कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै नाति काल बनेपछि ...

प्रहरीले बझाङको दुर्गाथली, लवादेउ डाँडानजिक जंगलबाट बिहीबार सुवास जफ्रेललााई पक्राउ गरेको छ
वसन्तप्रताप सिंह

बझाङ — आफूले सबैभन्दा माया गर्ने नाति आफ्नै काल बनेर आइलाग्ला भनेर कसले सोचेको हुन्छ र ? बझाङको दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रिखीदेवी जप्रेलले यही तीतो नियतिको सिकार हुनुपर्‍यो । भदौ २७ गते बिहान रिखीले आफ्नो काल बनेर आएको २३ वर्षीय नाति सुवास जप्रेललाई आफ्नै हातले बनाएको खाना खुवाएकी थिइन् । खाना खाइवरि भान्सा लिपपोत गर्न लागेकी हजुरआमासंॅग सुवासले पैसा मागे । पैसा छैन भनेपछि कानमा लगाएको सुनको मुन्द्रा मागे । रिखीले मुन्द्रा दिन मानिनन् ।

आफ्नै नाति काल बनेपछि ...

सुवासले नजिकै रहेको फच्याँट (तातो भाँडा समाउन प्रयोग गरिने एक खालको काठको मुङ्ग्रोजस्तो) समातेर टाउकोमा हाने । चोट सहन नसकेर ढलेकी वृद्धाको कानमा लगाएको दुई वटा र नाकमा लगाएको एउटा मुन्द्रा लुटे । यतिन्जेल वृद्धाको सास अझै बाँकी भएको चाल पाएका उनले नजिकै रहेको हँसिया उठाएर घाँटीको अगाडिको भाग (श्वासनलीतिर) आधा काटेपछि वृद्धा निस्प्राण भइन् ।

घरबाट ३५ मिटर पर आफ्नै बारीमा खाल्डो खनेर सुवासले वृद्धालाई पुरे । नजिकैको एक जना व्यापारी कहाँ गएर उनले सोही दिन ८० हजारमा सुन बिक्री गरे । यो घटना गर्ने व्यक्ति सुवास, दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर जप्रेलका कान्छा छोरा हुन् । ‘त्यही पैसाले मोबाइल र नयाँ लुगा पनि किनेछ । पहिला उधारो खाएको पनि तिरेछ,’ वडाध्यक्ष जप्रेलले भने, ‘आमाले दुई नातिमा बढी प्यारो उसैलाई मान्नुहुन्थ्यो । यस्तो गर्ला भनेर सपनामा पनि चिताएका थिएनौं ।’

आफ्नै घरमा भएको यो घटनाको जानकारी वडाध्यक्षले भने भदौ ३० गते मात्र पाएका थिए । वृद्धा रिखी वडाध्यक्ष बस्ने घरभन्दा एक सय मिटर टाढा रहेको अर्को घरमा बस्थिन् । सुवास पनि हजुरआमा बस्ने सोही घरको एउटा कोठामा बस्थे । उनी धेरैजसो हजुरआमाकैमा खाना खान्थे । तीन दिनदेखि आमालाई नदेखेपछि वडाध्यक्ष जप्रेलले उनी जान सक्ने आफन्तकोमा खोजी गरेको र कतै नभेटेपछि घरमा राम्रोसँग हेर्दा रगतका टाटाहरु लागेको देखिएको र हँसियामा पनि रगत लागेको देखेर घरवरिपरि खोजी गरेको उनले बताए । ‘बारीमा खनेको देखेपछि खोस्रेर हेर्दा शव भेटियो । हत्या गरेर गाडेको भेटेपछि प्रहरीलाई खबर गरे,’ उनले भने ।

वडाध्यक्षले प्रहरीलाई खबर गर्नेबित्तिकै सुवास घरबाट भागेका थिए । प्रहरीले घटनास्थलमा जाँचबुझ गर्दा शौचालयमा रगत लागेको कपडा भेटेको र कपडाबाट हत्याराको पहिचान गरेको थियो । उनलाई प्रहरीले दुर्गाथलीकै लवादेउ डाँडानजिक जंगलबाट बिहीबार पक्राउ गरेको हो । ‘अभियुक्तले हत्या स्वीकार गरिसकेको छ,’ जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्काले भने, ‘घटनास्थलको मुचुल्का, घटनाको प्रकृति र अभियुक्तले घटनापछि गरेका गतिविधि हेर्दा सुनकै लोभले हजुरआमाको हत्या गरेको देखिन्छ ।’ उनले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।

सुवास सानै उमेरदेखि पढाइमा ध्यान नदिने र जाँडरक्सीमा रमाउने खालको भएको उनकै दौंतरी दिदी नाता पर्ने बास्मती जप्रेलले बताइन् । एसईईसम्म पढेका उनलाई गत वर्ष मात्रै जेटीए पढाउन धनगढी पठाए पनि पढ्न नसकेर बझाङ फिर्ता भएका थिए । ‘लफंगो पारामा हिँड्थ्यो । पढाइ र काम नगर्ने तर राम्रो लाउनुपर्ने मोजमस्ती गर्नुपर्ने स्वभावको थियो,’ बास्मतीले भनिन्, ‘यस्तो घटना गराउला भनेर त सोचेका थिएनौं । नसोचेकै भयो ।’ उनले घटनापछि गाउँ नै स्तब्ध भएको बताइन् । सामाजिक कार्यकर्तासमेत रहेकी उनले गाउँमा अरू थुप्रै युवा पनि कुलतमा फसेकाले यस्ता घटना दोहोरिन सक्ने भन्दै घटनाको मनोवैज्ञानिक र सामाजिक कारण पत्ता लगाएर कुलतमा फसेका युवाको उद्धार गरिनुपर्ने बताइन् ।

प्रकाशित : आश्विन २, २०७८ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?