कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री राउतको प्रश्न : ‘एउटा प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्णय कुनुपर्ने कस्तो संघीयता ?’

शक्ति बाँडफाँड नहुँदा संघीयताप्रति गुनासो बढ्यो : मुख्यमन्त्री पोखरेल 
दीपक परियार

पोखरा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यतिबेला पोखराको ३ दिने भ्रमणमा छन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणामा उनी बुधबार पोखरा आएका हुन् । उनीसँग प्रदेश २ का पर्यटन व्यवसायी, उद्योगीको टोली छ । भ्रमणको संयोजन भने नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गरेको हो ।

मुख्यमन्त्री राउतको प्रश्न : ‘एउटा प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्णय कुनुपर्ने कस्तो संघीयता ?’

दुई प्रदेशबीच आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नाट्टा गण्डकी प्रदेशले बिहीबार गरेको अन्तरक्रियामा दुई मुख्यमन्त्री सहभागी भए । कार्यक्रममा दुई प्रदेशबीच पर्यटक आदानप्रदानका लागि हुन सक्ने प्रयासबारे सरोकारवालाले अन्तरक्रिया गरे । मुख्यमन्त्री राउतले संघीय सरकार केन्द्रको इकाई नभई आफैमा सार्वभौम सत्ता भएको बताए । उनले अझैं पनि प्रहरी प्रदेश मातहत नआएकोमा असन्तुष्टि व्यक्त गरे ।

‘अहिलेसम्म प्रहरी प्रदेशको मातहतमा भइसक्नुपर्ने हो,’ उनले भने, ‘एउटा प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्णय कुनुपर्ने यो कस्तो संघीयता हो ?’ उनले ट्राफिक प्रहरीले गर्ने आम्दानी प्रदेशमै खर्च गर्न पाउनुपर्ने माग गरे । व्यवस्था बदलिए पनि त्यसभित्र रहेका व्यक्तिको व्यवहार र चरित्र नबदलिँदा संघीयताको सफल कार्यान्वयन नभएको उनको तर्क थियो । ‘कुशासनलाई सुधार्ने अवसर दुई तिहाईको सरकारलाई थियो, त्यसले पनि सुधार गर्न सकेन,’ उनले भने, ‘संरचनामा संघीयता तयार भए पनि मानसिकतामा अझैं तयार भएन ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्रोत र शक्तिको उचित बाँडफाँड नहुँदा जनताले संघीयताप्रति गुनासो गरेको बताए । ‘संघीयता कहाँ छ भनेर पब्लिकले गुनासो गरेजस्तो भइराखेको छ,’ उनले भने, ‘संघीयतालाई अझै हामीले राम्रोसँग बाँडफाँट गर्न सकेका छैनौं । उहाँले प्रहरीको उदाहरण दिनुभयो, वन र स्वास्थ्यको पनि उदाहरण दिन सक्छौं ।’ संघीयता मजबुत हुँदा राष्ट्रियता खतरामा पर्ने नभई संघीयता मजबुत नहुँदा राष्ट्रियता खतरामा पर्ने उनको भनाइ थियो । ‘हामी संघीयताको लागि लड्यौं भन्ने बीचमा पनि स्पष्ट दृष्टिकोण नहुँदा पहिलेकै ५ विकास क्षेत्र ठीक थियो भन्ने तर्क गर्न थालिएको छ,’ उनले भने, ‘संघीयतालाई पालना गर्ने कुरामा हाम्रो मानसिकतामा कमजोरी छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगीलगायत पर्यटनमा आवद्ध संघसंस्थाका प्रतिनिधिले जनकपुर र पोखरा सिधा हवाई सेवा सुरु गर्नुपर्ने र भारतीय पर्यटकलाई आकर्षित गर्ने गरी योजना बनाउनुपर्ने बताएका थिए । बुद्ध एयरले भदौ १६ देखि पोखरा–सिमरा उडान सुरु गरेको थियो । त्यतिबेला गण्डकीका पर्यटन मन्त्री मणिभद्र कँडेल नेतृत्वको टोली प्रदेश नम्बर २ गएको थियो । उडान सुरु भएको अवसरमा प्रदेश २ को टोली पोखरा आएको हो । टोलीले पोखराको विभिन्न स्थानको भ्रमण गरेर शुक्रबार फर्कने छ ।

प्रकाशित : आश्विन ७, २०७८ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?