कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले विभाजनमा सभामुखले सहयोगी भूमिका खेल्नुभयो : भट्टराई

काठमाडौँ — एमालेको विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सहयोगी भूमिका खेलेकोप्रति आपत्ति जनाउँदै संसद् अवरुद्ध गरिएको एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । 

एमाले विभाजनमा सभामुखले सहयोगी भूमिका खेल्नुभयो : भट्टराई

एमाले स्थायी कमिटी शनिबार बसेको बैठकपछि सञ्चारकर्मीले संसद्मा एमालेको अवरोधबारे सोधेको प्रश्नमा सचिव भट्टराईले नियतवश नभई सभामुखको भूमिकाबारे प्रश्न उठाएको जवाफ दिए । 'संसद् अवरोध गर्ने हाम्रो कुनै उद्देश्य छैन । हाम्रो त्यो नियत पनि हैन । तर सभामुखज्यूले जे भूमिका खेल्नुभयो, पार्टी विभाजनको निम्ति प्रकारान्तरले उहाँले सहयोगी भूमिका खेल्नुभयो, त्यसप्रति हाम्रो आपत्ति हो,' उनले भने ।

सभामुख निष्पक्ष हुनुपर्नेमा सापकोटा सत्तापक्षमा लागेको भट्टराईको आरोप थियो । 'संसद्मा सामान्यतया तीनवटा पक्ष हुन्छन् । सत्तापक्ष हुन्छ, प्रतिपक्ष हुन्छ र सभामुख हुन्छ । सभामुख जहिले पनि बीचमा हुन्छ । तपाईंहरूले आसन हेर्नुभयो भने सत्तापक्ष र प्रतिपक्षको बीचमा छ । त्यो आसन बीचमा किन बनाइयो ? छेउमा पनि त बनाउन सकिन्थ्यो । छेउमा राख्दा पनि सबै सांसदले देखिहाल्थे । उहाँले सबै सांसदलाई देख्नुहुन्थ्यो । तर बीचमा किन राखियो भन्दा सभामुख सत्तापक्षको पनि हुँदैन प्रतिपक्षको पनि हुँदैन ऊ संसद्को नेता हो,' भट्टराईको आरोप थियो, 'उहाँले संसद्को नेताको रूपमा भन्दा सत्तापक्षको एउटा सदस्यको रुपमा ज्यादा भूमिका खेल्नुभयो ।'

एमाले विभाजनका क्रममा जोडिएका सभामुखले पदीय आचरणअनुसार काम नगरेको भट्टराईको भनाइ छ । 'एमालेको विभाजनमा उहाँले पदीय आचरण गर्नु भएन । त्यसमा उहाँले सहयोग गर्नुभयो भन्ने हाम्रो टिप्पणी छ । त्यो आम टिप्पणी हो । त्यसमा उहाँले चित्तबुझ्दो जवाफ दिनुभएको छैन । किन त्यस्तो भयो भन्ने आधारमा उहाँले चित्तबुझ्दो जवाफ दिनुभएको छैन,' उनले भने ।

संसद् सुचारु गर्नका लागि सत्तापक्षले सहज वातावरण बनाउनुपर्ने र त्यसको सहजीकरणको काम सभामुखले गर्नुपर्ने भट्टराईको सुझाव थियो । उनले अहिलेको प्रतिपक्षी दलसँग सभामुख सापकोटाले कुरा गर्नुपर्ने बताए ।

सभामुख सापकोटाले संसद्को प्रमुख प्रतिपक्षी दल र ठूलो दल एमालेसँग संवाद नै नगरेको भट्टराईको भनाइ थियो । 'सभामुखज्यू मलाई अचम्म लाग्छ कि यत्रो प्रमुख प्रतिपक्षी दल जो संसद्को सबैभन्दा ठूलो दल पनि हो, यो संसदीय र लोकतान्त्रिक अभ्यासमा सबैभन्दा पोख्त पार्टी हो, त्यस्तो पार्टीसँग उहाँ संवादमा नै हुनुहुन्न ।'

सभामुखले प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गर्नुपर्ने भट्टराईको भनाइ थियो । 'हाम्रो दलको नेतासँग कुरा गर्नुपर्‍यो । हाम्रो दलका पदाधिकारीसँग उहाँले छलफल गर्नुपर्‍यो । के हो तपाईंहरूको भनाइ, मैले के गर्नुपर्ने हो ? सोध्नुपर्‍यो नि !'

सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक नबसालीकनै बैठकका एजेन्डा अगाडि सारिरहेको भन्दै भट्टराईले आपत्ति जनाए । 'बैठक बोलाउनुपर्‍यो । कार्यव्यवस्था समितिको बैठक छैन । सिधै लगेर एकैचोटी एजेन्डा हालेको छ । कार्यव्यवस्थामार्फत एजेन्डा जान्छ नि त । संसद्को नियमावली त्यो हो,' उनले भने ।

'त्यसकारण सभामुखको व्यवहार निष्पक्ष भएन । सभामुखजीले एमालेसँग संवाद गर्नैपर्छ । एमालेका टिप्पणी के हुन् उहाँले सुन्नैपर्छ । र त्यसको उचित हल दिने जिम्मा सभामुखको हो,' उनले भने ।

प्रमुख प्रतिपक्षी एमालेले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ । भदौ २३ गते र २५ गते बसेका दुवै सदनका बैठकमा एमालेका सांसदले अवरोध गरेका छन् । राष्ट्रिय सभामा मौन विरोध गरिरहेको एमालेले प्रतिनिधिसभामा भने वेल घेराउ गर्ने र रोस्ट्रममा जाने प्रयाससम्म गरिरहेको छ । जसका कारण प्रतिनिधिसभाको दैनिक कारबाही प्रभावित भइरहेको छ ।

वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएकामध्ये १४ सांसदलाई कारबाही गरेको तर उनीहरूलाई सभामुखले पदमुक्त गरेको सूचना जारी नगरेको भन्दै एमाले सभामुखविरुद्ध लागेको हो ।

एमालेले भदौ १ गते पदमुक्तका लागि सिफारिस गरेका सांसदहरू माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी हुन् । यी सांसदसहित मिलेर भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् ।

एमालेले भने यी सांसदहरू अवैधानिक भएको भन्दै संसद् अवरुद्ध गरिरहेको छ । उनीहरूलाई सहभागी गरेर संसद् सञ्चालन गर्न नपाइने भन्दै पदमुक्त गर्न उसले सभामुख सापकोटालाई दबाब दिइरहेको छ ।

प्रकाशित : भाद्र २६, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?