१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको निधन

काठमाडौँ — चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छिन् ।

चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको निधन

उनले ट्विटरमा भासिनको निधनको पुष्टि गर्दै लेखेकी छिन्, ‘हाम्री साथी कमला भासिनको आज बिहान ३ बजे निधन भएको छ । उनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ । कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाइन् ।’

सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि क्यानसर देखिएको थियो । महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उनले अभियान चलाएकी थिइन् । त्यस्तै ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ उनको चर्चित कविता हो । भासिनले समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको बताउँथिन् ।

महिलालाई विभिन्न प्रलोभनमा पारेर दमन गरिएको उनी बताउँथिन् । उनी बारम्बार भन्ने गर्थिन्, ‘मध्यमवर्गीय महिलाहरूलाई श्रीमान् या घर परिवारले सम्पत्ति, पैसा, गहना दिएर चुप लगाएको छ । यदि ती परिवारमा श्रीमान्बाट महिला प्रताडित नै भएकी छन् भने पनि आवाज उठाउन हिच्किचाउँछन् । उनीहरूलाई लाग्छ कि खान लाउन र यत्रो गरगहना पुर्‍याइदिएकै छन्, फेरि आफ्नै मान्छेको विरुद्ध के उजुर–बाजुर र कचहरी गर्नु ।’

सामाजिक वैज्ञानिकका रुपमा उनी विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय थिइन् । सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन् । सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन(एफएओ) मा उनले काम गरेकी थिइन् । सन् २००२ मा उनले राष्ट्रसंघको जागिर छाडेर ‘संगत’ मार्फत विभिन्न अभियान चलाएकी थिइन् ।

प्रकाशित : आश्विन ९, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?