के हो 'सापू' फैलाउने सेतो पुतली ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के हो 'सापू' फैलाउने सेतो पुतली ?

गोविन्द पोखरेल

काठमाडौँ — सेतो पुतलीबाट 'सिजनल हाइपर एक्युट प्यानयुभाइटिस'(सापू) रोग सर्ने भन्दै चिकित्सकहरुले अहिले सचेत गराएका छन् । आँखा रातो हुने, आँखाको डिल सुनिने र आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षणहरु सापू भएकाहरुमा देखिन्छ ।

विशेषतः बालबालिकाहरुमा यो रोग हरेक दुई वर्षमा नेपालमा देखिँदै आएको छ । सापू लगाउनका लागि मुख्य भूमिका खेल्ने भनिएको यो निसाचर पुतली(मोथ) को नेपाली नाम दिइएको छैन ।

पुतली प्रजातिसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएका प्राध्यापक भैया खनालकाअनुसार ग्याजालिना जेनस अन्तर्गतको क्राइसोलोफा प्रजातिको निसाचर पुतलीबाट यो रोग लाग्छ ।

जेनस ग्याजालिनाका ६ प्रजाति भेटिएका छन् । तीमध्ये नेपालमा क्राइसोलोफा, एप्सरा र ट्रान्सभेरा पाइएको उनले बताए । सापू लगाउने चाही 'ग्याजालिना क्राइसोलोफा' हो । यो रातको समयमा सक्रिय हुन्छ । 'क्राइसोलोफा' मानवीय तथा वन क्षेत्रको आसापसमा पाइन्छ भने एप्सरा र ट्रान्सभेरा प्रजाति भित्री जंगलमा पाइन्छन् ।

प्राध्यापक खनालकाअनुसार क्राइसोलोफाको पोथी निसाचर पुतलीको पेट(एब्डोमिन)को पछाडि भाग केही पहेंलो हुन्छ । मसिना धर्सा जस्ता देखिने पहेंलो रौं(स्पाइक)का कारण यो भाग पहेंलो हुन्छ । सामान्य हावा चलेको अवस्थामा यी रौंहरु छुट्टिन्छन् । यही मसिना धर्साका कारण सापू देखिने गरेको उनले बताए ।

'यी पहेंला धर्सा सेतो निसासचर पुतलीको विष ग्रन्थीसँग जोडिएको हुन्छ,' प्राध्यापक खनालले भने,' फुलको सुरक्षाका विष ग्रन्थीबाट रौंहरु निस्किएका हुन्छन् ।' उक्त मसिना धर्सा सम्बन्धी नेपालमा अध्ययन नभएपनि पाकिस्तानमा गरिएको एक अध्ययनले हिस्टामिन र पोटासियम साइनेड पाइएको उनले जानकारी दिए । यिनीहरु चम्किलो प्रकाशतिर आकर्षित हुन्छन् । मुख्यगरी उत्तिसको पात खाने यो पुतली नेपालकाे पूर्वदेखि पश्चिम क्षेत्रसम्म पाइन्छ ।

प्रायः पुतलीहरुको जीवनचक्र एक वर्षमा समाप्त हुन्छ । यो प्रजातिका पुतलीको आयु ११ महिना मात्रै रहेको अनुसन्धानहरूले देखाएका छन् । एक पटकमा यीनीहरुले ३ सयवटा सम्म फुल पार्ने प्राध्यापक खनाल बताउँछन् ।

नेपालमा निसाचर पुतलीहरूको संख्या धेरै नै छ । हालसम्म ३ हजारभन्दा बढी पाइने उल्लेख भएपनि सबै प्रजाति भेटिएका छैनन् । निसाचर प्रजातिहरुमध्ये केही हानिकारक पनि छन् । केहि प्रजातिलाई छुने बित्तिकै एलर्जी हुन्छ भने केही भ्यागुतालगायतका जीवहरूको आहर प्रजाति पनि बन्छन् । विभिन्न रंगमा भेटिने यस्ता पुतलीका केही प्रजाति लार्भा अवस्थामा हानिकारक पनि छन् । जस्तो कि 'पुश मोथ'को लार्भाहरुमा हुने स्पाइकले एलर्जी गराउँछ । नेपालमा पुतली प्रजाति सम्बन्धी विस्तृत अध्ययनहरु नभएको प्राध्यापक खनालले जानकारी दिए ।

पुतलीहरुको जीवन चार चक्रमा बाँडिएकको हुन्छ । फुल, लार्भा, प्युपा र वयस्क अवस्था । प्रायः वयस्क पुतलीहरुको आयु २ देखि ४ महिनासम्म हुने गरेको अध्ययनहरुले देखाएको छ । स्फिङ्क्स निसासचर पुतली(मोथ) व्यस्क भएको २ देखि ३ महिनासम्म बाँच्छ भने रेशम किरा(मोथ) वयस्क भएको एक हप्ता र युका मोथ प्युपाबाट निस्किएको २ दिनपछि मर्ने गरेको पाइएको द लेपिडोप्टेरिस्टिस सोसाइटीले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

ताप्लेजुङमा जनगणनाका लागि सुपरिवेक्षण सुरु

पशुचौपाया तथा जग्गाजमिनको समेत विवरण समावेश गरिने
आनन्द गौतम

ताप्लेजुङ — पहिलो चरणमा बुधबारदेखि सुपरिवेक्षकले प्रत्येक घरमा गएर प्रारम्भिक विवरण संकलन गर्ने क्रम सुरु भएको छ । जनगणना कार्यालय ताप्लेजुङका प्रमुख मानवबहादुर थापाका अनुसार सुपरिवेक्षकले प्रत्येक घरमा अनिवार्य पुगेर प्रारम्भिक विवरण भर्नुपर्छ र घरमा देखिनेगरी संकेत नम्बर लेख्नुपर्छ । कहाँबाट कसरी सुरु गर्ने भनेर यसअघि नै नक्सांकन गरिएको छ ।

यस चरणमा सुपरिवेक्षकले घरमुलीको नाम, परिवार संख्या, महिला पुरुष संख्या, हाल घरमा रहेको र बाहिर रहेको संख्या यकिन गरेर फाराम भर्ने छन् । पशुचौपाया, आफू बसेको ठाउँ र त्यहाँभन्दा बाहिर भएको जग्गा जमिनको विवरण पनि समावेश गर्ने छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको विवरण पनि भरिने छ । घर परिवारका कति सदस्यको बैंक खाता छ, घर बनाउँदा राज्यबाट क्रण वा सहयोग लिएको छ कि छैन, परिवारका सदस्यले व्यावसायिक तालिम लिएका छन् कि छैनन् भन्ने विषय पनि विवरणमा समेटिनेछ ।

बाख्रा, कखुरा, गाई, भैंसीको संख्या यकिन गरिनेछ भने परिवारका सदस्य कती घरमा छन् कति बाहिर छन् भन्ने विवरण पनि लिइनेछ । सर्वेक्षक पौडेलका अनुसार घरमा एक जना मात्रै भेटिए पनि सबै विवरण दिन्छन् ।


जग्गा कति छ भन्ने विवरण प्राप्त गर्नचाहिँ अलिक समस्या भएको छ । जग्गा कहाँ–कहाँ छ भन्ने खुलाए पनि क्षेत्रफलको जानकार परिवारका सदस्य नभएको पाइएको उनले बताए । थापा सकेसम्म यकिन र यकिन हुन नसके अनुमानित भए पनि विवरण लिनुपर्ने बताउँछन् ।

असोज १८ गते सक्नुपर्ने सूचीकरणका लागी एउटा वडामा एक जना सुपरिवेक्षक खटाइएको छ । ‘कसैलाई सात सय घरसम्म पनि परेको छ, कसैलाई एक/डेढ सय परेको छ,’ थापाले भने, ‘पहिलाको पुरानो एउटा गाविसलाई एकजना खटाएका छौं ।’ सुपरिवेक्षकले २० दिनमा काम सक्नुपर्ने उनले बताए । धेरैले बुधबारदेखि नै काम थाले पनि तालिम लिएर जिम्मेवारी पाएका कतिपयको परीक्षालगायतका काम भएकाले एकदुई दिनमा सबैले काम थाल्ने जानकारी पाएको उनले वताए । सामान्यतया एक जनाले पाँच सय घर सुपरिवेक्षण गर्ने भनिए पनि भूगोललगायतका कारण धेरथोर भएको थापा बताउँछन् ।


ताप्लेजुङको फुङलिङ नगरपालिका–७ दोखुमा घरपरिवार संख्यात्मक विवरण लिँदै सुपरिवेक्षक । जनगणना २०७८ को प्रारम्भिक चरणअन्तर्गत घरपरिवार सुपरिवेक्षण सुरु गरिएको हो । तस्बिर : आनन्द/कान्तिपुर

सुपरिवेक्षक सकेसम्म सोही गाउँको राखिएको उनले बताए । ‘गाउँघरमा चिनजान हुने र विवरण लिन सजिलो होस् भनेर त्यही गाउँको राखिएको छ,’ थापाले भने, ‘गणकको चाहिँ टुंगो लागिसकेको छैन ।’ गणनामा भने एक जना सुपरिवेक्षकले काम गरेको ठाउँमा चार जना खटाइने उनले बताए । एक जना गणकलाई १ सय ५० घरसम्मको मात्रै गणना गर्ने जिम्मेवारी दिइने छ । कृषि, पशुको समेत गर्नुपर्ने भएको र तथ्यांक धेरै लिनुपर्ने भएकाले धेरै गणक परिचालन गरिनेछ ।

कात्तिक १५ देखि गरिने गणनाको अवधि एक महिनाको हुन्छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा ६१ वडा छन् । केन्द्रिय तथ्यांक विभागका अनुसार सूचीकरणका लागी देशभर ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ । वैशाखमा गर्ने तयारी भएको जनगणना कोरोना संक्रमणका कारण सरेको हो ।



प्रकाशित : भाद्र ३०, २०७८ २०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×