कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १२ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले ५ वर्षयता विभिन्न समयमा केपी शर्मा ओली सरकारबाट राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यी राजदूत ओलीको पहिलो र दोस्रो कार्यकालमा नियुक्त भएका हुन् ।

गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै अब विदेशमा रहेका २३ स्थानमा राजदूत पद रिक्त भएका छन् । फिर्ता बोलाइएका १२ राजदूतबाहेक विभिन्न मुलुकमा ११ दूतावास नेतृत्वविहीन छन् भने परराष्ट्रको नेतृत्व गरेर १० मुलुकमा कूटनीतिक राजदूतहरू छन् । तत्कालीन ओली सरकारले ११ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा गरेको सिफारिसलाई गठबन्धन सरकार बनेको केही दिनमै देउवा सरकारले खारेज गरेको थियो ।

सरकारको यो निर्णयसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका राजदूत निर्मल विश्वकर्माले एक वर्ष पनि आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । ओली सरकारको कार्यकालमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वअर्थमन्त्री खतिवडालाई २०७७ पुस ७ गते, पूर्वमुख्यसचिव रेग्मीलाई माघ ५ गते र विश्वकर्मालाई फागुन ११ गते राजदूत नियुक्त गरेकी थिइन् । २०७७ वैशाख ५ गते चीनका लागि पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे नियुक्त भएका थिए । पूर्वमुख्यसचिव लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाइएको थियो ।

भारतका लागि नीलाम्बर आचार्य २०७५ माघ २० गते नियुक्त भएका थिए । आचार्यसहित ओली सरकारले इजरायलका लागि अन्जान शाक्य, स्पेनका लागि दावा फुटी शेर्पा, बंगलादेशका लागि वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतमा पठाएको थियो ।

ओली सरकारको पालामा चारवर्षे कार्यकाल सकिए पनि अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निर्णय गरेर जापानको राजदूतका रूपमा काम गरिरहेकी प्रतिभा राणालाई पनि सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । उनी प्रधानमन्त्री देउवाकी सासू हुन् । राणा र ओमानकी राजदूत शर्मिला पराजुली २०७४ वैशाखमा राजदूत नियुक्त भएका थिए । दुवैलाई ओली सरकारले अर्को व्यवस्था नभएसम्म काम गरिरहन २०७७ चैतमा निर्णय गरेको थियो । दुवैको २०७८ वैशाखमा ४ वर्षे कार्यकाल सकिएको थियो ।

राजनीतिक सिफारिसबाट नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गलत भएको पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । ‘यो प्रतिरोधका रूपमा निर्णय भएको देखिन्छ । यसले तत्कालीन सरकार र पार्टी (एमाले) लाई के नै फरक पर्छ,’ उनले कान्तिपुरसँग भने ।

फिर्ता बोलाइएका १२ राजदू

  • नीलाम्बर आचार्य (भारत)
  • युवराज खतिवडा (अमेरिका)
  • शर्मिला पराजुली (ओमान)
  • लोकदर्शन रेग्मी (बेलायत)
  • निर्मल विश्वकर्मा (द.अफ्रिका)
  • अन्जान शाक्य (इजरायल)
  • दावा फुटी शेर्पा (स्पेन)
  • वंशीधर मिश्र (बंगलादेश)
  • उदयराज पाण्डे (मलेसिया)
  • नारदनाथ भारद्वाज (कतार)
  • महेन्द्रबहादुर पाण्डे (चीन)
  • प्रतिभा राणा (जापान)

प्रकाशित : आश्विन ६, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?