कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमै बोक्सीको आरोपमा यातना, पति र ससुरासहित ४ पक्राउ

काठमाडौँ — काठमाडौंमै बोक्सीको आरोपमा एक महिलाले परिवारकै सदस्यबाट शारीरिक यातना भोग्‍नु परेको छ । पेट दुख्यो भनेर उपचारका लागि पतिसँग हारगुहार गरेकी ३० वर्षीय ती महिलालाई उल्टै बोक्सीको आरोप लगाएर पति, ससुरा, मामाससुरा र छिमेकीले कुटपिट गरी शारीरिक यातना दिएका हुन् ।

काठमाडौंमै बोक्सीको आरोपमा यातना, पति र ससुरासहित ४ पक्राउ

अपराधमा संलग्न चारैजनालाई पीडितको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको छ । महानागरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दका अनुसार अपराध आरोपमा पीडित महिलाका पति ३३ वर्षीय जितेन्द्र महर्जन, ससुरा ४० वर्षीय दिपेन्द्रकुमार थिङ, मामाससुरा ५२ वर्षीय दक्ष नारायण महर्जन र ट्याक्सी चालक ३३ वर्षीय जनार्दन पाण्डे पक्राउ परेका छन् । घटना एक साताअघि नै घटेको हो ।

डीएसपी चन्दका अनुसार पीडित महिलाले भदौ २१ मा पेट दुःख्यो भनेर उपचारका लागि पतिसँग हारगुहार गरेकी थिइन् । त्यसपछि उपचारका लागि भन्दै जितेन्द्रले कोठाबाट निस्किए । तर, अस्पताल लैजानुको सट्टा उनले पत्नीलाई मामाससुराको सहयोगमा स्वयम्भूस्थित धामी/झाँक्रीको कोठामा पुर्‍याए ।

जनार्दन पाण्डे ट्याक्सी चालक हुन् । पाण्डेकै ट्याक्सीमा राखेर पीडितलाई धामीको कोठामा पुर्‍याइएको थियो । पाण्डेलाई प्रहरीले घटनाको मतियार बनाइएको छ । पीडितका ससुरा दिपेन्द्र झारफुक गर्छन् ।

उनको स्वयम्भू/ठूलोभर्‍याङमा कोठा छ । त्यही क्रममा जोखाना हेरेपछि बुहारीमाथि दीपेन्द्रले बोक्सी भन्दै कुटपिट गर्न थाले ।

महिलामाथि बोक्सी चढेको भन्दै कुटपिट गर्न थालेपछि महिला चिच्याउँदै हारगुहार मागेकी थिइन् । कुटपिटमा त्यहाँ जम्मा भएका अरुले पनि दीपेन्द्रलाई साथ दिए । त्यस क्रममा मलमूत्र नै खुवाउने प्रयास भएको डीएसपी चन्दले बताए । घटना २० गते भएको हो । २१ गते पीडित महिलाले माइती पक्षको सहयोगमा सहयोगमा प्रहरीमा जाहेरी दिइन् । भोलिपल्टै २२ गते अपराधमा संलग्न चारैजनालाई पक्राउ गरी अनुसन्धान थालिएको डीएसपी चन्दले जानकारी दिए । पीडित महिलाको शरीरमा निलडाम पनि छ । चन्दले यस्ता घटना अन्यत्र पनि घट्नसक्ने आशंका व्यक्ति गर्दै अपराध सहेर नबस्न सर्वसाधारणलाई आग्रह गरे ।

‘घटनाकै दिन उजुरी आयो, लगत्तै प्रहरीले अघि बढाएको अनुसन्धानका क्रममा आरोपित चारैजना भोलिपल्ट पक्राउ परे, अहिले म्याद थप गरी अनुसन्धान अघि बढेको छ,’ चन्दले भने, ‘यस्ता अमानवीय घटना अन्यत्र पनि घट्नसक्छन्, अपराध सहेर कोहीपनि नबसौं, प्रहरी यस्ता विषयमा थप संवेदनशील भई अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध छ ।’

प्रकाशित : भाद्र २९, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?