कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासले बाटो बिर्सेको सिकारीबास

डेढ सय वर्ष पुरानो बस्तीमा राम्रो सडक त छैन नै, बिजुली र स्वास्थ्य चौकी पनि छैन 
शंकर आचार्य

सिकारीबास, पर्सा — उमेरको जीवनको आधा शताब्दी यहीँ बितिसक्यो । ६५ वर्षीया भगियादेवी चौधरीलाई अझै पनि अन्तै कतै बसाइँ जान पाए हुन्थ्यो भन्ने लागिरहन्छ । सिकारीबासमा बुहारी भएर ५० वर्षअघि बस्तीमा भित्रिएकी उनी नाति–नातिनाकी हजुरआमा भइसकेकी छन् । बस्तीमा पाएको दुःखकष्टले आजित छिन् ।

विकासले बाटो बिर्सेको सिकारीबास

‘न बिजुली बत्ती छ, न सडक, न त स्वास्थ्य चौकी । बिरामी परेर अस्पताल जाऊँ भन्दा बाटोमै हात्तीले कुल्चेर मार्ला भन्ने चिन्ता हुन्छ,’ उनले भनिन्, ‘मेरो जीवन त यो अनकन्टार टापुमा दुःख भोगेरै बित्यो, नाति–नातिनाले कष्ट भोग्नु नपरोस् ।’

यस्तो भगियादेवीलाई मात्रै लाग्ने होइन । ५४ घरधुरीमा करिब २ सय ५० जनसंख्याको बसोबास रहेको सिकारीबासका बासिन्दामध्ये धेरैलाई लाग्छ । तर पुरानो थातबास छाडेर हिँड्न सकेका छैनन् । पर्साको ठोरी गाउँपालिका–३ मा पर्ने यो बस्ती चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सिमानामा पर्छ । बस्ती पुग्न वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब ७ किलोमिटर घना जंगल छिचोल्नुपर्छ । जीर्ण बाटोमा प्रायः जंगली हात्ती, बाघ, भालुजस्ता जनावरसँग जम्काभेट हुन्छ ।

गाउँमा ५ कक्षासम्म पढाइने आधारभूत विद्यालय छ । बालबालिकाले त्यसभन्दा माथिल्ला कक्षा पढ्न १४ किलोमिटर परको विजय बस्ती वा घ्याङडाँडा पुग्नुपर्छ । ‘कुनै दिन हाम्रो गाउँमा पनि सडक, बत्ती, खानेपानीको सुविधा होला, हाम्रो दैलोसम्म मोटर गुडेर आउला भनेर मैले पनि आशा गरेको थिएँ,’ स्थानीय ८२ वर्षीय नारायण अर्यालले भने, ‘आसैआसमा जीवन बितिगयो ।’ सिकारीबास पुग्ने साँघुरो कच्ची सडक त छ, तर त्यो बस्तीनजिक नपुग्दैको खोला कटानमा हराएको छ ।

हाल वीरगन्ज–ठोरी हुलाकी सडकमा बजारका रूपमा विकास भएका विजयबस्ती, सुवर्णपुर, ठोरीभन्दा सिकारीबास पुरानो बस्ती रहेको अर्का स्थानीय बासिन्दा भुवन खड्का बताउँछन् । ‘करिब १ सय ५० वर्ष पुरानो कानुनी दस्ताबेजहरूमा सिकारीबास नाम उल्लेख भएको हामीले पाएका छौं । यो बस्ती त्योभन्दा पनि पुरानो हो, यसपछि बसेका बस्तीमा सडक, अस्पताल, विद्यालय, सरकारी कार्यालयलगायतका सुविधा पुगिसके,’ उनले भने, ‘तर यहाँ अझै जंगली युगको एउटा टापु बस्तीझैं जीर्ण र जर्जर नै छ ।’

बस्तीमा एक/एक घर अर्याल र बस्नेत परिवारबाहेक बाँकी सबै थारू समुदाय छन् । अर्याल परिवारका ज्वाइँ खड्का यहाँ खेतीपाती हेरेर बसेका छन् । स्थानीय युवक राजेन्द्र चौधरी बस्तीमा ९९ प्रतिशत घरधुरी सुकुम्बासी रहेको बताउँछन् । ‘अहिले पनि बस्तीका धेरै जनाको नम्बरी जग्गा छैन । सदियौंदेखि बस्दै आएको पुर्ख्यौली घडेरी पनि हामीले सुकुम्बासीको हैसियतले भोगचलन गरी आएका छौं,’ उनले भने, ‘हामीलाई यही घडेरी निल्नु न ओकल्नु भएको छ । आफ्नै जग्गामा सुकुम्बासी बनेर बस्नुपरेको छ, आवश्यक पर्दा बेचबिखन गर्न पाइँदैन ।’ गाउँमा करिब एक सय बिघा खेत भने बाहिरका ‘ठूलाबडा’ को हो ।

‘हामी यी खेत अँधियामा जोत्छौं, खेत पनि बाहिरबाहिरै बेचबिखन हुन्छ,’ उनले भने, ‘बेचबिखन भएपछि नयाँ जग्गाधनी अबदेखि मलाई बाली दिनुपर्‍यो भनेर हामीलाई भेट्न आइपुग्छन् ।’ हात्ती, बँदेल, हरिण, चित्तललगायतका वन्यजन्तुले त्यही बाली पनि नष्ट गरेर हैरान पार्ने गरेको चौधरी बताउँछन् । ‘हामीले बर्सेनि लगाएकोमध्ये शतप्रतिशत बाली भित्र्याउन पाउँदैनौं । ४० प्रतिशत जति त वन्यजन्तुले नष्ट गर्छन्, बाँकी रहेको बालीबाट जग्गाधनीलाई आधा दिनुपर्छ,’ उनले भने ।

विगतमा कुलो र खोलाको धमिलो पानी पिउँदै आएका स्थानीयले ३ वर्षअघि अमवा जिउरवा खोलामा बाँध बनाएर आधा दर्जन पाइपका धारा तानेका छन् । वर्षायाममा धाराबाट धमिलो पानी आउँछ । हात्तीलगायतका वन्यजन्तुले बेलाबेलामा त्यही पाइप पनि नष्ट गरिदिन्छन् । बस्तीबाट अहिलेसम्म एक जनाले नेपाल प्रहरी र दुई जनाले शिक्षिका भएर सरकारी सेवामा प्रवेश पाएका छन् ।

केही वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । गाउँका अन्य मजदुरी गर्न दैनिक रूपमा बाहिरतिर जान्छन् । पूरै बस्तीमै एउटा पनि पक्की घर छैन । गाउँको विद्यालय २०३३ सालमा स्थापना भए पनि हालसम्म ५ कक्षामाथि उक्लन सकेको छैन । राजा महेन्द्र तराईको जंगलमा सिकार गर्न आएका बेला यो बस्तीमा बास बस्ने गरेको स्थानीयको भनाइ छ ।

त्यतिबेलै उनले बक्सिसका रूपमा केही व्यक्तिलाई बस्तीको धेरै खेत दिएका थिए । अझै पनि बस्तीको अधिकांश खेत केही व्यक्तिहरूको नम्बरी जग्गाकै रूपमा छ । गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले दुई वर्षअघि नै होमस्टे बनाएर सिकारीबासमा पर्यटनको विकासका लागि पहल गर्ने योजना बनाए पनि कोरोनाका कारण सुरुआत गर्न नसकिएको बताए । ‘दुई निकुञ्जबीचको गाउँ भएकाले पर्यटनको सम्भावना राम्रो देखेरै होमस्टेका रूपमा विकास गर्ने योजना थियो,’ उनले भने, ‘कोरोनालगायतका समस्याले केही गर्न सकिएको छैन ।’

प्रकाशित : आश्विन ७, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?