खाडीमा कामदार : न कार्यस्थल सुरक्षित, न बासस्थान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाडीमा कामदार : न कार्यस्थल सुरक्षित, न बासस्थान

पेसागत सुरक्षा र स्वास्थ्योपचार अभावमा खाडी र मलेसियामा मात्रै प्रत्येक वर्ष कम्तीमा एक हजार नेपाली श्रमिकले ज्यान गुमाइरहेका छन्
होम कार्की

काठमाडौँ — यमबहादुर कटुवाल र सुकलाल राजवंशी भदौ २३ मा कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–२ को १० मिटरमुनि भूमिगत पाइप मर्मत गर्दै थिए । एक्कासि बालुवाको थुप्रो खस्दा उनीहरू खाल्डोमा पुरिए । आपत्कालीन अवस्थामा कसरी बाहिर निस्कने भनेर त्यहाँ बन्दोबस्तीका साधन राखिएको थिएन ।

तुरुन्तै उद्धार हुन नसक्दा झापाका कटुवाल र राजवंशीको कार्यस्थलमै ज्यान गयो । पुरिएका रोल्पाका सर्वजित महरालाई भने जसोतसो उद्धार गरियो ।

कुवेतमा २०७६ माघ २९ मा पनि यस्तै घटना भएको थियो । मुत्ला हाउजिङ कम्पनीका तर्फबाट भूमिगत पाइप राख्ने क्रममा बालुवामा पुरिँदा ६ जना नेपालीले ज्यान गुमाए । कुवेतले औपचारिक रूपमै घटना सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता नेपालसामु राखेको थियो तर समितिले केकस्तो प्रतिवेदन तयार पार्‍यो वा पारेन सार्वजनिक गरिएन ।

‘जोखिमयुक्त ठाउँमा पर्याप्त सुरक्षा प्रबन्धबिना काममा लगाउँदा पटकपटक यस्ता घटना दोहोरिइरहेका छन्,’ कुवेतस्थित नेपाली दूतावासका एक अधिकारीले कान्तिपुरसँग भने, ‘विशेषगरी निर्माण क्षेत्रमा सुरक्षालाई प्राथमिकता दिन दूतावासका तर्फबाट सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छौं ।’

कार्यस्थलमा मात्रै होइन श्रमिकका बासस्थान पनि सुरक्षित छैनन् । एक वर्षअघि कुवेतको महाबुल्लामा भएको दुर्घटनाले यसलाई पुष्टि गर्छ । त्यहाँस्थित श्रमिक राखिएको एउटा भवनमा आगलागी हुँदा सर्लाहीका विजय बैठा, अप्सरा कामी र गौरी दर्जीको जलेर ज्यान गयो । बैठा क्लिनर थिए भने अप्सरा र गौरी घरेलु श्रमिक ।

यस्ता घटनाले नेपाली श्रमिकको सुरक्षित कार्यस्थल, बासस्थान र पेसागत स्वास्थ्य सुरक्षाका सम्बन्धमा गम्भीर प्रश्न उठ्ने गरे पनि तिनको सम्बोधन हुन सकेको छैन । वैदेशिक रोजगार बोर्डका अनुसार पेसागत सुरक्षा र स्वास्थ्योपचारको अभाव हुँदा प्रत्येक वर्ष कम्तीमा एक हजार नेपाली श्रमिक खाडी र मलेसियामा मात्रै ज्यान गुमाइरहेका छन् । तर, के–कति कारण श्रमिकको ज्यान गइरहेको छ भन्ने यकिन तथ्यांक नेपालसँग छैन ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार संसारभर प्रत्येक वर्ष २० लाख श्रमिकको कामका क्रममा उत्पन्न रोग र दुर्घटनाबाट ज्यान गइरहेको छ । डब्लूएचओ र आईएलओले सन् २००० देखि २०१६ सम्म संसारभर निगरानी गरी कामजन्य रोग र चोटपटकबाट मृत्यु हुनेको संख्या सार्वजनिक गरेको हो । सबैभन्दा बढी मृत्यु श्वासप्रश्वास र मुटु रोगबाट भइरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै झन्डै ८१ प्रतिशत मृत्यु नसर्ने रोगबाट भइरहेको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये श्वासप्रश्वाससम्बन्धी रोगबाट ४ लाख ५० हजार, पक्षघातबाट चार लाख, मुटुसम्बन्धी रोगबाट ३ लाख ५० हजार र पेसागत दुर्घटनाबाट ३ लाख ६० हजार जनाको मृत्यु भएको छ ।

बर्सेनि यति धेरै श्रमिकको मृत्यु हुने गरेकोमा गम्भीर चिन्ता प्रकट गर्दै डब्लूएचओले श्रमिकलाई ‘आफ्नै कामले मारिरहेको’ जनाएको छ । ‘धेरैभन्दा धेरै श्रमिकलाई आफ्नै कामले मारिरहेको देख्दा हामी निराश छौं,’ डब्लूएचओका महानिर्देशक डा. टेड्रोस

एड्हानोमले विज्ञप्तिमार्फत भनेका छन्, ‘हाम्रो रिपोर्टले देश र व्यापारीहरूलाई पेसागत स्वास्थ्य तथा सुरक्षा सेवाको विश्वव्यापी मान्यताअनुसार आफ्ना श्रमिकलाई स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न झकझक्याएको छ ।’

नेपाली दूतावासहरूका अनुसार खाडी तथा मलेसियामा झन्डै ४० प्रतिशत नेपाली श्रमिकको श्वासप्रश्वास र मुटुजन्य रोगबाट मात्रै ज्यान जाने गरेको छ । त्यसबाहेक आत्महत्याबाट २० प्रतिशत, सडक दुर्घटनाबाट २० प्रतिशत, पेसागत दुर्घटनाबाट १० र अन्यबाट १० प्रतिशत नेपालीले मृत्युवरण गरिरहेका छन् । ११ वर्षसम्म कतारमा रहेका नेपाली चिकित्सक डा. नरेन्द्र शाक्यका अनुसार अधिकांश नेपाली श्रमिक उच्च रक्तचापबाट पीडित छन् ।

‘रक्तचाप २३०/१३० सम्म भेटिन्छ । मृत्युको मुख्य कारण नै उच्च रक्तचाप हो । त्यसपछि सुगर, अल्सर, मिर्गौला फेल, श्वासप्रश्वाससम्बन्धी रोग, रुघाखोकी, नाकघाट र निमोनियाबाट ग्रसित कामदारहरू आउँछन्,’ उनले भने, ‘यी रोगहरू कामको प्रकृति, खानापान र बसोबाससँग सम्बन्धित हुन् ।’

शाक्यसँग २००९–२०२० सम्म कतारको अल्खोरस्थित एउटा स्वास्थ्य क्लिनिकमा काम गरेको अनुभव छ । उनले क्लिनिकमा दैनिक ४० जना नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेको बताए । ‘खाडीमा श्रमिकले एकै दिन दुईखालको वातावरणको सामना गरिरहेका हुन्छन् । बाहिरको प्राकृतिक वातावरण तातो छ भने भित्र निकै चिसो (एसी) हुन्छ । ‘एसीको सुविधा भएकाले कोठाभित्र १६ देखि २२ डिग्रीको चिसोमा बस्ने गर्छन्,’ उनले भने, ‘जब उनीहरू बाहिरी कार्यस्थलमा पुग्छन्, त्यहाँ ४० देखि ४९ डिग्रीको तापक्रममा काम गर्नुपर्छ । धेरै पसिना बग्यो भने शरीरभित्र रहेको पोटासियम, क्याल्सियम, गुल्कोजको नास हुन्छ । अनि मुटुको धड्कन बढ्छ । र, मानिस तत्काल बेहोस हुन सक्छ ।’

शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार लामो समयसम्म बाहिरी क्षेत्रमा काममा लगाउँदा झन्डै ७ लाख ५० हजार जनाको मृत्यु भएको छ । कार्यक्षेत्रमा वायु र ध्वनि प्रदूषणका कारण ४ लाख ५० हजारको ज्यान गएको छ ।

२०७६ चैत १९ मा उदयपुरका २३ वर्षीय अनिल श्रेष्ठलाई सहकर्मीहरूले कतारको सनैयास्थित एउटा क्याम्पको ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए । उनी इलेक्ट्रोनिक उपकरणसम्बन्धी काम गर्थे । ‘दिनभर उभिएर मोटर सेट र जेटका क्वायल बनाउँथे । दैनिक १०–१२ घण्टा काम गर्नुपर्थ्यो । काम गर्ने ठाउँमा तातो हावा आउँथ्यो,’ अनिलका दाजु पदमले भने, ‘काम सकेपछि नुवाइधुवाइ गरे । खाना खाए । सुत्न बेडमा गए । भोलिपल्ट बिहान ड्युटी जाने बेला साथीहरूले उठाउन जाँदा ज्यान गइसकेको रहेछ ।’ शव प्राप्त गर्ने बेला आफूहरूलाई पोस्टमार्टमको रिपोर्ट नदिइएको उनको भनाइ छ । ‘यस्तो मृत्युको केसमाथि छानबिन हुनुपर्छ,’ उनले भने ।

डा. शाक्य कम्पनीहरूले कार्यस्थलको वातावरण मात्र नभएर कामदारको खानपान र स्वस्थकर बसाइलाई समेत ध्यान नदिएको बताउँछन् । ‘कुन प्रकृतिको काम गर्दा कामदार कस्तो रोगबाट पीडित हुनुपर्छ भन्ने जानकारी नै रहेको देख्दिनँ । कामका सिलसिलामा आइलाग्ने रोगबाट कसरी बच्ने भनेर पनि कम्पनीले सचेत बनाएको छैन,’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वास्थ्य विशेषज्ञ समितिका सदस्य डा. विश्वराज दवाडीका अनुसार मिर्गौला रोगी भएर फर्किनेहरूको अवस्था थप चिन्ताजनक छ । ‘खाडीको बाहिरी क्षेत्रमा कार्यरत कामदारको किन मिर्गौला फेल भइरहेको छ, यसमाथि अध्ययन जरुरी छ,’ उनले भने, ‘आउटडोरमा लगातार काम गर्नुपर्ने कामदारले आवश्यकताअनुसार पानी खान्छन् कि खाँदैनन्, कार्यस्थलमा पानीको सुविधा छ/छैन, कामदारलाई लामो समय काम गर्न कति बाध्यात्मक बनाइएको छ भनेर कसैको ध्यान पुगेको छैन ।’

प्रतिवेदनले काम गर्दा उत्पन्न रोग र दुर्घटनाले स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने, उत्पादनमा कमी आउनुका साथै घरपरिवारको आम्दानी घट्दै जाने चेतावनीसमेत दिएको छ । ‘यो महत्त्वपूर्ण सूचनाले नीतिलाई एउटा आकारमा ल्याउन मद्दत गर्छ । स्वस्थकर र सुरक्षित कार्यक्षेत्रको अभ्यास गर्न प्रेरित गर्छ,’ आईएलओका महानिर्देशक गाय रायडरले विज्ञप्तिमा भनेका छन्, ‘सरकार, रोजगारदाता र श्रमिकले कार्यक्षेत्रमा देखिएका जोखिमलाई न्यूनीकरण गर्न प्रभाकारी कदम चाल्नुपर्छ ।

काम गर्ने तरिका र प्रणालीलाई मात्रै परिवर्तन गर्दा पनि जोखिमका तत्त्वहरू न्यूनीकरण गर्न सकिन्छ । अन्तिम उपायका रूपमा व्यक्तिगत सुरक्षाका उपकरण प्रयोगबाट श्रमिकलाई सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।’

प्रकाशित : आश्विन ४, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

रूसी संसदीय निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टीले बहुमत ल्याउने संकेत

कान्तिपुर संवाददाता

काठमाडौँ — रूसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले बहुमत ल्याउने संकेत देखिएको छ । शुक्रबार, शनिबार र आइतबार भएको संघीय चुनावमा पुटिनको युनाइटेड रसिया पार्टी निकै अगाडि देखिएको छ ।

गार्जियनका अनुसार सोमबार बिहानसम्म ५० प्रतिशत मत गनिएको छ । उक्त मगतगणनामा युनाइटेड रसिया पार्टीले ४६.११ प्रतिशत मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको कम्युनिस्ट पार्टीले २१.४० प्रतिशत मत प्राप्त गरेको छ ।

चुनावमा व्यापक धाँधली गरिएको आरोप सत्तारुढ पार्टीलाई लागेको छ । त्यस्तै राष्ट्रपति पुटिनका आलोचकलाई चुनावमा उम्मेदवार नै बन्न नदिएको र जबरजस्ती मत हाल्न लगाइएको पनि रिपोर्टहरू सार्वजनिक भएका छन् । तर निर्वाचन आयोगले भने उक्त दाबीहरूलाई खारेज गर्दै निष्पक्ष रूपमा चुनाव सम्पन्न भएको बताएको छ ।

युनाइटेडले सन् २०१६ मा भन्दा भने कम मत ल्याउने देखिएको छ । उक्त चुनावमा युनाइटेडले ५४ प्रतिशतभन्दा बढी मत ल्याएको थियो । यस चुनावबाट रुसी संसद्‍मा ४५० सांसद निर्वाचित हुनेछन् ।

पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा लगातार सत्तामा रहेका छन् । सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा पनि उनी अगाडि रहनेछन् । रूसको कानुनले पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति पदमा बहाल हुन पाउनेछन् । यद्यपि पुटिनले आफू उम्मेदवार हुने/नहुने भन्नेबारे केही बोलेका छैनन् । ६८ वर्षीय पुटिन राष्ट्रवादी एजेन्डालाई स्थापित गरेका कारण रूसी जनतामाझ लोकप्रिय बनिरहेको बताइन्छ ।

संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो । पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिँदै छ । तर जनमतसंग्रहमा बहुमत ल्याएसँगै उनी थप दुई कार्यकालका लागि राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्न पाउने भएका हुन् ।

प्रकाशित : आश्विन ४, २०७८ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×