प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेट - समाचार - कान्तिपुर समाचार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेट 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा बुधबार प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेट भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

प्रधानसेनापति शर्मा र राजदूत यान्छीको भेटमा दुई देशको आपसी हितबारे छलफल भएको निर्देशनालयले जनाएको छ । 'प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो,' निर्देशनालयले भेटबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले लिएको छ ।'

प्रधानसेनापतिमा शर्मा भदौ २४ गते नियुक्त भएका थिए । प्रधानसेनापति नियुक्त भएपछि चिनियाँ राजदूतले पहिलोपटक शर्मासँग भेट गरेकी हुन् ।

प्रकाशित : आश्विन ६, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल-नारायणगढ सडकको खाल्डो कालोपत्रे

नारायण शर्मा

पूर्वी नवलपरासी — सडक फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले बुटवल-नारायणगढ सडक खण्डका खाल्डामा कालोपत्रे सुरु गरेको छ । १ सय १४ किलोमिटर सडक फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुईदिन अघिबाट सडकमा विभिन्‍न १५ स्थानमा खाल्डा पुर्दै कालोपत्रेको काम थालेको हो ।

सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार ठेकेदार कम्पनीले दसैं अघि हिँड्न मिल्ने बनाउने गरी काम थालेको जानकारी दिए । पहिलो चरणमा मुख्य बजारका खाल्डामा कालोपत्रे गर्ने काम सुरु गरेको हो । राजमार्गका विभिन्न १५ स्‍थानमा खाल्डा पुर्नका लागि काम थालिएको हो ।

चिनियाँ सरकारको स्वामित्व रहेको उक्त कम्पनीले राजमार्गका खाल्डा पर्ने र धुलो रहित बनाउनुपर्ने सम्झौतामा उल्लेख भएपनि २ वर्ष अघिदेखि खाल्डा पुर्ने काम थालेको थिएन ।

दसैं अघिबाटै राजमार्गका दुवै किनारका बिजुलीका पोल सार्ने पनि ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको इन्जिनियर आचार्यले जानकारी दिए ।

बुटवल-नारायणगढ सडकखण्डको १ सय १४ किलोमिटर सडक फराकिलो पार्न १७ अर्बमा ठेक्का लिएको कम्पनीले ३ वर्षको अवधिमा ८ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×