कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले खोले पनि नाका ठप्प

चाडबाडले छोप्दा पनि नाकामा आवतजावत गर्न सर्वसाधारणलाई उस्तै सकस
प्रदेश ब्युरो

काठमाडौँ — कोरोना संक्रमणका कारण बन्द रहेका सबै नाका खुलाउने सरकारले निर्णय गरे पनि सीमा वारपारमा अझै उस्तै सास्ती व्यहोर्नुपरेको छ । मातहतका निकायमा सरकारको निर्देशन नआएको भन्दै सुरक्षाकर्मीले नाकामा पूर्ववत् व्यवहार गरिरहेका छन् । गत मंगलबार संघीय सरकारले सीमा नाका खुलाउने निर्णय सार्वजनिक गरेलगत्तै ओहोरदोहोर गर्नेको संख्या बढेको छ । तर, शुक्रबारसम्म मालवाहकबाहेक गाडीलाई दुवै मुलुकतर्फ प्रवेश अनुमति दिइएको छैन । 

सरकारले खोले पनि नाका ठप्प

रूपन्देहीको बेलहिया नाकामा शुक्रबार सर्वसाधारणको बाक्लो ओहोरदोहोर थियो । उनीहरू पैदल यहाँबाट भारततर्फ जाने र मुलुक प्रवेश गरिरहेका थिए । मानिस आवतजावत गरिरहे पनि सवारीसाधनमा भने रोक लगाइएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । प्रहरीका अनुसार सानादेखि ठूला कुनै सवारीसाधन आउजाउ गर्ने वातावरण बनेको छैन । भारतीय पर्यटक नेपाल आउने क्रम भने त्यति बाक्लो छैन । उनीहरू आएको खण्डमा प्रशासनको पत्रसहित आउने गरेको प्रहरीको भनाइ छ ।

नाकामा राखिएको स्वास्थ्य जाँच स्थानमा सामूहिक आवागमनलाई प्राथमिकतामै राखी जाँच्ने गरिएको छ । भारतीय नाकाबाट पारि जाने नेपालीका हकमा भने नागरिकताको प्रमाणपत्र हेरी पठाउने गरिएको छ । नाका खोल्न नभई सहजीकरणको अनुमति पाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । ‘पीसीआर रिपोर्ट नेगेटिभ, खोपको डबल डोज लगाएका मानिस पारिदेखि आउने गरेका छन्,’ उनले भने, ‘अन्य मापदण्ड पुरानै रहेको छ ।’ अहिले नै नाका खोलिहाल्ने निर्णय नगरिएको तिवारीले बताए । कपिलवस्तुका नाका पनि सञ्चालनमा आएका छैनन् ।

कृष्णनगर, मर्यादपुर र चाकलचौडाबाट सहज आवतजावत छैन । लुकीचोरी छेउछाउबाट सर्वसाधारण नाका वारपार गरिरहेका छन् । भाडा र निजी सवारीसाधन नाका हुँदै चल्न पाएका छैनन् । ‘जिल्लाबाट कुनै सूचना छैन,’ डंगरी बोर्डर आउट पोस्ट (बीओपी) मर्यादपुरका सशस्त्र प्रहरी निरीक्षक शंकरसिंह सिखले भने, ‘यहाँ पहिले जस्तो थियो, अहिले पनि उस्तै छ ।’ कृष्णनगर नाका मुलुकका १० ठूला भन्सार नाकामध्ये रहेको छ । तर, मालवाहकबाहेक अन्य सवारीसाधन यस नाकाबाट पनि अझ सञ्चाल नभएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए । नाका खोल्ने विषयमा गृहबाट कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको भनाइ छ ।

रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरिरहेका नेपालीलाई स्वास्थ्य मापदण्ड पालना गराउंँदै प्रहरी । तस्बिर : सन्जु पौडेल/कान्तिपुर

सरकारले भारतीय सीमासँग जोडिएको चल्तीका नाकाहरू खोल्ने निर्णय गरेको चार दिनसम्म पनि नेपालगन्ज नाका खुल्न सकेको छैन । स्थानीय प्रशासनले गृह मन्त्रालयबाट सीमा नाकाबारे कुनै निर्देशन नआएको जनाएको छ । सरकारले नाका खोल्ने निर्णय गरेको सुने पनि गृहबाट कुनै मौखिक वा लिखित निर्देशन नआएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । ‘मन्त्रालयबाट निर्देशन नआएसम्म नाका खोल्न मिल्दैन,’ उनले भने ।

नेपालगन्जबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर भारत आउजाउ गर्न भने दिइएको छ । सर्वसाधारणका लागि साइकल, रिक्सा, मोटरसाइकलसमेत चल्न रोक लगाइएको छ । नेपालगन्ज नाका औपचारिक रूपमा नखुले पनि सीमावर्ती भारतीय रूपैडिहा बजार भने नेपालीहरूले खचाखच भरिभराउ हुने गरेको छ ।

चाडपर्व नजिकिँदै जाँदा रूपैडिहा बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्न नेपालीहरूको भीड लाग्ने गरेको हो । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई पूर्ण खत्रीले नेपालगन्ज नाका खोल्नेबारे कुनै जानकारी नआएको बताए ।

‘हामीले मात्र खुलाएर हुन्न’

प्रदेश २ का सीमा नाका पनि पहिलेकै अवस्थामा छन् । माथिल्लो निकायबाट कुनै निर्देशन नआउँदा नाका खुला नगरिएको सशस्त्र प्रहरी प्रदेश २ प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमले बताए । मन्त्रिपरिषद्बाट नाका खोल्ने निर्णय भए पनि कार्यविधिसहितको निर्देशन नआएको उनको भनाइ छ ।

नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सीमामा खटिएका दुवै मुलुकका सुरक्षाकर्मीले माथिको आदेश नआएको भन्दै नाका खोल्न नमानेको बताए । ‘आवश्यक तयारी नगरी नाका खोल्ने निर्णय गर्नु सरकारको कमजोरी हो,’ उनले भने ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले पनि गृह मन्त्रालयबाट स्पष्ट रूपमा नाका खुलाउन कुनै निर्देशन नआएको बताए । ‘हामीले मात्र नाका खुलाएर हुँदैन, भारतीय पक्षसँग पनि समन्वय जरुरी छ,’ उनले भने, ‘नभए हामीले खोले भारतीय पक्षको अवरोध कायमै रहने छ ।’

सप्तरीका नाकामा पनि पैदल वारपार भइरहे पनि यातायातका साधन भने जान दिएको छैन । सशस्त्र प्रहरी बल गण नम्बर ६ का एसपी राजु श्रेष्ठले सरकारको निर्णयबारे पत्रपत्रिकाबाट जानकारी भए पनि औपचारिक निर्देशन आइनसकेको बताए । ‘भारतीय सुरक्षाकर्मी पनि सवारीसाधन रोक्दै छन् । हामीले पनि रोक्दै छौं,’ श्रेष्ठले भने, ‘हेल्थ डेस्क राख्ने निर्देशन आएको छ । एक/दुई दिनमा सबै बीओपीनजिक हेल्थ डेस्क राख्नेछौं ।’ ७८ किलोमिटर सीमा भारतसँग जोडिएको सप्तरीमा साना–ठूला गरी १० वटा नाकाबाट आउजाउ हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सीमा खोल्नेसम्बन्धी निर्देशिका शुक्रबार मात्र आएकाले अध्ययन गरी कार्यान्वयन गरिने बताए ।

भारतीयलाई कडाइ

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका यसअघिदेखि नै खुला छन् । नेपालीलाई आउजाउ गर्न खासै समस्या छैन । तर, भारतीयको हकमा भने ७२ घण्टाभित्रको कोरोना परीक्षण रिपोर्ट र सीसीएमसीको अनलाइन फारम भरेर मात्रै आउन पाउने प्रावधान छ ।

‘हामीलाई कुनै निर्देशन आएको छैन, त्यत्तिकै भारतीय नागरिकलाई कसरी आउन दिने ?’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने । उनले भारतीय नम्बरका सवारीसाधनका हकमा पनि आउन कुनै निर्देशन नआएको बताए । ‘कोरोना संक्रमणभन्दा अगाडि जस्तै आउजाउ गर्न पाइने हो वा स्वास्थ्य मापदण्ड अपनाएर आउन दिने हो,’ सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं गणका एसपी वीरेन्द्र ऐरले भने, ‘यसबारे कुनै निर्देशन वा परिपत्र आएको छैन ।’

सीमा क्षेत्रमा वारिपारि बिहेबारी भएकाहरू आफन्तको दुःखसुखमा सहभागी हुनसमेत निकै समस्या भइरहेको बताउँछन् । ‘कञ्चनपुरका दुवै नाका विगतदेखि नै खुला छन्,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी सिद्धराज न्यौपानेले भने, ‘भारतीयको हकमा केही कडाइ थियो, त्यसबारे केन्द्रबाट कुनै निर्देशन नआई परिवर्तन हुन सकिँदैन ।’ उनले अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै भित्रिन दिइने बताए ।लामो समयदेखि नाका बन्द हुँदा नेपालतर्फको व्यापार व्यवसाय ठप्प हुन पुगेको व्यवसायीहरू बताउँछन् ।

कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले २०७६ चैत ११ देखि सबै नाका बन्द गरेको थियो । ‘यहाँको बजार भारतमै निर्भर हो, हाम्रा उपभोक्ता भारतीय नै हुन्,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने, ‘भारतीय नागरिकलाई नेपाल प्रवेशमा हुने कडाइले यहाँको व्यापार व्यवसायदेखि सबै क्षेत्र प्रभावित हुन पुगेको छ ।’

सरकारले सबै नाका खुलाउने निर्णय गरेसँगै यस क्षेत्रका पर्यटन व्यवसायी हर्षित छन् । तर, सरकारको निर्णय कार्यान्वयन हुन नसकेकामा उनीहरू नाका यथावत् अवस्थामै रहने हो कि भन्ने आशंकामा छन् । ‘सरकारको निर्णय सकारात्मक छ, यसलाई तत्काल कार्यान्वयन गर्नुपर्छ,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘भारतीयहरू आफ्नै सवारीसाधनमा आउन पाए यहाँका पर्यटकीय स्थलहरूमा भीडभाड बढ्छ ।’

-सन्जु पौडेल (लुम्बिनी), मनोज पौडेल (कपिलवस्तु), ठाकुरसिंह थारू (बाँके), अवधेशकुमार झा (सप्तरी), सन्तोष सिंह (धनुषा), ओमप्रकाश ठाकुर (सर्लाही) र भवानी भट्ट (कञ्चनपुर)

प्रकाशित : आश्विन ९, २०७८ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?