भ्रमवश एमालेमा बसिरहेकाहरु ढिलो चाँडो हाम्रो पार्टीमा आउनेछन् : नेपाल
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।
शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन् । उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे ।
'पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए । पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात् बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन । पुरानो पार्टी भित्रको क्रान्तिकारी धारले, नेकपा (एमाले) भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आबद्ध भएका छन्,' उनले भने, 'कतिपय मानिसहरु अझै त्यहाँ अल्मलिएका होलान्, असल मानिसहरु पनि भ्रमवश बसिरहेका होलान् । ती व्यक्तिहरुले ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरुलाई हामी स्वागत गर्नेछौं ।’
अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्याउन पनि आग्रह गरे । व्यवसायीहरुलाई जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्याउन उनको आग्रह छ ।
प्रकाशित : आश्विन १, २०७८ १६:५५