कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । बुधबार बिहान प्रधानमन्त्री देउवाले कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त

प्रधानमन्त्री देउवाको सिफारिसमा खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको नियुक्त गरिएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा जनाइएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने पनि प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसैबीच मन्त्री नियुक्तिमा देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ । अहिलेसम्म कांग्रेसबाट मन्त्री बनेका सबैजना देउवानिकट मानिन्छन् ।

देउवाले मन्त्रिपरिषद् विस्तार र पार्टीको आगामी महाधिवेशनका बारेमा छलफल गर्न भन्दै बुधबार दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् । तर पदाधिकारी बैठकअघि नै खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले पदाधिकारी बैठकअघि नै खड्कालाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थपेका हुन् तर सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका हुन् । मन्त्रिपरिषद्ले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने निर्णय गरेपछि मन्त्रीको टुंगो लागेको हो ।


प्रकाशित : आश्विन ६, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?