कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस मुख्यालयमा ५५ दिनदेखि रिले अनशन, माग कसैले सुनेन

पूर्वराज्यमन्त्री बज्रकिशोर सिंह भन्छन्, ‘हामीले लोकतन्त्रको अभ्यास गरेपनि हाम्रो संस्कार लोकतान्त्रिक छैन । कांग्रेसमात्रै होइन, अहिले हेर्नुस्–सबैजसो दलमा कब्जा गरेर सत्तामा बस्ने र आर्थिक लाभ लिने, राजनीतिक पदमा बसेर व्यापार गर्ने कुसंस्कार बसेको छ ।’
प्रकाश धौलाकोटी

काठमाडौँ — दलमाथिको प्रतिबन्ध कायम थियो । दलका बैठक, भेला र अन्य गतिविधि गोप्यरुपमै हुन्थे । ‘राजा हामीलाई एक कदम पछि धकेल्न चाहन्छन्, तर हामी एक कदम अघि बढ्न सक्नुपर्छ,’ तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई र नेता तारानाथ रानाभाटलाई सामुन्ने राखेर ०४५ सालमा रौतहट पुगेका महामन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए ।

कांग्रेस मुख्यालयमा ५५ दिनदेखि रिले अनशन, माग कसैले सुनेन

त्यो दिन रौतहटमा दलमाथिको प्रतिबन्ध तोडियो । भट्टराई र कोइरालाले रौतहट कांग्रेसको घोषणा गरे, त्यो कार्यसमितिका उपसभापति थिए– बज्रकिशोर सिंह ।

०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेता सिंह पञ्चायतकै बेला कांग्रेस भएकै कारण तीनपटक जेल परे । रुख चुनाव चिन्हमै चारपटकसम्म आम निर्वाचनमा उभिए उनी । ०४८ र ०५१ को आम निर्वाचनमा उनी रौतहट–१ बाट रुख चुनाव चिन्हबाटै विजयी भए । कांग्रेसले ०५६ मा पनि उनैलाई उभ्यायो ।

तर, त्यसबेला रौतहटबाट माधवकुमार नेपाल विजयी भए । उनी ०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा पनि कांग्रेसकै उम्मेदवार हुन् । उनले सूर्यबहादुर थापा नेतृत्वको सरकारमा कांग्रेसकै तर्फबाट स्वास्थ्य राज्यमन्त्रीको रुपमा काम गर्ने मौका पाए । आजीवन कांग्रेसको राजनीति गरेका उनी अब आफू कांग्रेस भएको परिचय जोगाउन अनशन बसेका छन् । उनलाई पटक–पटक उभ्याएको रुख अहिले आफैँ डगमगाएको छ ।

सैतै फुलेको कपाल । बुढ्यौली शरीर । छिटो र ठूलो बोल्न पनि सक्दैनन्, श्वासप्रश्वास बढ्छ । सानेपास्थित कांग्रेस मुख्यालयको अघिल्तिर भुँइमै पल्टिएका छन् उनीहरू । वरिपरि आफूसँगै अनशनरतलाई देखाउँदै ६७ वर्षे सिंह बोले, ‘मेरो मात्रै होइन, पार्टीका यी धेरै जना पूराना साथीहरूको क्रियाशील सदस्यता काटिएको छ । छानी–छानी हाम्रा साथीहरूको मात्रै नाम काटेर पठाएका छन् ।’

बीपी, किसुनजी, गणेशमान र गिरिजाप्रसादसमेतको सामीप्यता पाएका सिंह पार्टीको लोकतान्त्रिक संस्कार विलीन हुन लागेको बताउँछन् । ‘हामीले गरेको संघर्षले प्रजातन्त्र त आयो । तर, राणाहरूको १०४ वर्षे र तीस वर्षे पञ्चायती शासनको प्रभावले अहिले पनि हाम्रो समाजलाई गाँजेको छ,’ नेता सिंह भन्छन्, ‘हामीले लोकतन्त्रको अभ्यास गरेपनि हाम्रो संस्कार लोकतान्त्रिक छैन । कांग्रेसमात्रै होइन, अहिले हेर्नुस्–सबैजसो दलमा कब्जा गरेर सत्तामा बस्ने, र आर्थिक लाभ लिने, राजनीतिक पदमा बसेर व्यापार गर्ने कुसंस्कार बसेको छ ।’

पार्टी कब्जा गर्ने दुस्साहसकै कारण अहिले महाधिवेशनको संघारमा पार्टीमा स्वेच्छाचारिता बढेको उनी बताउँछन् । ‘सबैले आफ्नो मनोमानी गरेर स्वेच्छाचारी ढंगले सदस्यता थपेका छन् । सदस्यता कटौती गरेका छन् । कसले कति दु:ख गर्‍यो ? मान्छे डेमोक्रेटिक हो/होइन मतलव छैन । आफू अनुकुल कसरी हुन्छ ? क्रियाशील थपघट गरेका छन्,’ उनी भन्छन्, ‘यस्तो कुकृत्य रौतहटमा मात्रै होइन, देशैभरि भएको छ । तर हामी यति सजिलै पार्टी कब्जा गर्न दिदैनौँ ।’

उनीहरूले दिनलाई दुई भाग लगाएका छन्, १२–१२ घण्टा । पहिलो १२ घण्टा एउटा समूह अनशन बस्छ, अनि १२ घण्टा अर्को समूह । उनीहरूको ३० जनाको टोली छ । यसैगरी रिले अनशन बसेको बुधबार ५५ औँ दिन हो । ‘केही साथीहरूले कोठा लिनुभएको छ, त्यतै बस्नुहुन्छ । केही आफन्त साथीभाई कहाँ बस्नुहुन्छ । यहाँ बस्ने सबैले आ–आफ्नो बन्दोबस्त गरेका छौँ,’ कांग्रेस रौतहटका कोषाध्यक्ष रामश्रेष्ठ प्रसाद साहले भने, ‘हामी केही राति पनि यही सुत्छौँ, दिउँसोभरि यही बस्छौँ ।’

पार्टीमा नेतृत्वले विधि र पद्धति मिचेर कब्जा गर्ने नियतले मनोमानी गरेको भन्दै महासमिति सदस्यहरू श्यामचन्द्र झा र सन्तलाल साह, महाधिवेशन प्रतिनिधिहरू उदय यादव, तेजनारायण साह, केशव सिंह, हरिचन्द्र यादव र नवल साह, दुर्गावती गाउँपालिका सभापति सकुर मियाँ, क्षेत्रीय सदस्य भोगेन्द्र झा लगायत रिले अनशनमा बसेका छन् । उनीहरू सबै संस्थापन इतर समूहका हुन् ।

कोषाध्यक्ष साहसहित ९८ जना रौतहटका नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नभएको उनीहरूको गुनासो छ । ‘क्षेत्र नं. १ मा जिल्ला सभापति र क्षेत्रीय सभापति मिलेर मनोपोली भयो । सो क्षेत्रका ४१ वटा वडामध्ये ३१ वडामा क्रियाशील सदस्यताको विवाद छ । तीमध्ये ११ वडाले त नयाँ क्रियाशील सदस्यताको फाराम नै पाएनन्,’ महासमिति सदस्य श्यामचन्द्र झाले भने, ‘१८ वटा वडाले नयाँ सदस्यताको फारम पाए, तर जसको नाममा फारम भरेर पठाइएको थियो, ती मान्छेको नाम मेटाएर जिल्ला सभापति र क्षेत्रीय सभापतिले अरुकै नामको सदस्यता भरे, फर्जी गरे ।’

रौतहट जिल्ला सभापति श्रीकृष्ण यादव र क्षेत्रीय सभापति शान्तिदेवी यादवले मिलेमतो गरेको उनीहरूको आरोप छ । ‘हाम्रो ३१ वटै वडाको विवादको फेहरिस्त छ । हामीसँग सबै प्रमाणहरू छन् । ती सबै प्रमाणहरू यो भित्तामा राखेको फ्लेक्समा लेखेका छौँ,’ कोषाध्यक्ष साहले भित्तातिर देखाउँदै भने ।

विधानअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण दुवैको प्रारम्भिक प्रक्रिया अघि बढाउने जिम्मेवारी हो, वडा सभापतिको । वडासभापतिले वडामा छलफल गरेर सिफारिस गरेका नाम पालिका, प्रदेशसभा, क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले समेत निर्णय र सिफारिस गरेपछि क्रियाशील सदस्यता स्वीकृत हुने प्रावधान छ । जिल्ला कार्यसमितिले नवीकरण गरेर पठाउनुपर्छ । माधवनारायण नगरपालिका–१ का वडासभापति ६५ वर्षीय रामप्रसाद राय यादव भने अलमलमा छन् । न उनले त्यो भूमिका पाए, न जिम्मेवारी । बरु उनको आफ्नै सदस्यता नवीकरण भएको छैन ।

‘नवीकरणको फारम आएको थियो । सबै प्रक्रिया पुर्‍याएर हामीले पठाएका थियौँ । तर, छानबिन समितिले सार्वजनिक गर्दा मेरो आफ्नै नाम छैन, त्यसपछि उजुरी दियौँ । त्यसको पनि सुनुवाई भएन,’ उनी भन्छन्, ‘फेरि आफ्नो मात्रै होइन, मजस्तै धेरै साथीहरूको यस्तै गरिएको रहेछ । अनि अनशन बस्न बाध्य भयौँ ।’ जिल्ला सभापतिले उनको वडामा मात्रै उनीसहित नौ जनाको नवीकरण रोकेको उनको आरोप छ ।

आफूहरूको उजुरीमाथि रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले छानबिन नै नगरेको उनीहरू बताउँछन् । तर, छानबिन समितिले रौतहटको मात्रै होइन, कुनै पनि जिल्लाको उजुरी र त्यसको छानबिनको प्रक्रियाबारे कसैलाई पनि जानकारी दिएको छैन । छानबिन भएका सदस्यको नामावली सिधै मतदाता नामावलीका रुपमा पठाइएको छ । ‘जिल्लामा प्रतिपक्षीविहीन कांग्रेस बनाउने उनीहरूको लक्ष्य देखिन्छ । त्यहीकारण हाम्रो सदस्यता नै काटिदिए,’ कोषाध्यक्ष साह भन्छन्, ‘छानबिन समितिमा उजुरी गर्दा पनि सुनुवाई भएन ।’

छानबिन समितिले छानबिन थाले लगत्तै उजुरी बोकेर उनीहरू काठमाडौं आएका थिए । ‘हामी काठमाडौं आएको तीन महिना भइसक्यो । पहिले त छानबिन समितिमा उजुरीमात्रै गर्‍यौं । त्यतिञ्जेल छानबिन समितिसँग आशा थियो, तर त्यो समितिले नगरेपनि हामी अनशन बस्न बाध्य भयौँ,’ महासमिति सदस्य झा भन्छन्, ‘छानबिन समितिमा हामीले प्रमाणसहित उजुरी त गर्‍यौँ । तर, हामीले दिएको उजुरीमाथि छानबिन नै भएन ।’

महाधिवेशन प्रतिनिधि नवल साह सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि मिलेर मधेसमा इत्तर पक्षलाई सखाप पार्ने उद्देश्य लिएको बताउँछन् । ‘अहिले डडेल्धुरामा जे भइरहेछ, उता रुकुममा जिल्ला सभापतिकै क्रियाशील काटियो,’ उनी भन्छन्, ‘विधिविधान मिचेर, नियमावली मिचेर हाम्रो रौतहटमा मात्रै होइन, देशैभरि यस्तै भएको कुरा सार्वजनिक भइरहेकै छ । यसबाट प्रष्टै हुन्छ, कि अहिलेको नेतृत्व के चाहान्छ ? तर हामी त्यस्तो हुन दिदैनौँ । हामी स्वीकार गर्दैनौँ । जहिलेसम्म हाम्रो माग पूरा हुदैन, त्योदिनसम्म हाम्रो अनशन जारी हुन्छ ।’

त्यसो त उनीहरूको मागमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू शेखर कोइराला, गगन थापा लगायतले पनि ऐक्यवद्धता जनाइसकेका छन् । तर, उनीहरूले सभापति देउवालाई एकपटक पनि आफूहरूका माग सुनाउन पाएका छैनन् ।

मंगलबार अपरान्ह सहमहामन्त्री प्रकाशशरण महत पार्टी कार्यालय पुगे । कार्यालय नछिर्दै उनी कार्यकर्ताबाट घेरिए । ‘मैले पटकपटक भनेकै छु, अहिले पनि मैले भन्ने त्यही कुरा हो.....,’ दिन बिराएरै कार्यालय गइरहने सहमहामन्त्री महत भन्दै थिए, ‘जे बिधानमा छ, त्योभन्दा दायाँबायाँ हुदैन ।’ कार्यालय पुग्ने नेताहरूलाई धर्ना र अनशनमा बसेका नेता कार्यकर्ताले यसैगरी घेर्छन् । त्यहीकारण सभापति देउवा तीन महिनै हुन लाग्यो, कार्यालय गएका छैनन् ।

कांग्रेस कार्यालयमा धर्ना र विरोध गर्नेहरू पनि थपिँदा र फेरिँदा छन् । तर, उनीहरू भने बाहिरैपट्टि बस्छन् । मंगलबार नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक अपाङ्ग संघले धर्ना दिए । कोही सानो झुण्डमा देखिन्थे, कोही एक्लै । अपाङ्ग संघको धर्ना लेखिएको ब्यानर राखेर एक नेता निदाइरहेका थिए । ‘न कोही हाम्रो कुरा सुन्न आउँछ । न कसैले खोजी गर्छ । दिनैपिच्छे यहाँ बसेर धर्ना दिइरहेका छौँ, आउनेलाई भेटेर मागहरू भनेका छौँ,’ छेवैमा उभिएका अर्का एक नेताले भने, ‘पार्टीमा अस्तित्व जोगाउनका लागि आखिर हामीले कहिलेसम्म यस्तो गरिरहनुनपर्ने हो ?’

५ असारमा केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता छानबिनको काम तीव्र बनाउन निर्देशन दिएको थियो । त्यसपछि क्रियाशील सदस्यको प्रारम्भिक नामावली सार्वजनिक भयो । करिब दश हजार उजुरी परे । त्यसयता छानबिन समिति र नेतृत्वलाई दबाब पुर्‍याउन भन्दै विरोध, धर्ना र अनशन बस्नेले कांग्रेस कार्यालय निरन्तर घेरिएको छ ।

अहिले पनि रौतहटसहित प्रदेश २ का सबै जिल्लाको सदस्यता विवाद मिलेको छैन । नेताहरूले अनशनरत पुराना नेता कार्यकर्ताको सम्बोधन गर्न सकेका छैनन् । बरु त्यहीकारण कांग्रेसले महाधिवेशनको कार्यतालिका नै फेरबदल गरेको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?