कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अहिलेको गठबन्धन अवसरवादी र अनैतिक हो : पोखरेल

काठमाडौँ — नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास र समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धन संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यता विपरीतका गतिविधिको बाहक भएकोसमेत उनले बताए ।

अहिलेको गठबन्धन अवसरवादी र अनैतिक हो : पोखरेल

‘यो गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको छ । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई कमजोर बनाउन खोजेको छ । समाजमा अस्तव्यस्तता र अराजकतालाई बढावा दिएको छ । देश विकासका लागि जागृत भएका सपनाहरुलाई फेरि मुर्छित बनाउन खोजेको छ,’ नेता पोखरेलले भने, ‘त्यसकारण म भन्न चाहान्छु, यो अवसरवादी र अनैतिक गठबन्धन हो । यसलाई जस्ताको त्यस्तै बुझ्नुपर्दछ ।’

नेकपा एमाले काठमाडौंले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नेपालको राजनीति दुई ध्रुवमा ध्रुवीकृत भएको टिप्पणी गरे । ‘एउटा ध्रुव, जहाँ आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भावको दृढ पक्षपोषण तथा समाजमा अराजकताको अन्त्य, समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प बोकेको राष्ट्रिय अभियान हो । यो केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले हो । यो आजको यथार्थ हो,’ पोखरेलले भने, ‘अर्को भनेको यसका लागि विरुद्धमा खडा गरिएको गठबन्धन र त्यसका पक्षधर शक्तिहरु हुन् । त्यसका बारेमा कुनै भ्रम पाल्नुपर्दैन, हिजो हाम्रै साथीहरु थिए, हामीसितै मिलेका थिए । हामीसित कार्यगत एकता भएको थियो भनेर लोलेपोते कुरा गर्नुपर्ने जरुरत छैन ।’

उनले पार्टीको एकताको कुरा एकताको पक्षमा दृढ हुने कि नहुने ? भन्ने कुरामा निर्भर हुने बताए । ‘गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने, फुट र विभाजनकारी कुरालाई सहयोग पुर्‍याउने कुरालाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन,’ उनले भने, ‘त्यसैले पार्टीको एकताको कुरा भनेको एकताको पक्षमा कति दृढ हुने भन्ने कुरा हो ।’

नेता पोखरेलले कार्यदलले दिएको १० बुँदे सुझावलाई नेतृत्वले त्यहीँ कारण स्वीकार गरेको बताए । ‘हामीले कार्यदलले दिएको सुझावलाई सिर्जनात्मक ढंगले, रचनात्मक ढंगले लागू गर्नुपर्छ भन्ने हाम्रो प्रतिबद्धता हो । त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्व पछि हट्दैन । किन भने हामीलाई पार्टी एकता चाहिएको छ,’ उनले भने ।

उनले अबको एमालेलाई ०७५ जेठ २ को एमाले मात्रै नबुझेर विकसित एमाले, परिवर्तित र एकतासहितको एमाले हो भनेर बुझ्न आग्रह गरे ।

प्रकाशित : भाद्र ३१, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?