कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थापाप्रति दाहालको टिप्पणी- 'सम्झिँदा पनि एलर्जी हुन्छ'

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् ।
काभ्रेमा बिहीबार आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै दाहाले एमालेमा लागेका नेताहरुप्रति उक्त टिप्पणी गरेका हुन् ।

थापाप्रति दाहालको टिप्पणी- 'सम्झिँदा पनि एलर्जी हुन्छ'

दाहालले भने, 'त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त... त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि ! हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।' तत्कालीन नेकपा पुरानै अवस्थामा फर्किएपछि थापा समूह एमालेमा लागेका थिए ।

दाहालले अगाडि भने, 'तल ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेका धेरैजसो छन्,' दाहालले भने, 'मेरो अनुभवले के देखायो भने जल्लाई धेरै मन्त्री बनाएँ त्यही सबभन्दा धेरै भगौडा । त्यही धोकेबाज । कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठानेको त के को हुन्थ्यो ?'

नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा पछिल्लो समय दाहालले राख्दै आएका छन् । उनले आफू पनि बिग्रिएकोले सच्चिन तयार रहेको बताए । 'म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को-को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्,' उनले थपे, 'हिजो जनयुद्धमा हामफालेँ । अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ । कहिले संविधान बनाउनमा हामफालेँ । पार्टी एकतामा हामफालियो । फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ । तपाईं/हामी सबैले यो फटाहाले बिगार्‍यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ ।'

दाहालले बाँकी जीवन समाजवादी क्रान्तिका लागि लड्ने भनाइ पुन: दोहोर्‍याए । 'अब कति वर्ष बाँचिन्छ । ज्यान छोडेर समाजवादी क्रान्तिको निम्ति युवाहरुको नेतृत्व गर्छु म । तपाईं युवाहरुले मलाई साथ दिनपर्‍यो पहिलेजस्तै । मचाहिँ हामफालेँ फालेँ ।'

प्रकाशित : आश्विन ७, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?