कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी उपाध्यक्ष फर्किइन्, प्रमुख ६ दलले के भने ? 

काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार चार दिने नेपाल भ्रमण गरेर आइतबार साँझ फर्केकी छन् । बिहीबार बिहान नेपाल आइपुगेकी सुमारले आइतबार पत्रकार सम्मेलन गरेर भ्रमणपछिको आफ्नो सन्देश दिएर गइन् ।

एमसीसी उपाध्यक्ष फर्किइन्, प्रमुख ६ दलले के भने ? 

नयाँ सरकार बनेसँगै लामो समयदेखि सांसदमा विचाराधीन रहेको एमसीसी सम्झौता अनुमोदन गराउन अमेरिकाले थालेको प्रयास स्वरुप एमसीसी उपाध्यक्ष सुमारको नेपाल भ्रमण भएको हो । एमसीसी सम्झौता अनुदमोदनको विषयमा मुलुक पुरै विभाजित अवस्थामा छ । सुमार नेपाल आउने छेको पारेर एमसीसीको विरोधमा रहेकाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । बिहीबार नेपाल भ्रमणको पूर्वसन्ध्यामा उपाध्यक्ष सुमारले अर्थमन्त्रालयको ११ बुँदे प्रश्नको लिखित जवाफ दिएकी थिइन् ।

नेपाल आउनेबित्तिकै त्यसै दिन दिउँसो विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भेटघाट सुरु गरिन् । त्यसैगरी नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता सामाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो, उर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल अमेरिका संसदीय मैत्री समूहका सांसदहरुसँग छुट्टाछुटै भेट गरेकी थिइन् । सबै भेटमा उनको जोड एमसीसी जतिसक्दो चाँडो अनुमोदन गराउनेमा जोड थियो । त्यसैगरी एमसीसी सम्झौतामा रहेका विवादित विषयमा स्पष्ट पार्ने कोसिस गरेकी थिइन् । उनले राष्ट्रिय दलको रुपमा मान्यताप्राप्त सबै पार्टीका नेताहरुसँग भेटिन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स विभिन्न पक्षको धारणा बुझ्‍नका लागि नेपाल भ्रमणमा आएको जानकारी दिएको थियो । नेपाल भ्रमणपछि आइतबार गरेको पत्रकार सम्मेलनमा एससीसी जतिसक्दो चाँडो पारित हुँदा नेपाली अर्थतन्त्रलाई चलयमान बनाउन सहयोग पुग्ने दाबी सुमारले गरेकी थिइन् । उनले सम्झौतापछि नेपालमा ८ वटा सरकार बनेको सबैले कार्यान्वयनका लागि सकारात्मक रहेको जानकारी गराएकी थिइन् । उनले नेपालको आग्रहमा एमसीसी आएको बताएइन् ।

प्रमुख दलले सुमारलाई के–के भने ?

प्रधानमन्त्री/कांग्रेस : अनुमोदनमा जोड

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि राष्ट्रियस्तरमा छलफल भैरहेको बताएका थिए । देउवालाई सम्झौता अनुमोदनका लागि सरकारले पहलको गरेको धारणाा राखेका थिए । भेटमा नेपाल–अमेरिकाबीच एमसीसी सम्झौता र यसले नेपालको अर्थतन्त्रलाई रूपान्तरण गर्ने सम्भावना रहेको धारणा देउवाको थियो । विपक्षी दलको नेता हुँदै देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बताउँदै आएका थिए ।

एमाले : ‘पर्ख र हेर’

काठमाडौं भ्रमणको सुरुवात विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटबाट भएको थियो । भेटमा सुमारले एमसीसी सम्झौताअघि बढाउने विषयमा जिज्ञासा राखेकी थिइन् । जसको जवाफमा अध्यक्ष ओलीले पारित गराउने विषय सत्तापक्षमा निर्भर हुने बताए । सत्तामा हुँदा एमसीसी अनुमोदन गराउन प्रयास गरेका ओलीले अब यो विषयमा के हुने भन्ने स्पष्ट जवाफ दिएका थिएनन् । उनले एमसीसीको विषय सत्तापक्षको कोर्टमा रहेको बताएका थिए ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा सरकार हुँदा सम्झौता अनुमोदन गराउन संसद्‌मा दर्ता गराएको पनि जनाकारी दिएका थिए । उनले देउवा नेतृत्वको सरकारले एमसीसीको विषयमा कुनै छलफल नगरेको र तयारीको विषयमा जानकारी नगराएको पनि उल्लेख गरेका थिए । सत्तापक्षबाट ठोस धारणा नआएको अवस्थामा प्रतिपक्षबाट धारणा बनाइहाल्नु आवश्यक नदेखेको जवाफ ओलीको थियो । ओलीले सम्झौता पारित गर्न विषयमा प्रतिनिधिसभाका सभामुखहरुको भूमिका नकारात्मक रहेको जानकारी गराएका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा र सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई रोकेको बताएका थिए । ओलीले सत्तारुढ दलका १ सय ६५ जना सांसदको समर्थन रहेका कारण सरकारले चाहे आफू असहमत भएपनि पारित हुनसक्ने जानकारी गराएका थिए । ओली प्रधानमन्त्री हुँदा २०७६ असार ३० गते सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गराएका थिए ।

माओवादी केन्द्र : राष्ट्रिय सहमतिको पक्षमा

सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अघि बढाउने विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका थिए । सुमारले दाहाल निवास खुमलटार पुगेर शुक्रबार बिहान भेटेकी थिइन् । माओवादी केन्द्रभित्र एमसीसीबारे दुईथरी धारणा छ । एउटा पक्ष सम्झौता संशोधनसहित पारित गर्नुपर्ने र अर्को पक्ष खारेज गर्नुपर्ने धारणा राख्दै आएको छ ।

नेकपा (एस ) : गठबन्धनमा निर्भर

बिहीबार नै एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहितको टोलीसँग एमसीसीको प्रतिनिधि मण्डलले सिंहदरवारमा भेट गरेको थियो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कार्यकक्षमा भएको भेटमा अध्यक्ष नेपालले एमसीसीको विषयमा सत्तारुढ गठबन्धनमा सल्लाह गरेर निर्णय गर्ने जानकारी दिएका थिए । उनले नेपालको राष्ट्रिय हितमा भए पारित हुने र नभए नहुने बताएका थिए । अध्यक्ष नेपालले नेपालबाट नभै अमेरिकाको फरक–फरक धारणाा आएको बताएका थिए ।

नेकपा हुँदा एमसीसीको विषयमा अध्ययन गर्न गठन गरिएको कार्यदलका संयोजक झलनाथ खनाल पनि आफ्नै दलमा रहेकाले उनीसँग सल्लाहमा निर्णय हुने जानकारी गराएका थिए । खनाल नेतृत्वको कार्यदलले संशोधनसहित एमसीसी पारित गर्नुपर्ने सुझाव दिएको थियो ।

जसपा : पारित गर्न सकारात्मक

सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका संघीय परिषद्‌का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग पनि सुमार नेतृत्वको टोलीले भेट गरेको थियो । नक्सालस्थित होटल मेरिएटमा भएको भेटमा सुमारलाई भट्टराई र यादवले सम्झौता अनुमोदनका लागि सकारात्मक रहेको जानकारी गराएका थिए । भट्टराईले भेटमा यस विषयमा सबै राजनीतिक दलहरुसँग छलफल हुने जानकारी गराएका थिए । भट्टराईले ट्विट गर्दै एमसीसीको विषयमा प्रमुख दलहरुसँग आवश्यक छलफल पछि निर्णय गर्ने जानकारी गराएका थिए ।

लोसपा : पारित गर्ने /नगर्ने सत्तापक्षको हातमा

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलभित्र एमसीसीको विषयमा विवाद रहेको जानकारी उपाध्यक्ष सुमारलाई गराएका थिए । मेटिएट होटलमा अर्को नेता राजेन्द्र महतोसँग शुक्रबार छलफलमा गएका ठाकुरले एमसीसी पारित गराउन सकारात्मक रहेको जानकारी गराएका थिए । तर उनले सत्तारुढ गठबन्धनभित्र विवाद रहेको कारण पारित हुने/नहुने निश्चत नभएको बताएका थिए ।


प्रकाशित : भाद्र २७, २०७८ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?