कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन् ।

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ : दाहाल

जसपा र एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका एक दर्जन नेता तथा कार्यकर्तालाई खुमलटारमा स्वागत गर्दै उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेको बताएका हुन् । उनले, 'सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ । अहिले नआउने पनि केही समयपछि आउनुहुन्छ ।'

उनले माओवादी आन्दोलन र यसले उठाएका एजेन्डालाई राष्ट्रिय रूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको उनको भनाइ थियो । उनले भने, 'समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ । एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ । सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ । त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।'

'हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसिसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्', अध्यक्ष दाहालले भने, 'हामीले गठबन्धनमा एमसिसी र गठबन्धन कुन मुख्य हो भनेर छलफल पनि गरेका छौँ । गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो । एमसिसी परिमार्जन र संशोधनबिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न ।'

माओवादी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् सदस्य रमेश रेग्मी (चितवन), एमाले केन्द्रीय परिषद् सदस्य प्रल्हाद लामिछाने (मकवानपुर), जसपा प्रदेश समिति सदस्य प्रकाश पोखरेल (चितवन), जसपा जिल्ला सचिवालय सदस्य रामपुकार पाठक (चितवन), प्रेम शर्मा (सिन्धुपाल्चोक), कृष्ण कार्की (मकवानपुर) सुजनकुमार थापा (मकवानपुर), रवीन्द्र मोक्तान (मकवानपुर), प्रेम वाइबा (मकवानपुर), सुशील ओली (दैलेख) रहेका छन् ।

कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश इन्चार्ज हितमान शाक्य, वाग्मती प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण दाहाल, केन्द्रीय सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य सन्तु दराई, केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललगायतको उपस्थिति थियो ।

प्रकाशित : आश्विन ३, २०७८ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?