कांग्रेस नेतृत्वमा हस्तक्षेप गर्न तत्पर नयाँ पुस्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेतृत्वमा हस्तक्षेप गर्न तत्पर नयाँ पुस्ता

यसपटक नेतृत्व देउवा र पौडेलभन्दा तल ल्याउन सकिए अर्को महाधिवेशनमा आफैं शीर्ष स्थानमा पुग्न सहज हुने बुझाइ युवा नेताहरुमा छ । त्यसका लागि विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल १४ औं महाधिवेशनमार्फत महामन्त्री बन्ने तयारीमा जुटेका हुन् ।
बीपी कोइराला सभापति निर्वाचित हुँदा ३८ वर्षका थिए । तर, ७५ वर्षीय कांग्रेसको नेतृत्व भने अहिले ७६ वर्षीय शेरबहादुर देउवाले गरिरहेका छन् ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस पार्टी २००३ सालमा स्थापना गर्दा संस्थापक नेता बीपी कोइरालाको उमेर ३३ वर्षको थियो । स्थापना भएकै वर्षको माघ १२ र १३ मा कोलकताको भावनीपुरस्थित खालसा हाइस्कुलमा भएको पार्टीको पहिलो महाविधेशनबाट टंकप्रसाद आचार्य सभापति र बीपी कोइराला कार्यवाहक सभापति निर्वाचित भए । 

६ वर्षपछि २००९ सालमा भएको पाँचौं महाधिवेशनमा बीपी कोइराला सभापतिमा निर्वाचित हुँदा ३८ वर्ष पुगेका थिए । तीनै बीपी ४५ वर्षको उमेरमा २०१६ जेठ १३ मा दुईतिहाइ जनमतका साथ पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । बीपीजस्ता युवा नेताहरूले जन्माएको कांग्रेस हुर्काउँदा पनि उनका समवयीहरू नै सक्रिय थिए । तर, ७५ वर्षीय कांग्रेसको नेतृत्व अहिले भने ७६ वर्षीय शेरबहादुर देउवाले गरिरहेका छन् । पार्टी मात्रै होइन, यतिबेला राज्यसत्ताकै नेतृत्व सम्हालिरहेका देउवा मंसिरमा हुने १४ औं महाधिवेशनमार्फत सभापति बन्ने र आम निर्वाचनपछि छैटौंपटक प्रधानमन्त्री बन्ने मार्गचित्रमा छन् ।

बीपी प्रधानमन्त्री भएकै उमेरवरिपरि रहेका युवा नेताहरू विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल नेतृत्वमा हस्तक्षेप गर्न अघि सरेका छन् । ३१ वर्षको उमेरमा पहिलोपटक सांसद बनेका गगन थापा ४५ वर्ष पुग्दा एकपटक मन्त्री भए, तर पार्टीमा केन्द्रीय सदस्यभन्दा माथि उक्लन सकेका छैनन् । अघिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थापा यसपटक पनि उही पदका बलिया प्रत्याशी हुन् । यसपटक महामन्त्री र अर्कोपटक सभापति बन्ने उनको योजना छ ।

भदौ २४ गते बीपी जयन्तीकै अवसर पारेर अर्का युवा नेता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्ने घोषणा गरे । पार्टी प्रवक्ता शर्माले पनि यसपालि महामन्त्री नबने शीर्षस्थ स्थानमा पुग्न ढिला हुने निष्कर्ष निकालेका छन् । युवा नेता प्रदीप पौडेल पनि महामन्त्रीका प्रत्याशी हुन् । थापा र शर्माले औपचारिक कार्यक्रममार्फत घोषणा गरिसके भने पौडेल घोषणाको तयारी गर्दै छन् ।

तेस्रो पुस्ताबाट ५१ वर्षीय कल्याण गुरुङले सभापतिमै प्रतिस्पर्धा गर्ने आँट गरेका छन्, तर पनि समकालीन नेताहरूले समेत उनलाई साथ दिएका छैनन् । पार्टीमा पदाधिकारीको आकांक्षा राखेर हिँड्ने अरू पनि धेरै युवा छन् । नेतृत्वमा पुग्ने आकांक्षा त अरू युवा नेतामा पनि छ, तर धेरैजसोले हार्ने जोखिम लिन खोजेका छैनन् । त्यसैले सभापतिमा फेरि पनि पुराना नेताहरूबीच नै टक्कर हुँदै छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैले फेरि नेतृत्वमा प्रतिस्पर्धाको दाबी गर्दै आएका छन् । देउवा आफ्नो टिममा निर्विवाद उम्मेदवार देखिएका छन् । तर, पौडेल भने समस्यामा छन् । यद्यपि वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापति दाबी गरेपछि देउवाको जित चुनौतीपूर्ण बनेको छ ।

कांग्रेसका संस्थापकमध्येका बीपी, गणेशमान र महेन्द्रनारायण निधिका कान्छा सुपुत्रहरू क्रमशः शशांक, प्रकाशमान र निधिबीच नै नेतृत्वको प्रतिस्पर्धा छ । कोइराला परिवारबाटै शशांक र दाजु शेखर कोइराला (बीपीका भाइका छोरा) बीच प्रतिस्पर्धा छ । नेतृत्व हस्तान्तरण हुनुपर्ने मुद्दामा एकमत उनीहरू कसले लिने भन्नेमा भने सहमत हुन सकेका छैनन् । शशांक, निधि र प्रकाशमानबीच समझदारी बनाएर एउटै उम्मेदवार दिने पहलकदमी पनि केही समय चल्यो । तर सहमति नजुटेपछि निधिले सम्पर्क कार्यालय खोलेर तयारी अघि बढाएका छन् ।

प्रकाशमान पनि नेतृत्व हस्तान्तरणको पक्षमा बलियोसँग उभिएका छन् । ‘तपाईं (देउवा) को नेतृत्वमा पार्टी पुगेपछि समयमै महाधिवेशन पनि हुन सकेन । संगठन चलायमान भएन । कांग्रेसकै नेतृत्वमा संविधान जारी गर्ने ऐतिहासिक उपलब्धि हासिल गर्दा पनि ०७४ को निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोर्नुपर्‍यो । अब तपाईंले पार्टी चलाउन सक्नुहुन्न भनेर मैले सभापतिजीलाई भनेको छु,’ सिंहले कान्तिपुरसँग भने, ‘ठीक त्यसैगरी रामचन्द्र दाइलाई पनि मैले आम कार्यकर्ताहरूको चाहना पनि नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने छ । यसलाई मनन गरेर दोस्रो पुस्ताका नेताहरूलाई अघि बढाउनुहोस् भनेको छु ।’ शशांक, शेखर र निधिले पनि देउवा र पौडेललाई यस्तै सन्देश दिँदै आएका छन् ।

बाहिरी ढोकाबाट गरिने प्रतिस्पर्धाले नेतृत्वमा नपुगिने देखेपछि युवा नेताहरू पनि देउवा र पौडेललाई विस्थापित गर्न दोस्रो पुस्ताका आकांक्षीहरूकै साथ खोजेका छन् । यसपटक दोस्रो पुस्तामा नेतृत्व ल्याउन सकिए अर्को १५ औं महाधिवेशनमा नेतृत्व लिन सहज हुने बुझाइ गगन पुस्ताका नेताहरूमा देखिन्छ । त्यही मनस्थितिअनुसार नै उनीहरूले दोस्रो पुस्ताका आकांक्षीलाई नेतृत्व लिन मैदान खाली छाडिदिएका छन् ।

देउवा र पौडेलको आकांक्षा समाजको गति र युवाहरूको चाहनाबीच कतै मेल नखाने युवा नेताहरूको दाबी छ । अघिल्लो महाधिवेशनमा क्रियाशील सदस्य ४ लाख ७० हजार थिए भने अहिले यो संख्या ९ लाख पुगिसकेको छ । जसमा १६ देखि ४० वर्ष उमेर समूहका ३३ प्रतिशत छन् । ४१ वर्षदेखि ६० वर्षका ३७ प्रतिशत छन् । यसरी ६० वर्षमुनिका कार्यकर्ताको संख्या ७० प्रतिशत छ ।

कांग्रेसका नौ लाख कार्यकर्ताको भावनाबाट चल्ने नेतृत्व आउनुपर्ने युवाहरूको माग छ । तर परम्परागत पार्टीको गुट र सिन्डिकेट छिचोलेर बाहिरबाट नेतृत्वमा उदाउन कांग्रेसमा असम्भवप्रायः रहेको कांग्रेस युवा नेता प्रदीप पौडेल बताउँछन् । थापा, शर्मा र पौडेलले महामन्त्री घोषणा गर्दा पनि कुनै न कुनै टिममा लामबद्ध हुने तयारी छ । थापा पौडेल समूहबाट उम्मेदवार हुने पक्काजस्तै भएको छ । शर्मा र पौडेलले कुन टिममा जाने खुलाएका छैनन् ।

‘युवापंक्तिको उम्मेदवारी घोषणाले एकैपटक देउवा र पौडेललाई दबाब दिइरहेको छ,’ कांग्रेसका एक नेताले भने । ०७४ को निर्वाचनपछि नै नेतृत्वको हस्तान्तरणको मुद्दा उठाउँदै थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्न शेरचन, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव र किरण यादवले पार्टीमा संयुक्त दस्ताबेजसमेत प्रस्तुत गरेका थिए ।

‘०४८ सालयता जसरी विचार र संगठनका ढोका बन्द भए, त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेन्डा, विचार र क्षमताका दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको छ,’ उनीहरूको दस्ताबेजमा उल्लेख छ, ‘पार्टीको चुस्त संगठन चलाउन प्रस्ट सैद्धान्तिक खाका त कोर्‍यौं, तर त्यसलाई चलाउने नेतृत्व गतिशील छैन, यथास्थितिवादी छ भने संगठन कसरी चलायमान हुन्छ ?

पार्टीलाई गतिशील बनाउने र यथास्थितिबाट माथि उठाउने भने पनि वर्तमान दोस्रो पुस्ताका नेताहरूका ठोस योजना, दृष्टिकोण र कार्यक्रमको अभाव देखिएको छ । नेतृत्वको आकांक्षा राख्ने दोस्रो पुस्ताका नेताहरूमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, शेखर कोइराला छन् । सिटौला, श्रेष्ठ र शेखर ७० काटिसकेका छन् । शशांक ६३, निधि ६५ र सिंह ६६ वर्षका छन् । १४ औं महाधिवेशनमा पुग्दा उनीहरूको उमेर पनि ७० कट्छ । यसैपटक नेतृत्वमा आउन नसकिए अर्को महाधिवेशनमा गगन पुस्ता नेतृत्वमा पुग्ने भय उनीहरूमा छ । सिंह भने उमेरको दबाबभन्दा पनि आम कार्यकर्ताको चाहनाअनुसार पहिलो पुस्ताले सम्मानजनक बिदाइ लिनुपर्ने बताउँछन् । ‘उमेरभन्दा पनि दृष्टिकोण र क्रियाशीलताको कुरा हो । ७० वर्षको उमेर पुगे पनि समाजको मुद्दा र युवाहरूको भावना बुझ्न सक्ने नेतृत्व भयो भने खासै फरक पर्दैन,’ उनी भन्छन्, ‘मेरो हकमा पनि त्यही हो ।’

प्रतिस्पर्धीहरूका लागि सबैभन्दा बढी चुनौती पार्टी र राज्यसत्ताको केन्द्रमा देउवा छन् । २० वर्षसम्म कोइरालाविरोधी संगठन निर्माण गरेर बलियो गुट बनाएका देउवा १३ औं महाधिवेशनबाट सभापति बनेपछि झनै बलियो बने । देउवाका लागि आफ्नो टिम जोगाउने चुनौती छ । दुईपटकभन्दा बढी पार्टी सभापति बन्न नपाइने विधानको व्यवस्थाका कारण देउवाका लागि पनि यो अन्तिम मौका हो । देउवाका समकालीन साथी र स्थायी प्रतिद्वन्द्वी ७७ वर्षीय पौडेल आफ्नै टिमबाट सर्वसम्मत उम्मेदवार बन्न धौधौ छ । उनलाई शशांक, प्रकाशमान र शेखर तीनै जनाले अभिभावक बन्न सम्झाइरहेका छन् । तर, यी तीनै जना आपसमा मिल्न नसक्दा आफू सर्वसम्मत हुने पौडेलको अपेक्षा छ ।

एउटै उम्मेदवार बनाउन नसक्दा वडा अधिवेशन सुरु हुने अघिल्लो दिन भदौ १७ मा पौडेलसहितका चारै आकांक्षी सँगै बसेर एउटै टिम खडा गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यकर्तालाई आशा जगाउन प्रतिबद्धता व्यक्त भए पनि चारै जनाले पछि नहट्ने संकेत गरिरहेका छन् । चार दिनअघि शशांकले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पुगेर आफू सभापतिको उम्मेदवार बन्ने अनौपचारिक घोषणा गरे ।

देउवा भने संस्थापनइतर पक्षमा भइरहेको नेतृत्वको भिडन्तलाई नियालिरहेका छन् । प्रतिद्वन्द्वी खेमाबाट एउटाभन्दा बढी उम्मदेवार हुँदा त्यसको लाभ आफूलाई मिल्ने आकलन उनको छ । तर, उनी आफैंलाई पनि पहिलाजस्तो सहज छैन । पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका गोपालमान श्रेष्ठले पनि सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । उमेर र सरकारको व्यस्तताले देउवाबाट पार्टी चल्न नसक्ने ठम्याइ श्रेष्ठको छ । पछिल्लोपटक प्रवक्ता शर्माले समेत आफ्नै विवेकमा उम्मेदवारी घोषणा गरेकाले देउवा दबाबमा छन् । अब आफ्नै पक्षबाट पनि महामन्त्रीका लागि दाबेदार बढी भएकाले व्यवस्थापन गर्न असहज छ । महामन्त्रीका लागि बालकृष्ण खाँण, प्रकाशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र रमेश लेखकको दाबी छ । ‘व्यवस्थापन हुन नसक्ने खालको समस्या सभापतिका लागि छैन,’ सहमहामन्त्रीसमेत रहेका महतले भने, ‘सेटल गर्न सकिने प्रशस्त ठाउँ छन् ।’

०४८ सालको आम निर्वाचनपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भएका देउवा ०५२ सालमा पहिलोपल्ट प्रधानमन्त्री भए । प्रधानमन्त्री छँदा उनी ४९ वर्षका थिए । अहिले पाँचौंपटक प्रधानमन्त्री बनेका छन् । विभाजन भएको बेला कांग्रेस (प्रजातान्त्रिक) र एकीकृत भएपछि नेपाली कांग्रेसकै सभापति भए । देउवासँगै पौडेल पनि ०४८ सालदेखि नै निरन्तर राज्य सत्तामा सामेल छन् । देउवा पहिलोपल्ट प्रधानमन्त्री छँदा उनी सभामुख बने । पटकपटक मन्त्री भएका पौडेल पार्टीमा सुशील कोइरालाको निधनपछि छोटो समय कार्यवाहक सभापति भए । ०४८ सालदेखि निरन्तर पार्टीको केन्द्रमा रहेका देउवा र पौडेलमध्ये एकले नेतृत्व लिएमा कांग्रेसको युवा पंक्तिमा निराशा थपिने निश्चित छ ।

प्रकाशित : भाद्र ३०, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङका सबै विद्यालय खुले

आश गुरुङ

लमजुङ — कोरोना कहर मत्थर भएपछि जिल्लाका प्रायः विद्यालयले नियमित पठनपाठन थालेका छन् । केहीले भने बिहान र दिउँसोको सत्र मिलाएर पढाइ थालेका छन् । कोरोना जोखिम कायमै भए पनि संक्रमण घट्न थालेको भन्दै स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएका हुन् । स्थानीय तहको शिक्षा शाखाले भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजर प्रयोग गर्न भनेको छ ।

मर्स्याङ्दी गाउँपालिकामा मंगलबारदेखि विद्यालय खुलेका छन् । खुदीस्थित अमर माविका प्रधानाध्यापक तीर्थबहादुर बस्नेतले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी पठनपाठन थालिएको बताए । ‘गाउँपालिकाको निर्णय र निर्देशनअनुसार हामीले सिकाइ सहजीकरण थालेका छौं । भौतिक दूरी कायम छ । विद्यार्थीलाई मास्क लगाएर आउन भनेका छौं,’ उनले भने, ‘विद्यालयले साबुनपानी साथै सेनिटाइजरको व्यवस्था गरेको छ ।’

बेंसीसहर नगरपालिका, दोर्दी, क्व्होलासोंथर र दूधपोखरी गाउँपालिकाका विद्यालय भदौ पहिलो साताबाटै खुलेका थिए । क्व्होलासोंथरका शिक्षा शाखा प्रमुख दीपक पौडेलका अनुसार कोरोना जोखिम कम भएकोले कम विद्यार्थी भएका र सहरबाट प्रत्यक्ष सम्पर्कमा नरहेका गाउँमा भदौ १ बाटै विद्यालय खुलेका हुन् ।

सुन्दरबजारका शिक्षा शाखा उपसचिव ठाकुरजी तिवारीका अनुसार भदौ २२ देखि नगरका विद्यालयमा भौतिक रूपमै सिकाइ सहजीकरण थालिएको छ । ‘जोखिम यथावत् छ । संक्रमण भने घटेको छ । न्यून विद्यार्थी भएका विद्यालय साविकझैं खुल्न थालेका छन् । धेरै विद्यार्थी भएका विद्यालयमा आलोपालो सहजीकरण गर्न भनेका छौं,’ उनले भने । राइनासमा भदौ २३ देखि विद्यालय खुलेका छन् । मध्यनेपाल नगरपालिकामा बुधबारदेखि विद्यालय खुल्दै छन् ।

प्याब्सन लमजुङका अध्यक्ष मेनबहादुर घलेका अनुसार संस्थागत विद्यालयले करिब ३ महिना अनलाइन कक्षा सञ्चालन गरे । त्यसपछि त्रैमासिक परीक्षासमेत सकाएको उनले बताए । ‘परीक्षा सकेपछि हामीले भौतिक उपस्थितिमै विद्यार्थीलाई सिकाइ सहजीकरण थालेका छौं । यसका लागि अभिभावकसँग अनलाइन बैठक राखेर अघि बढेका थियौं,’ उनले भने, ‘सोहीअनुसार प्रथम त्रैमासिक सक्यौं । अहिले हाम्रा विद्यार्थी विद्यालय पोसाकमै उपस्थित हुन थालेका छन् ।’ उनका अनुसार दैनिक ३ सत्रमा पठनपाठन भइरहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख वीरबहादुर गुरुङले विद्यालयमा सिकाइ सहजीकरण थालिएको बताए । सरकारी निर्देशन अगावै विद्यालयमा भौतिक रूपमै सिकाइ सहजीकरण गरिएको जानकारीमा आएको उनले बताए । जिल्लामा ३ सय ३५ सामुदायिक र ३३ संस्थागत विद्यालय छन् ।

प्रकाशित : भाद्र ३०, २०७८ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×