात्र होइन, सबै क्षेत्रका अगुवाहरुले आफूलाई समर्थन गर्नकालागि एउटा पत्रकारलाई समातेर अनलाइन सञ्चार माध्यम सञ्चालन गराउने परिस्थिति छ,’ काउन्सिलले आफ्नो प्रतिवेदनमा भनेको छ ।

काउन्सिलका अनुसार आर्थिक वर्ष ०७७/७८ सम्ममा दर्ता भएका पत्रपत्रिकाको कुल संख्या ७ हजार ८७४ छ । त्यसमध्ये दैनिक ७४४, अर्धसाप्ताहिक ३९, साप्ताहिक २९५६, पाक्षिक ४७६, मासिक २३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७, वार्षिक ९३ वटा रहेका छन् । तर दर्ता भएका धेरैजसो पत्रपत्रिकाहरु भने कोभिड १९ को प्रभाव र बन्दाबन्दीका कारण प्रकाशनमा छैनन् ।

अनलाइनविरुद्ध उजुरीको चाङ

काउन्सिलको प्रतिवेदनअनुसार पछिल्ला वर्षहरुमा अनलाइन सञ्चार माध्यमविरुद्ध आचारसंहिता उल्लंघनका उजुरीका चाङ लाग्ने गरेका छन् । पछिल्लो वर्षमात्रै ६७८ वटा त्यस्ता आचारसंहिता उल्लंघनका उजुरी छन् । काउन्सिलले आर्थिक वर्ष ०७७/७८ मा ४ वटा सञ्चारमाध्यमलाई त कालोसूचीमै राखेको छ ।

०७७ को साउन १ देखि ०७८ असार ३१ सम्मको अवधिमा १९२ उजुरी, ४७९ स्वअनुगमन र ७ जनगुनासा गरी ६७८ आचारसंहिता उल्लंघनको विवरण अभिलेख भएको काउन्सिलले जनाएको छ । तीमध्ये काउन्सिलले ६३९ वटाको फछ्र्यौट गरिसकेको छ । ३९ वटा प्रक्रियामा छन् । काउन्सिलले पत्रकार आचारसंहिता नियमित अनुगमन गर्ने, आचारसंहितासम्बन्धी उजुरी लिने र आवश्यकताअनुसार कारबाही गर्ने अर्ध–न्यायिक निकायको रुपमा समेत रहेको छ ।

प्रकाशित : आश्विन ९, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?