हामी अतिथि होइन, रैथाने लोकतन्‍त्रवादी हौं : ओली- समाचार - कान्तिपुर समाचार

हामी अतिथि होइन, रैथाने लोकतन्‍त्रवादी हौं : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु पावर केन्द्रित गर्छन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतशार्दुल’ विमोचन समारोहमा कांग्रेस नेता दमननाथ ढुंगानाले कम्युनिष्टहरुले लोकतन्त्र नचाहेको र केन्द्रीकृत शासनको पक्षपात गर्न खोजेको आरोप लगाएपछि जवाफमा ओलीले कम्युनिष्टहरु केन्द्रीकृत शासन गर्छन् भन्ने कुरामा भ्रम नपाल्न आग्रह गरे । 

‘कम्युनिष्टहरु चाँहि दमनकारी हुन्छन्, त्यहीकारण फाटो हुन्छ भन्ने कुरा गर्नुभयो । फाटो स्वार्थमा केन्द्रीत हुने, देश र जनताको स्वार्थमा ध्यान नदिने भयो भने हुन्छ,’ ओलीले भने, ‘यो एउटा भ्रम हो, यस्तोमा नफस्नुहोला ।’

ओलीले नेकपा एमाले रैथाने लोकतन्त्रवादी भएको दाबी गरे । ‘लोकतन्त्रका लागि कांग्रेसका कुनै नेताले भन्दा हामीले कम योगदान गरेको छैन । फेरि मैले कांग्रेसले कम गरेको छ पनि भनेको छैन,’ ओलीले भने, ‘प्रजातन्त्र अरुले ल्याइदिएको होइन, अरुले ल्याइदिएको प्रजातन्त्र हामीले स्वीकारमात्रै गरेको पनि होइन । हामीले रगत पसिना बगाएर स्थापना गरेको प्रजातन्त्र हो । हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं ।’

उनले अहिले नेकपा एमालेले अपनाएको लोकतान्त्रिक पद्धति र संस्कार सबैभन्दा उत्तम भएको दाबी गरे । ‘नेपालको लोकतन्त्रलाई आकार दिने कुरामा नेकपा एमालेले जुन प्रारुप अघि सारेको छ, त्यो प्रारुप, त्यो खाका अहिलेलाई कसैसँग पनि छैन, चाहे त्यो कांग्रेस होस् वा अरु, हामीले अघि सारेको जस्तो प्रारुप कोहीसँग छैन । किनभने हामी जनताको जनवादबाट निर्देशित छौं । बहुदलीय स्वस्थ प्रतिस्पर्धात्मक प्रणाली हामी मान्छौं,’ ओलीले भने ।

प्रकाशित : आश्विन ५, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभा : संसद् अवरोध गरिरहेको एमालेले मत विभाजनमा भाग लियो 

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष एमाले विनियोजन विधेयकमाथिको मत विभाजनमा भाग लिएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गरिएको मत विभाजनमा एमालेले भाग लिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाका पास भइ सन्देशसहित पेस गरेको विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत भएको उक्त प्रस्तावको पक्षमा सत्तारुढ दलका सांसदहरूले मत जाहेर गरेका थिए ।

एमालेबाट निर्वाचित माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारबाही गरेको र सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त भएको सूचना टाँस नगरेको भन्दै राष्ट्रिय सभाको दशौं अधिवेशनको पहिलो दिन भदौ २३ गतेदेखि संसद् एमालेले संसद् अवरुद्ध गरिरहेको छ ।

सोही विषयलाई लिएर एमालेले राष्ट्रियसभामा सभामुख सापकोटाको राजीनामा मागसमेत गरेको थियो । संसद्का कुनै पनि प्रक्रियामा भाग नलिइरहेको र कारबाही अगाडि नबढाउन भनिरहेको अवस्थामा चलेको संसद्‌मा एमालेले मतविभाजनमा भाग लिएको हो ।

राष्ट्रिय सभा अध्यक्षले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा हुने सांसदहरूले ‘हुन्न’ र पक्षमा हुने सांसदहरूले ‘हुन्छ’ भन्न निर्देशन दिएका थिए ।

जसमा एमालेका सांसदले ‘हुन्न’ भन्दै हात उठाएका हुन् । त्यसमा अग्रसरता राष्ट्रिय सभामा प्रतिपक्षी दल एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सुरुमा हात उठाएर ‘हुन्न’ भनेका थिए । त्यसपछि अरु सांसदहरूले पनि हुन्न भन्दै हात उठाएका थिए ।

भट्टराईले प्रतिपक्षमा अभ्यस्त भइनसकेकाले भूलवस संसद्को प्रक्रियामा भाग लिन पुगिएको बताए । उनले भने, ‘मत विभाजनमा भाग लिने योजना थिएन । तर ‘हुन्न’ भनियो ।’

यस्तो किन हुन गयो भन्नेबारे भट्टराईको भनाइ थियो, ‘हामी लामो समयसम्म प्रतिपक्षको भूमिकामा थिएनौं । अलि थाहा छैन नि त । बाइमिस्टेक भयो ।’

‘हुन्छ’ र ’हुन्न’ भन्ने संसदीय प्रक्रियामा भाग लिँदै आएको तर आफैले विरोध गरिरहेको अवस्थामा भाग लिन हुन्न भन्ने थाहा नभएको उनले बताए । उनले थपे, ‘प्रतिपक्षमा अभ्यस्त भइसकिएको छैन नि त !’

एमालेले विपक्षमा मत जाहेर गरे पनि राष्ट्रिय सभाबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक असोज ७ गते २ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×