सिंहदरबार रंग्याउन आएका ९० वर्षीय वृद्ध- समाचार - कान्तिपुर समाचार

सिंहदरबार रंग्याउन आएका ९० वर्षीय वृद्ध

०४९ मा जिविस सदस्य भएकै कारण वीरबहादुर सुनुवारले जिल्ला छाड्नुपर्‍यो । उनको दल कांग्रेस र उनलाई दोलखाबाट लखेट्ने माओवादी मिलेर अहिले सरकार चलाएका छन् । गाउँमा शान्ति फर्कियो तर उनको दिन फर्किएन । ७ दशकको राजनीतिक अनुभव काम लागेन, विस्थापित हुँदा ७ वर्ष रङरोगन गरेको अनुभवका आधारमा काम खोज्दै छन् ।
सुरज कुँवर

काठमाडौँ — शुक्रबार मध्याह्न १२ बजे, आल्मुनियमको रातो लौरो टेक्दै ९० वर्षीय वीरबहादुर सुनुवार सिंहदरबारस्थित संस्कृति तथा पर्यटन मन्त्रालयको सिँढी उक्लिरहेका थिए । उनी संस्कृतिमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चाहन्थे । तर दुर्भाग्य, जिम्मेवारी लिएको ६७ दिनसम्म पनि देउवाले यो मन्त्रालय टेकेका छैनन् । जबकि मन्त्रालय मातहतको नेपाल वायु सेवा निगममा ७९ दिनदेखि आन्दोलन जारी छ । 

‘मन्त्रीजी आउनुभएको छैन’ यति भनेर वीरबहादुरलाई कसैले माथिल्लो तलामा रहेको प्रशासन महाशाखामा पठाइदियो । उनले त्यहाँका कर्मचारीहरूलाई एउटा कागज देखाए । जसमा लेखिएको थियो, ‘हजुरले भन्नुभएको कुरा सम्बन्धित मन्त्रालयले गर्छ ।’

यो कागजको अर्कोपट्टि प्रतिनिधिसभा बैठकको कार्यसूची थियो । उनी यसअघि कांग्रेस संसदीय कार्यालय गएका रहेछन् । कान राम्ररी नसुन्ने उनलाई कसैले लेखेर सम्झाउँदै संस्कृति मन्त्रालयतर्फ पठाएको रहेछ, जहाँ मन्त्री नै छैनन् ।

आफ्नो काम हुन्छ भन्ने बुझेर उनी आएका थिए तर मन्त्रालयका कर्मचारीले कागजको अर्थ नै बुझेनन् । पालैपालो पढ्दा पनि कर्मचारी अलमलिएपछि वीरबहादुरले प्रस्ट्याउन थाले, ‘दसैंमा सरकारी कार्यालयमा रङरोगनको काम चल्छ । त्यो काम पाइन्छ कि भनेर आएको,’ औषधि र पानी राखेको सानो कालो झोला भिरेका उनले कर्मचारीलाई भने, ‘पहिला पनि भूमिसुधार मन्त्रालयमा रङ लगा’को थिएँ । त्यसैले काम पाइन्छ कि भनेर आ’को ।’

कर्मचारीलाई बुझाउन उनले आफ्नो राजनीतिक तथा आर्थिक कथा बयान गर्न थाले । उनी जमानाका राजनीतिकर्मी पनि रहेछन् । दोलखा तामाकोसी निवासी उनले ०४९ मा जिल्ला विकास समितिको सदस्य भएको परिचयपत्र देखाए । तर, जिल्लाको नेता भएकैले उनले जिल्ला छाड्नुपर्‍यो । ‘कांग्रेसबाट चुनाव जितेकाले माओवादीले लखेटे । गाउँमै बसेको भए भौतिक सफाया गर्ने थिए,’ उनले भने ।

०५७ मा राजधानी पसेका उनी एकै पटक ०६४ सालमा गाउँ फर्किए । विस्थापित उनलाई केही दिन नेताहरूले सहयोग गरे, तर पछि बेवास्ता गर्न थाले । ‘उमेर घर्किएको थियो, पढेलेखेको थिइनँ । त्यसैले गुजारा गर्न ज्यामी काम सुरु गरें । धेरै घर बनाएँ, कैयौं घरमा रङरोगन गरें,’ उनले भने, ‘दसैंको छेको पारेर सिंहदरबारभित्रकै गणेश र शिवको मन्दिर रङरोगन गरेको थिएँ । बबरमहलको हुलाक कार्यालयमा पनि मैले रङ लगाएको हुँ ।’

उनको दल कांग्रेस र उनलाई गाउँबाट लखेट्ने माओवादी मिलेर अहिले सरकार चलाएका छन् । गाउँमा शान्ति फर्कियो, उनको दिन फर्किएन । ७ दशकको राजनीतिक अनुभव काम लागेन, विस्थापित हुँदा ७ वर्ष रङरोगन गरेको अनुभव काम लाग्छ कि भन्ने उनको आशा हो । तर, यो व्यथा सिंहदरबारमा काम लागेन । उनले आफ्ना जिल्लाका नेता पनि सम्झिए । भने, ‘जिपछिरिङ आउँदैन होला है यता, अब प्रधानमन्त्रीलाई भेट्न सकिँदैन जस्तो छ । कुन्दन (काफ्ले) भन्ने हाम्रै गाउँको केटो तरुण दल (खासमा नेविसंघ) को नेता छ । त्यो पनि काँ’छ, काँ’छ । फोन नम्बर पनि छैन,’ उनी बिलखबन्द परे । कर्मचारीले उनको हैसियत प्रस्ट बुझे, त्यसैले काम छैन भन्न बेरै लगाएनन् । जवाफ दिए, ‘यहाँ अस्ति भर्खरै रङरोगन भइसक्या छ । अब अर्को साल आवश्यक पर्‍यो भने बोलाउँला ।’

प्रशासन शाखाले निराश बनाएपछि उनी महाशाखा प्रमुख सहसचिव तारानाथ अधिकारीको कार्यकक्ष पुगे । सहसचिव अधिकारी मन्त्रालयभित्रै कतै बैठक परेकाले त्यहाँ नभएको खबर उनलाई सुनाइयो । १० मिनेट हाराहारी पर्खिएपछि उनले त्यहाँबाट पनि आस मारे ।

लगत्तै एकतला ओर्लिएर सचिव यादवप्रसाद कोइरालाको कोठातर्फ लागे । सचिवको नेमप्लेटमा ‘बाहिर’ लेखिएको थियो । सचिव भने मन्त्रालयभित्रै थिए । केहीबेर अघिसम्म उनी युट्युबमा चर्चित माता सविता आचार्यसँग भेटघाटमा थिए । उनी खासमा गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न हिँडेकी रहिछन् । ‘बाटो परेकाले संस्कृति मन्त्रालयका सचिवलाई पनि भेटें, आखिर धर्मसंस्कृतिको मान्छे, त्यसैले संस्कृति मन्त्रालय पनि पसेकी हुँ,’ उनको भनाइ थियो ।

बाटो परेर पसेकी माता सविताले सचिवलाई सजिलै भेट्न पाइन् तर काम लिएर आएका वृद्ध वीरबहादुरले पाएनन् । माताजीसँग तस्बिर खिचाएपछि सचिव अर्को ढोकाबाट कतै गए । उनको कोठामा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, उपसचिव मीरा आचार्य, मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने, पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललगायत अधिकारी थिए ।

केहीबेरमै सचिव कार्यकक्षमा फर्किए । लगत्तै सेप्टेम्बर २७ (असोज ११) मा मनाइने विश्व पर्यटन दिवसबारे बैठक बस्यो । बैठकमा संक्षिप्त सहभागी भएर सचिव कोइराला फेरि भेटघाटमा लागे । बाँकी सहभागीले बैठक अघि बढाए । सचिवलाई भेट्न कर्मचारीभित्र पस्थे, निस्कन्थे ।

पानीले भिजेको जुत्ता र मैलो दौरासुरुवाल पहिरिएका वीरबहादुर भने भित्र पस्ने–निस्किनेलाई टुलुटुलु हेर्दै पालो कुरेर बसिरहे । उनको छेउमा सुर्खेतकी लोकगायिका भीमा सुवेदी पनि बसिरहेकी थिइन् । पयर्टनसम्बन्धी गीत गाएकाले सचिवलाई सुनाउन आएकी थिइन् तर उनले पनि भेट्न पाइनन् ।

यहीबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सहसचिव भरत अर्यालभित्र पसे, निस्किए । सचिवलाई भेट्ने क्रम चलिरह्यो । त्यसपछि सचिव कोइराला मन्त्रालयको ठूलो हलतर्फ उक्लिए । त्यहाँ आइतबारको संविधान दिवस र उत्कृष्ट कर्मचारी घोषणा गर्ने अर्को बैठक थियो ।

सचिवको सचिवालयका कर्मचारीले वीरबहादुरलाई ‘सचिवजी आज आउनुभएको छैन, अब आउनुहुन्न’ भनेर टुंगो दिएपछि पर्खने बहाना सकियो । देशको धर्मसंस्कृति पनि हेर्ने पर्यटन मन्त्रालयमा वृद्ध नागरिकलाई कसैले पनि राम्रो जानकारी दिएन । सचिव मन्त्रालयमै भए पनि सचिव आएकै छैनन् भनेर निराश बनाइयो ।

मुटुका पनि बिरामी वीरबहादुर सुस्तरी पहिलो तलामा रहेको मन्त्रीको कार्यकक्षमा ओर्लिए । कार्यकक्ष आफैं मन्त्रीको पर्खाइमा थियो । उनले त्यहाँ शौचालय जान खाजे । ढोका खोल्न नसकेर त्यसै फर्किए । चार वर्षदेखि प्रोस्टेट ग्रन्थीको समस्याबाट पीडित उनी प्लास्टिकको पाइप राखेर हिँडडुल गर्छन् । हड्डी खिएर उनलाई दुःख थपिदिएको छ । बिहीबारमात्रै वीर अस्पताल पुगेर जँचाएका उनको झोलामा औषधिका पोकैपोका छन् । चार छोरी र दुई छोराका बाबु वीरबहादुरकी ७७ वर्षीया पत्नी पनि अल्जाइमरकी बिरामी छन् ।

‘म त अहिले पनि पसिना बगाएर खान सक्छु, बूढीको रोगले चिन्तित छु, औषधि उपचारमा सहयोग हुन्छ भनेर काम खोज्न निस्किएको,’ उनले हिम्मत देखाए । सामाजिक, आर्थिक, राजनीतिक रूपमा उपेक्षित यस्ता नागरिक सिंहदरबारमा कति आउँछन् कति, त्यसैले कर्मचारीलाई परबाह भएन । तर यी वृद्ध भने आफ्नो सारा योजना भत्किएजस्तै थक्थक मानिरहेका थिए ।

भक्तपुरको दुवाकोटस्थित छोरीको डेराबाट उनी बिहान ८ बजे हिँडेका रहेछन्, बेलुका फर्कन खोज्दा ४ बज्नै लागेको थियो । वृद्ध र रोगी शरीर लिएर पनि सिंहदरबार रंगाउने हिम्मत लिएर छिरेका उनी रङहीन अनुहार लिएर बाहिरिए । लौरो ट्वाक, ट्वाक टेक्दै उनी बाटो लागेको केहीबेरमा दर्केर पानी पर्‍यो ।

प्रकाशित : आश्विन २, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षक, जसले घरपायक सरुवा हुन ३ सयलाई खुवाए भोज

स्थानीय भन्छन्– ‘बैठकमै शिक्षकले आफूले विद्यालयलाई डेढ लाख रूपैयाँ दिएको र अन्यत्र पनि खर्च भएकाले सहज रुपमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए’
अवधेशकुमार झा

राजविराज — सप्तरीको खडक नगरपालिका–३ स्थित आँपको बगैंचामा सोमबार साँझ एकाएक स्थानीयको भीड लाग्न थाल्यो । बाटो हिँड्नेहरू पनि केहीबेर टक्क रोकिन्थे र सोधखोज गरेर अघि बढ्थे । त्यही बेला बगैंचाको पूर्वी भागमा भने मासु पाकिरहेको थियो । न कसैको बिहे न त धार्मिक संस्कार । स्थानीय भने भोजमा जुटिरहेका थिए । भोज आयोजना गर्नुको कारण भने अनौठो छ । 

शोभाकान्त चौधरी पूर्वी पहाड भोजपुरको एक प्राथमिक विद्यालयमा पढाउँथे । गृहजिल्ला सप्तरी सरुवा हुन उनी एक वर्षयता भने ‘हात धोएर’ लागिपरेका थिए । उनले सबैजसो शक्ति लगाए पनि विद्यालय र पालिकाको सहमति पाउन नसक्दा सफल हुन सकिरहेका थिएनन् । अचानक उनले खडग–३ को गरुराहास्थित राष्ट्रिय प्राविमा एउटा दरबन्दी खाली रहेको खबर सुने । तर उक्त दरबन्दीमा आउन अरू तीन जना लबिइङ गरिरहेका रहेछन् । उनीहरूले विद्यालयका प्रधानाध्यापकदेखि वडाध्यक्षसम्मलाई भनसुन गर्न भ्याइसकेका थिए ।

उक्त विद्यालयमा करिब ९० प्रतिशत दलित र बाँकी थारू समुदायका बालबालिका पढ्छन् । गाउँकै शिक्षक आउन चाहँदा प्रधानाध्यापक सुखैर चौधरीले सुरुमा विद्यार्थी कम भएकाले शिक्षक दरबन्दी कटौती भएको बताउँदै आएका थिए । स्रोतका अनुसार शोभाकान्तसहित चार शिक्षकले सरुवा भएर आउने चाहना राखेपछि प्रअ सुखैर पनि मोलमोलाइमा लागे । शोभाकान्त त चार महिनायता नै प्रयासरत थिए । अरू प्रतिस्पर्धी आइलागेपछि उनीबारे निर्णय हुन सकेको थिएन । ‘डेढ लाख रुपैयाँ बुझाए मात्र सहमति दिने प्रअबाट प्रस्ताव आएपछि उनी सहमत भए र उक्त रकम दिए,’ स्रोतले भन्यो । अन्य तीन जनालाई रोक्दै प्रअले शोभाकान्तलाई साउन १ देखि विद्यालयमा हाजिर हुन सहमति दिएका हुन् ।

विद्यालयले सहमति दिए पनि पालिकाबाट अनुमति लिनुपर्ने बाध्यता शिक्षक शोभाकान्तसामु आइलाग्यो । नगरपालिकामा पनि उनी लबिइङका लागि लामो समय धाइरहे । आर्थिक कारोबार मिलाएपछि नगरपालिकाले उनलाई साउन २७ गते सहमति दिएको नगरपालिका स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत निरज देवले भने कुनै आर्थिक चलखेल नभएको दाबी गरे । ‘नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट सहमति लिएको २७ दिनपछि आर्थिक लाभ लिएर उनलाई विद्यालयमा हाजिर हुन सहमति दिएको हो,’ स्रोतले भन्यो । पालिकाबाट समेत सहमति लिइसकेपछि शोभाकान्तले शिक्षा समन्वय इकाइ सप्तरीमा पनि ‘घूस खुवाएको’ स्थानीयको दाबी छ ।

शिक्षक शोभाकान्त भदौ १ गते विद्यालयमा हाजिर भएपछि स्थानीयले विरोध जनाए । दरबन्दी नै नभएको ठाउँमा कसरी हाजिर गराइयो भनेर उनीहरूले प्रश्न उठाए । त्यसपछि विद्यालय प्रशासनले स्थानीय बासिन्दासमेतलाई सहभागी गराएर बैठक राख्यो । ‘बैठकमै शोभाकान्तले आफूले विद्यालयलाई डेढ लाख दिएको र अन्यत्र पनि खर्च भएकाले सहज रूपमा काम गर्ने वातावरण मिलाइदिन हामीसँग आग्रह गरेका थिए,’ एक स्थानीयले भने । उनका अनुसार विद्यालय प्रशासनलाई किन घूस दिएको भन्दै स्थानीयले बैठकमै विरोध गरेका थिए । स्थानीयको आक्रोश मत्थर पार्न प्रअ सुखैरले शिक्षक शोभाकान्तको हाजिर सुरु भइसकेको भन्दै कामकाज गर्न दिन आग्रह गरे । यसबापत शोभाकान्तले स्थानीयलाई भोज खुवाउनुपर्ने सहमति त्यहीं बन्यो ।

यही सहमतिअनुसार सोमबार साँझ आँप बगैंचामा भोज गरिएको हो । भोजमा गरुराहाका सबैजसो उमेरका ३ सयभन्दा धेरै स्थानीय सहभागी थिए । ‘कुखुराको मासु, चिउरा, भुजा खायौं,’ भोजमा सहभागी एक स्थानीयले भने, ‘हेडसर र पालिकाका सरले नगद खाए, हामीले भोज पनि खान नपाउने ?’ आफूहरूले विरोध गर्दा पनि सुनुवाइ नभएपछि भोज खाने सर्तमा सहमति दिएको उनको भनाइ छ ।

प्रअ सुखैर चौधरीले शिक्षक शोभाकान्तलाई भदौ १ बाट हाजिर गराएको स्वीकार गरे पनि थप कुरा गर्न चाहेनन् । यस विषयमा जिल्ला शिक्षा समन्वय इकाइ सप्तरीमा बुझ्दा प्रमुख विजय मण्डल बिदामा रहेको र उनीसँगै कागजात रहेकाले केही बताउन नसकिने शाखा अधिकृत प्रकाश गुरुङले बताए ।

प्रकाशित : आश्विन २, २०७८ ०६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×