कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइतीबाट फर्केकै दिन रहस्यमय मृत्यु

अमृता अनमोल

बुटवल — मंगलबार चर्को घाममा छाता ओढेर दर्जनौं महिला सिद्धार्थ राजमार्गको मणिग्राम क्षेत्रमा देखिए । उनीहरू सबैजसोका हातमा प्लेकार्ड थियो भने जुलुसको अगाडि देखिएका महिलाले बोकेको ब्यानरमा लेखिएको थियो, ‘जस्टिस फर सीता भण्डारी । सीताको न्यायका लागि एकजुट हौं ।’ 

माइतीबाट फर्केकै दिन रहस्यमय मृत्यु

भदौ २० गते आफ्नै घरको कोठामा मृत भेटिएकी तिलोत्तमा–५ की सीता भण्डारी पौड्यालको न्यायका लागि उनीहरू जुटेका थिए । जारी अनुसन्धानमा पीडित परिवार आश्वस्त हुन नसकेकैले सीताको शव नौ दिनयता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमै छ । आफूहरूले हत्यामा किटानी जाहेरी दिए पनि आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको भन्दै माइती पक्ष आन्दोलित छ । उनीहरूले कहिले इलाका प्रहरी कार्यालय, कहिले तिलोत्तमा नगरपालिका त कहिले पीडकको घर घेराउ गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मुखबाट रगत बगेको, गलामा चुन्नीले कसिएको र भुइँमा लडेको अवस्थामा सीता कोठामा मृत भेटिएकी थिइन् । उनका बाबु हरिप्रसाद भण्डारीले छोरीको हत्या नै भएको दाबीसहित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । तर प्रहरीले जाहेरी लिन मानेन । पति टीका र आमाजू विष्णु पक्राउ परेपछि मात्रै प्रहरीले भदौ २३ मा आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता गर्‍यो । अहिले प्रहरीले दुवैमाथि म्याद थप गरेर अनुसन्धान जारी राखेको छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जाहेरीकर्ताले हत्याको दाबी गरे पनि प्रमाण नपुगेकाले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको बताए ।

मृतक सीता भण्डारी

टीका पाल्पा तानसेनको होलाङ्दी जाने बाटोमा ‘दि दरबार कटेज एन्ड रिसोर्ट’ सञ्चालन गर्थे । दुवै जना भदौ ६ गते पाल्पाबाट तिलोत्तमास्थित घर आएका थिए । एक दिन घर बसेपछि तीज मानेर फर्किने योजनासहित सीता भोलिपल्ट तिलोत्तमा–८ स्थित माइतीघर गएकी थिइन् । पाल्पा भएका टीकाले भदौ १९ मा सीतालाई फोन गरेर ‘घरमा दिदीका छोरा भतिजको बर्थडे पार्टी छ’ भन्दै बोलाए ।

पतिको वचन हार्न नसकेपछि उनी दिउँसो २ बजेतिर घर पुगिन् । तर श्रीमान्ले भनेजस्तो घरमा बर्थडे पार्टी थिएन । तीज मान्न आएकी छोरी हतारहतार फर्केपछि सीताका माइतीले उनलाई रातिसम्म फोन गरिरहे । तर फोन उठेन । सीता घर फर्केको भोलिपल्ट बिहानै ५ बजेतिर टीकाले ‘काम छ’ भनी माइती परिवारलाई घर बोलाए । सीताका बुबाआमा हुर्रिंदै त्यहाँ पुग्दा छोरीको मृत्यु भइसकेको थियो । बुबा हरिप्रसादले भने, ‘हत्या गर्नकै लागि छोरीलाई योजनाबद्ध तरिकाले बोलाएका रहेछन् ।’

छिमेकीका अनुसार सीता र टीकाबीच १५ वर्ष उमेर अन्तर थियो । ४० वर्षिय टीका र २५ वर्षीया सीताको २ वर्षअघि बिहे भएको थियो । पहिलो पत्नीसँग सम्बन्धबिच्छेद भएपछि टीकाले सीतासँग बिहे गरेका थिए । पछिल्लो समय उनीहरूबीच राम्रो सम्बन्ध थिएन । रक्सी खाएपछि पतिले मनपरी बोल्ने र कुटपिट गर्ने गरेको गुनासो सीताले गरिरहन्थिन् । सीता घर पुगेको दिन सासू, ससुरा, आमाजू, जेठाजु, जेठानीलगायत त्यहीं रहेको प्रहरी अनुसन्धानले देखाएको छ । राति ११ बजेसम्म परिवारसँगै रहे पनि त्यसपछि थाहा नभएको आमाजू विष्णुले प्रहरी बयानमा दाबी गरेकी छन् ।

प्रहरीका अनुसार घटनाको दिन पनि टीकाले मदिरा सेवन गरेका थिए । परिवारका अन्य सदस्य भने यसबारे बेखबर थिए । माइती पक्ष पुगेपछि मात्रै उनीहरू घटनास्थल अर्थात् सीताको कोठामा गएका थिए । इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले सीताको पोस्टमार्टम गर्दा ‘ह्यांगिङ’ देखिएको बताए ।

प्रकाशित : भाद्र ३०, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?