हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण भइरहेको छ : दाहाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण भइरहेको छ : दाहाल

‘जनताको चाहनाअनुसार नचल्ने हो भने पार्टी चलाएर के काम ?’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेतामा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको उनको भनाइ थियो । उनले समाजको विकास र न्यायका निम्ति पनि पार्टी र आफूहरुमा रुपान्तरण देखिनुपर्ने बताए ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको आरोप लगाएको बताए । नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको उनको आरोप थियो ।

थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने उनको दाबी थियो । माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने उनको भनाइ थियो ।

‘समाजवादी क्रान्ति अघि बढाउनका लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन,’ उनले भने, ‘जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो, तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भनेर चिनिनु पर्ने ठाउँमा चिनिदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मिहेनत गर्‍यौँ भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’

अध्यक्ष दाहालले अब फेरि एकपटक सम्पूर्ण कम्युनिस्टहरुले सोच्नुपर्ने बेला आएको बताए ।

प्रकाशित : आश्विन ४, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा ६ महिनामा तीन सीडीओ फेरिए

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीमा ६ महिनामा तीन जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । जिल्लाको वस्तुस्थिति बुझ्नै नपाउँदै प्रजिअ फेरिँदा शान्ति सुरक्षाको अवस्था फितलो छ । प्रशासन र अन्य सरकारी निकायबीच समन्वयमा अन्योल देखिएको छ । प्रशासनका काम पनि प्रभावित भएका छन् ।

सप्तरीमा ९ महिनाको कार्यकाल सकाएर २०७७ जेठ २० मा प्रजिअ सुनिल खनालको सरुवा भएको थियो । त्यसपछि आएका प्रजिअहरूको केही महिनाकै अवधिमा सरुवा भएको हो । खनालपछि २०७७ साल चैत १ गते प्रजिअमा फणिन्द्रमणि पोखरेल आए । उनको साढे ३ महिनामै सरुवा भयो । २०७८ असार १३ गते गृह मन्त्रालयमा सरुवा भएका पोखरेल अहिले मन्त्रालयका प्रवक्ता छन् ।

पोखरेलपछि २०७८ असार १४ मा नयाँ प्रजिअका रूपमा जयनारायण आचार्य आए । जिल्लाको अवस्था राम्ररी बुझ्न नपाउँदै उनको पनि गृह मन्त्रालयमै सरुवा भयो । आचार्य भदौ २१ गते सरुवा भएर गएका छन् । आचार्यपछि भदौ २३ देखि नयाँ प्रजिअ जनार्दन गौतम आएका छन् ।

निजामती सेवा ऐन र नियमावली विपरीत सप्तरीमा प्रजिअको सरुवा भइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले बताए । ‘ऐन नियमावलीविपरीत अहिले सप्तरीमा प्रजिअको सरुवा भइरहेको छ,’ अध्यक्ष झाले भने, ‘आएका प्रजिअहरू काम थाल्छन् । कामले गति नलिँदै सरुवा हुन्छन् । यसले समग्र जिल्लाको सेवाप्रवाहदेखि शान्ति सुरक्षासम्ममा असर पर्छ ।’ उनले प्रजिअ टिक्न सके सरकारी सेवाप्रवाहलाई चुस्तदुरुस्त हुने बताए ।

प्रजिअहरूले नै राजनीतिक नेतृत्वसमक्ष लबिइङ गरेर सरुवाको माग गर्दा जिल्लामा प्रजिअहरू नटिकेको कर्मचारीहरू बताउँछन् । नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले प्रजिअ नटिक्दा सेवाग्राहीको काममा ढिलाइ भएको बताए । ‘प्रजिअको सरुवाको लहर हेर्दा सरकारले नै निजामती ऐन नियमको खिल्ली उडाएको देखिन्छ,’ उनले भने । लगातार प्रजिअको सरुवाले जिल्ला प्रसासन कार्यालयको कामकाज मात्र होइन, समग्र जिल्लाकै सुशासनमा समस्या सिर्जना भइरहेको यादवको भनाइ छ ।

प्रकाशित : आश्विन ४, २०७८ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×