कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संखुवासभा घटना : अघिल्लै दिन बनेको थियो हत्या योजना

प्रहरीले पत्ता लगाए मानसिक रोगको औषधि खाइरहेका लोकबहादुर एक्लैले जिम्मा लिने र जेल जानेबारे पनि सल्लाह भएको खुलासा
दीपेन्द्र शाक्य

संखुवासभा — मादी नगरपालिका–१ उमलिङस्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या घटनाबारे थप रहस्य खुल्दै गएको छ । भदौ २१ मा भएको सामूहिक हत्या आफन्तले नै नियोजित रूपमा गरेको प्रहरी अनुसन्धानले देखाएको हो । घटनामा संलग्न आरोपमा पक्राउ गरिएका थप चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । 

संखुवासभा घटना : अघिल्लै दिन बनेको थियो हत्या योजना

मुख्य योजनाकार भनिएका ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर, मुख्य अभियुक्तका रूपमा यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका ४९ वर्षीय बाबु रणबहादुर र लोकबहादुरका कान्छा भाइ १७ वर्षीय नरेशलाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा ५ जनाको संलग्नता रहेको र लोकबहादुरको घरमा अघिल्लो दिन योजना बनाइएको प्रहरीले जनाएको छ ।

२१ गते बिहान तेजकुमार खेताला बोलाउन लोकबहादुरको घरमा आउने भएकाले त्यही मौका छोपेर हत्या गर्ने योजना उनीहरूले बनाएको प्रहरीले जनाएको छ । खड्गबहादुर, हस्तबहादुर र लोकबहादुरबीच हत्याबारे कसैलाई केही नबताउनेसम्मको सहमति बनेको थियो । मानसिक रोगको औषधि खाइरहेकाले लोकबहादुर एक्लैले जिम्मा लिने र प्रहरीले पत्ता लगाए जेल जाने विषयमा पनि उनीहरूबीच सहमति भएको थियो ।

‘योजनाअनुसार लोकबहादुरले तेजकुमारलाई चिर्पटले हिर्काएका थिए,’ अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले भने, ‘तेजकुमार चिच्याएपछि घरबाहिर निस्केका सबैलाई पालैपालो चिर्पट र अलैंची काट्ने छुराले हानेर हत्या गरेको पाइयो ।’ हत्यापछि उनीहरूले तेजकुमारको घरमा भएको धनमालसमेत लुट्ने योजना बनाएका थिए ।

तेजकुमारको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेशसमेत खेताला जाने दुई दिनअघि नै निश्चित भएको थियो । ‘तेजकुमार भदौ २१ को बिहान ५ बजे उठेर लोकबहादुरको घरमा पुगेछन्,’ दाहालले भने, ‘सुतिरहेका लोकबहादुरलाई अल्छी अझैसम्म उठेको छैनस् भन्दै कराएपछि उनी उठेका थिए ।’ भाइ नरेश, बाबु रणबहादुर पनि घरमै थिए । घरबाट फर्कने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इसारा गरी आफूले चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछिपछि गए । घरपछाडिको गोगनको रूखनजिक तेजकुमारको टाउकोमा प्रहार गरेको, खड्गबहादुर र हस्तबहादुरले पनि आक्रमण गरेको खुलेको दाहालले बताए ।

आक्रमणपछि तेजकुमार ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै चिच्याएका थिए । त्यही बेला दगुर्दै आइपुगेका श्रीमती र बुहारीलाई पनि उनीहरूले उम्किन दिएनन् । श्रीमती कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेलेर खोल्सामा झारेको प्रहरीलाई बयान दिएका छन् । कमलाको शव भएको स्थानमा रञ्जनाको शव लैजान रणबहादुर र नरेशले सघाएका थिए । घटनाका बेला तेजकुमारका नाति विपीन भनिने दीपेन र नातिनी गोमा घरनजिक बाटोमा आएपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेकेका थिए । त्यसपछि मुख थुनेर लोकबहादुरले चिर्पटले हिर्काए र घाँटी बटारेर हत्या गरे ।

५ जनाको हत्यापछि अभियुक्तहरू घर पुगेर तेजकुमारकी ८४ वर्षीया आमा पार्वतीको पनि हत्या गरेका थिए । घटनामा प्रयोग गरेको चिर्पट अँगेनामा डढाएको, रगत लतपतिएको कपडा र छुरी घरैमा लुकाएको पाइएको प्रहरीको भनाइ छ । फर्कने क्रममा नरेशले लिएको रञ्जनाको मोबाइल प्रहरीले बिहीबार फेला पारेको थियो । थप प्रमाण भेटिएपछि संघीय इकाइ प्रहरी कार्यालय धरानका एसपी दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरेको थियो ।

घटनामा अन्यको समेत संलग्नताको आशंका प्रहरीले गरेको थियो । लोकबहादुरलाई सार्वजनिक गरेकै दिन एसपी दाहाल, प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवरसहितको अनुसन्धान टोली घटनास्थलबाट फर्किएको थियो । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली भने घटनास्थलमै थियो ।

अभियुक्तमध्ये खड्गबहादुर सधैं रक्सी खान्थे । परिवारका सदस्यहरूलाई कुटपिट गालीगलौज गर्थे । तेजकुमारले ‘तँ जँड्याहा किन यसो गर्छस् ?’ भन्दै बेलाबेला सम्झाउन गाली गर्थे भने खड्गबहादुरले ‘तँलाई के मतलब, तँलाई मार्छु’ भन्दै झगडा गर्थे । तेजकुमारले लोकबहादुरलाई ‘पागल, अल्छे, केही काम गर्न नसक्ने’ भन्ने गरेको र नरेशलाई ‘डुँडे काम नलाग्ने भइस्’ भन्दै हप्काउने गरेको स्थानीय बताउँछन् । रणबहादुरलाई पनि ‘लठेब्रो केही गर्न सक्दैनस्’ भन्दै गाली गर्ने भएकाले पहिलेदेखिकै ईखका कारण घटना भएको हुन सक्ने एक अनुसन्धान अधिकृतले बताए ।

प्रकाशित : आश्विन ५, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?