२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

अपांगता भएकाको सिकाइ अवरुद्ध

कोरोना महामारीले विद्यालय बन्द भए, वैकल्पिक सिकाइको व्यवस्था पनि भएन
विद्या राई

काठमाडौँ — ललितपुर लुभुकी रञ्जिता स्कुल जान थालेपछि अलिअलि हिँड्न सिक्दै थिइन् । अपांगता भएका व्यक्तिहरू पढ्ने विशेष कक्षामा भर्ना गरेपछि सिकाइमा केही सुधार भइरहेको अभिभावकले महसुस गर्दै थिए । कोरोना महामारी फैलिन थालेसँगै ०७६ चैतमा स्कुल बन्द भयो । लामो समय स्कुल जान नपाएपछि उनले सिकेका कुरा सबै बिर्सिएकी छन् । आनीबानीमा पनि निकै परिवर्तन आएको छ । 

अपांगता भएकाको सिकाइ अवरुद्ध

‘केही सिक्ली, बुझ्ली, आफ्नो स्याहार आफैं गर्न सक्ने बन्ली भन्ने आस थियो, स्कुलै बन्द भो, अचेल सबै बिर्सिई,’ आमा जयन्ती श्रेष्ठले भनिन् । बौद्धिक अपांगता भएकी २७ वर्षीया रञ्जिता राम्ररी बोल्न, हिँड्न, खान, सरसफाइ गर्न जान्दिनन् । उमेरअनुसार स्मरणशक्तिको विकास भएको छैन ।

त्यस्तै चापागाउँकी अञ्जना लामाकी ९ वर्षीया छोरी जानकी स्कुल लाग्दा आफूजस्तै साथीहरूसँग दिनभर भुलिन्थिन्, खेल्थिन्, नाच्थिन्, गाउँथिन् । कोरोना महामारीले स्कुल बन्द भएपछि घरैमा छिन् । एकै ठाउँमा बसिरहनुपर्दा उकुसमुकुसले होला रातदिन कराउने, रुने र नटेर्ने भएकी छन् । पढेको कुरा बिर्सिन थालेकी छन् । छोरीको व्यवहारमा आएको परिवर्तनले उनको मन पोल्छ ।

तर राज्य भने जयन्ती र अञ्जनाजस्ता अभिभावकको पीडाबारे पूरै बेखबर देखिन्छ । महामारीका बेला बौद्धिक अपांगता भएका विद्यार्थीले पढाइका क्रममा के–कस्ता कठिनाइ भोगिरहेका छन्, त्यसबारेमा सरकारले चासो देखाएको छैन । यस्ता विद्यार्थीको सिकाइ प्रक्रिया स्वभावैले ढिला हुन्छ । उनीहरूले अन्य विद्यार्थीको जसरी सिक्न र बुझ्न कठिन हुन्छ । कोरोना महामारीले गर्दा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न असम्भव भएपछि सरकारले देशभर वैकल्पिक सिकाइ (अनलाइन) कक्षा सञ्चालन गरेको छ तर बौद्धिक अपांगता भएकाहरू त्यसमा अट्न सकेका छैनन् ।

कोरोनाको पहिलो बन्दाबन्दीको सुरुआतमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई यसबारे लिखित जानकारी गराउँदा पनि हालसम्म कुनै वैकल्पिक विधिबारे सरकारको तर्फबाट प्रयास नभएको बौद्धिक अपांगताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बताए ।

नुवाकोटकी निता आचार्यलाई दिनहुँ ५/६ कल आउँछन्, ‘स्कुल कहिले खोल्ने ? छोराछोरी थेग्नै गाह्रो भो, काममा जान पाइएन ।’ उनी नुवाकोटको विदुर नगरपालिकामा बौद्धिक अपांगता भएका बालबालिकालाई पढाउने स्कुलकी कार्यालय सहयोगी हुन् । कोरोना महामारीले गर्दा स्कुल खोल्ने आँट गर्न सकेका छैनन् । ‘स्कुलमा बौद्धिक अपांगता भएका विद्यार्थीका आवश्यकताअनुसार फरक–फरक थेरापी गराएर राखिएको हुन्छ, नाम लेख्नसक्ने भएकाहरूले लेख्न बिर्सिए, दुःख दिए, काममा जान पाएनौं भनेर दिनदिनै अभिभावकहरूले फोन गर्नुहुन्छ,’ उनले भनिन् ।

उनीहरूले पोहोर बन्दाबन्दी खुलेपछि खोल्ने कोसिस गरेका थिए तर संक्रमणको डरले गर्दा खोलेनन् । ‘बौद्धिक अपांगताका भएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता धेरै कमजोर हुन्छ, कोरोना लागिहाल्यो, केही भइहाल्यो भने जिम्मेवारी कसले लिने त, डरले खोलेनौं,’ उनले भनिन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले भइरहेका अनलाइन कक्षामा कुल विद्यार्थीको ३० प्रतिशतलाई मात्रै समेट्न सकिएको बताए । ‘अपांगता भएका विद्यार्थीलाई वैकल्पिक माध्यममा लैजान अझै समय लाग्छ, कोरोना महामारी घट्दै गएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नुपर्छ भन्नेमा छौं,’ उनले भने, ‘सबै बालबालिकाले पढ्न पाउने हक छ । हामी सबैखाले अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउनेमा सकरात्मक छौं ।’

शिक्षा मन्त्रालय पनि जोखिमको अवस्था हेरेर विद्यालय खोल्नुपर्ने निष्कर्षमा पुगेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय सञ्चालनका विषयमा कार्ययोजना माग गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले स्मार्ट लकडाउनको मापदण्डमा रहेर उपत्यकाका विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरिसकेको छ ।

बौद्धिक अपांगता अभिभावक महासंघ नेपालका अनुसार देशभर १४ वटा विशेष विद्यालय र १ सय २४ वटा स्रोत कक्षा छन् । एक शिक्षकलाई १० विद्यार्थी र १० विद्यार्थीलाई एक आया (हेरचाह गर्ने कर्मचारी) को व्यवस्था छ । बौद्धिक अपांगता भएका विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सरल भाषामा अध्ययन सामग्री तयार गरिएको हुन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर बौद्धिक अपांगता भएका १४ हजार ८८८ छन् । नीलकण्ठ नगरपालिका–३ धादिङबेंसीका २७ वर्षीय शिव श्रेष्ठको भनाइमा सामान्य विद्यार्थीसरह व्यवहार गर्दा समस्या परेको छ । ‘हाम्रो स्मरणशक्ति कमजोर हुन्छ, पढ्छु केही गर्छुभन्दा अरूसरह नतिजा दिन सकिरहेका छैनौं,’ उनले भने ।

उनकै जस्तो अनुभव हेटौंडा उपमहानगरपालिका हुप्राचौरका २८ वर्षीय सुदीप पौडेलको पनि छ । उनीहरू दुवै बौद्धिक अपांग हुन् । महामारीले गर्दा पढाइलेखाइको बानी छुट्दा थुप्रैले सुदीप र शिवकै नियति खेप्नुपर्ने स्थिति आउने अभिभावक तथा बौद्धिक अपांगताका क्षेत्रमा पैरवी गर्ने सविना बस्नेतले बताइन् ।

प्रकाशित : भाद्र २९, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?